वृद्धाश्रममा सन्तान पर्खँदै यी आमाहरु

वृद्धाश्रममा सन्तान पर्खँदै यी आमाहरु

santanko-parkhaima-58fff2674dbf78.44524318

देवघाटधामः ७३ वर्षीया सूर्यकला घिमिरे देवघाटस्थित एनआरएनएद्वारा सञ्चालित वृद्धा श्रममा बस्न थालेको ६ वर्ष पूरा भएको छ । दुई छोरी र एक छोराकी आमा घिमिरे छोराले हेलाँ गरेका कारण वृद्धा श्रममा बस्नुभएको हो । एक वर्षदेखि भेट्नसम्म पनि छोरा नआएको भन्दै उहाँले आँखा रसिलो बनाउनुभयो । बुढेसकालमा छोराबुहारीसँग बस्ने र नातिनातिनासँग रमाउने इच्छा भए पनि उहाँको त्यो चाहना अपुरो भएको छ । आफ्नै छोराका कारण उहाँ पीडा सहेरै बस्नुभएको छ । छोरीहरू कहिलेकाहीँ आमा भेट्न आउने गरे पनि एक वर्षदेखि छोराको मुख देख्न नपाएको उहाँको गुनासो छ ।

देवघाटमा रहेको एनआरएनएको वृद्धा श्रममा पैसा तिर्नुपर्छ । तर घिमिरेका छोराले पैसा दिन पनि बन्द गरेका छन् । त्यसैले बत्ती कातेर आएको पैसा तिर्नुहुन्छ घिमिरे । ‘तैपनि छोरो आउँछ कि भन्ने आस लाग्छ’, उहाँले भन्नुभयो, ‘आफूले खाई-नखाई गरेर हुर्काएको सन्तानले यसो गर्ला भन्ने सोचेकी पनि थिइनँ ।’ त्यसमा पनि आमाको मुख हेर्ने दिन घिमिरेलाई सबैभन्दा बढी नमज्जा लाग्छ ।

घिमिरेजस्तै वृद्धा श्रममा बस्ने अन्य वृद्धवृद्धाको अवस्था पनि उस्तै छ । सबै सन्तानबाट टाढिनुको पीडा सहेर बसेका छन् । कतिपय सन्तानको पर्खाइमा दिन कटाएर बसेका छन् । बुढेसकालको सहारा मानिने सन्तानबाटै अपहेलित भएपछि वृद्धा श्रममा बस्नुपरेको भरतपुरकी ८१ वर्षीया गोमादेवी आचार्यले बताउनुभयो । उहाँका दुई छोरा छन । छोराबीच कुरा नमिलेपछि ८४ वर्षीया आचार्य श्रीमान्को साथमा वृद्धा श्रममा बस्नुभएको हो । श्रीमान् मुकुन्ददेव आचार्य बिरामी भएका कारण हिँडडुल गर्न सक्नुहुन्न । ‘सानोमा छोराछोरीलाई खुवाउँदा भोकै बसियो’, आचार्यले भन्नुभयो, ‘अहिले सम्झिँदा छाती चिरिन्छ ।’

सानो हुँदा मर्लान् कि भन्ने डर, ठूलो हुँदा मार्लान् कि भन्ने डर भयो । म छोराबाट ज्यान जोगाउन वृद्धा श्रममा बसेकी हुँ ।
लक्ष्मीमाया श्रेष्ठ, आश्रमकी वृद्धा

चितवन र तनहुँमा गरी देवघाटमा तीनवटा वृद्धा श्रम छन् । अधिकांश वृद्धवृद्धा सन्तानको हेलाँ गरेका कारण वृद्धा श्रम आएका हुन् । मातातीर्थ औंसीमै भए पनि सन्तान आउलान् कि भनेर बस्ने यहाँ धेरै छन् । ‘सानो हुँदा मर्लान् कि भन्ने डर, ठूलो हुँदा मार्लान् कि भन्ने डर भयो’, सिन्धुलीकी लक्ष्मीमाया श्रेष्ठले भन्नुभयो, ‘म छोराबाट ज्यान जोगाउन वृद्धा श्रममा बसेकी हुँ ।’

रक्सीको मातमा छोराले कुट्ने गरेको उहाँले गुनासो गर्नुभयो । ‘सन्तान नभएको भए बरु चित्त बुझाउन सजिलो हुन्थ्यो’, उहाँले भन्नुभयो । उहाँ देवघाट समाज कल्याण केन्द्रमा बस्दै आउनुभएको छ । अब घर नजाने उहाँको भनाइ छ ।

भरतपुरको मालपोतमा घर भएकी शिवकुमारी शर्मालाई पनि आफ्नै सन्तानप्रति वितृष्णा छ । छोराले घर बेचेपछि डेरामा बस्नुभएकी उहाँ ११ वर्षपछि आँखा कमजोर हुन थालेपछि छिमेकीको सहयोगमा बेसाहारा भएको नगरपालिकाको सिफारिस बनाएर देवघाटको वृद्धा श्रममा बस्नुभएको हो । ‘छोराछोरी पाल्न कुल्लीको काम पनि गरियो’, उहाँले भन्नुभयो, ‘तर अहिले केही न केही भयो ।’ वृद्धा श्रममा बस्नेहरू बरु एकअर्काको सहारा बनेका छन् । दिन कटाउनकै लागि भजनकीर्तन, धार्मिक कार्यक्रम र कथावाचनमा भुल्ने गरेका छन् ।

साभार : अन्नपुर्ण पोष्ट

प्रतिक्रिया