काँग्रेस र एमालेले उम्मेदवार टुंग्याए

काँग्रेस र एमालेले उम्मेदवार टुंग्याए

दैलेख, वैशाख १६ । नेपाली काँग्रेस दैलेखले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा आफ्ना उमेदवारहरुको टुङ्गो लगाएको छ । जिल्लाका ४ वटा नगरपालिका तथा ७ वटा गाउँपालिकाका उम्मेदवारहरुको टुङ्गो लागिसकेको नेपाली काँग्रेस दैलेखका सभापति कृष्ण वी.सी.ले जानकारी दिए ।
वी.सीका अनुसार नारायण नगरपालिको मेयरमा मणिराम रेग्मी र उपमेयरमा बासना थापा रहेकाछन् । यस्तै दुल्लु नगरपालिकाको मेयरको उम्मेदवारमा घनश्याम भण्डारी र उपमेयरमा कृष्णा शाही रहेका छन् । यस्तै, आठविस नगरपालिकामा प्रेम प्रकाश शाही मेयर र उपमेयरमा दीपा माझी चयन भएका छन् । चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरको उम्मेदवार गणेशकुमार शाही चयन भएका छन् भने उपमेयरको टुङ्गो लाग्न बाँकी रहेको छ । यस्तै, डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नगेन्द्रबहादुर मल्ल र उपाध्यक्षमा सीता ज्ञवालीले टिकट पाएका छन् ।
यता भगवतीमाई गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टिकट दशरथ खड्का र उपाध्यक्षको मीना थापाले पाएका छन् । नौमुले गाउँपालिकामा अध्यक्ष भविराम बुढामगर र उपाध्यक्षका उम्मेदवार अमृता सिंह बनेका छन् ।
महाबु गाउँपालिको अध्यक्षको उम्मेदवार कर्णबहादुर शाही र उपाध्यक्षमा मञ्जु पाण्डे रहेका छन् । भैरवी गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टिकट जनार्धन ज्ञवाली र उपाध्यक्षको उम्मेदवार बसन्ता थापाले पाएका छन् भने ठाँटिकाँध गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टिकट रक्षबहादुर शाहीले पाएका छन् । ठाँटिकाँधमा उपाध्यक्षको निर्णय हुँन बाँकी रहेको छ ।

यस्तै, गुँरास गाउँपालिकाको अध्यक्षको उम्मेदवार खेमराज वलीले पाएका छन् भने उपाध्यक्षको भने टुङगो लाग्न बाँकी छ । वली दैलेखका ११ स्थानीय तहका कांग्रेसका उम्मेदवारहरु मध्ये सबैभन्दा कान्छा उम्मेदवार समेत हुन् । सभापति विसिका अनुसार जिल्लाका सबै ९० वटै वडामा पनि उम्मेदवारको टुंगो लागिसकेको जानकारी दिए ।
उम्मेदवारको टुंगो लागेसँगै काँग्रेसले चुनाव प्रचारप्रसारलाई तिब्रता दिएको छ । जिल्लाका सबै इकाईमा सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाइएको बताउँदै सभापति विसिले काँग्रेस एकजुट भएर विजय अभियानमा लागेको बताए । उनले दैलेखमा नेपाली काँग्रेसको लहर आएको बताए । उम्मेदवार छनौटमा विवाद नदेखिएकाले पनि काँग्रेसको पक्षमा जनलहर आएको उनको तर्क छ । उनले अन्य पार्टी त्यागेर नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढेको समेत दावी गरे । नौमुले गाउँपालिकामा एमाले परित्याग गरेकी अमृता सिंहलाई पार्टीले उपाध्यक्षको उम्मेदवार बनाएको उदाहरण दिँदै अन्य क्षेत्रमा पनि काँग्रेसमा प्रवेश गर्नेको लहर बढेको बताए । उनले यो पटक काँग्रेसले दैलेखमा ठूलो विजय हात पार्ने दावी गरे ।
यता अर्काे ठूलो दल एमालेले पनि जिल्लाका धेरैजसो स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । एमालेका अनुसार नारायण नगरपालिकामा मेयर रत्नबहादुर खड्का, उपमेयर सावित्री मल्ल, चामुण्डा विन्द्रासैनी नगरपालिकामा मेयर सूर्यबहादुर शाही, उपमेयर तारा शाही, आठविस नगरपालिकामा मेयर खड्गराज उपाध्याय, उपमेयर गौमता विक, महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, नौमुले गाउँपालिकामा अध्यक्ष लिलबहादुर राम्जाली, ृउपाध्यक्ष झरना चन्द, भगवतीमाई गाउँपालिकामा अध्यक्ष दानबहादुर थापा, उपाध्यक्ष चन्द्रा रेग्मी, गुराँस गाउँपालिकामा अध्यक्ष प्रेम खड्का, उपाध्यक्ष प्रभा गुरुंग, भैरवी गाउँपालिकामा अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्ययक्ष नन्दा विक र ठाटिकाँध गाउँपालिकामा अध्यक्ष धिरबहादुर शाही, उपाध्यक्षमा सुस्मिता शाही उम्मेदवार भएका छन् ।
दुल्लु नगरपालिकामा भने एमालेले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । दुल्लुका उम्मेदवार बारे एमालेले स्थाई कमिटिबाट निर्णय गर्ने जनाएको छ । जिल्लाबाट रुद्र शाही र बरुनाथ योगीको नाम मेयरका लागि सिफारिस भएको छ । प्रदेश कमिटिलेसमेत टुंगो लगाउन नसकेपछि स्थायी कमिटिबाट उम्मेदवार टुंगो लगाउन लागिएको हो ।
अन्य दलहरुले भने जिल्लामा उम्मेदवार बारे चर्चा भएको छैन । नारायण नगरपालिकामा माओवादी केन्द्रबाट दानबहादुर महतरा मेयरको उम्मेदवार हुने बताइएको छ । यस्तै जनमोर्चाबाट सुरत रावत मेयरको उम्मेदवार बनेका छनु भने राप्रपाबाट गंगबहादुर बस्नेत उम्मेदवार हुने जनाइएको छ ।

प्रतिक्रिया