निर्वाचनका कार्यक्रम फेरवदल नहुने, मंगलबार २८३ तहका लागि मनोनयन दर्ता

निर्वाचनका कार्यक्रम फेरवदल नहुने, मंगलबार २८३ तहका लागि मनोनयन दर्ता

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यक्रममा कुनै फेरबदल नहुने जानकारी गराउँदै मंगलबार हुने मनोनयनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।

“संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ ले व्यवस्था गरेबमोजिम ७४४ वटा स्थानीय तहमध्ये यही वैशाख ३१ गते आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहका लागि निर्वाचन हुन लागेको छ,” प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले भने, “संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने क्रममा यो ऐतिहासिक निर्वाचन हुन लागेको हो । वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि बैशाख १९ गते मङ्गलबार उमेदवारको मनोनयन गर्र्ने पवित्र दिन हो । उमेदवारी मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी समस्त मतदाताज्यूहरुमा  तथा आम जनता, राजनीतिक दल र सरोकारवालाहरूलाई अवगत गराउन चाहन्छु । आयोगले निर्वाचनका लागि खटाएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू महिला, दलित, अल्पसङ्ख्यकलगायत सबै उम्मेदवारको मनोनयन दर्ताका लागि तपाई उम्मेदवारहरुलाई पर्खिरहनु भएको छ ।”

निर्वाचन आयोगले यस निर्वाचनले जनताका आम सरोकारका विषय स्थानीय तहमै सम्बोधन गर्ने पनि जानकारी गराएको छ ।  “यस निर्वाचनले जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण गर्ने छ । जसले जनताको आम सरोकारलाई स्थानीय तहमै सम्बोधन गर्ने छ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग  गर्ने विश्वास आयोगले लिएको छ । तसर्थ यस निर्वाचनलाई पर्वका रूमा लिएर बडो उत्साहका साथ उम्मेदवारी दर्ता गर्न र गराउनु हुन निर्वाचन आयोग सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसँग हार्दिक अनुरोध गर्दछ । स्थानीय तहको जग बसाउन आफ्ना मात्र नभई सक्षम, योग्य र गुणस्तरीय उम्मेदवारलाई प्रोत्साहित गर्नु नै हुनेछ । आयोगका लागि सबै मतदाता र उम्मेदवार समान हुनुहुन्छ । नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन २०७३ ले व्यवस्था गरेअनुसार महिला, दलित, अल्पसङ्ख्यकका लागि यो इतिहासकै ठूलो अवसर हो, राष्ट्रले तपाईको नेतृत्व विकासको अपेक्षा गरेको छ, तसर्थ तपाईहरू अगाडि बढ्नुहोस् र स्थानीय सरकारमा निर्वाचित भएर आफ्नो गाउँ नगरको विकासको अभियानमा सरिक हुनुहोस् । संघीय संरचनाअनुसार स्थानीय तहको निर्वाचन भई अब बन्ने स्थानीय सरकार तपाईको घर छेउको सरकार हुने छ । भावी नेतृत्व सम्हाल्न सक्ने उम्मेदवार तल्लो तहबाटै विकसित हुने यो सुुवर्ण अवसर हो ।”

यसरी बन्ने सरकारमा महिला, दलित, अल्पसङ्ख्यकसहितको समावेशी प्रतिनिधित्व रहने आयोगले जनाएको छ । “संवैधानिकरूपमा नै स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ । नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई राजनीतिक दलहरूले उत्साहपूर्वक लिनुभएको छ । वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । महिला, दलित, अल्पङ्ख्यकलगायतले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ । उमेदवारी दर्ताका लागि बैशाख १९ गते मङ्गलबार बिहान १० देखि ५ बजेसम्मको समय तय गरिएको छ ।”

उमदेवारी दर्तापछि आचारसंहिता 
निर्वाचन आयोगले उमेदवारी दर्तापछि उमेदवारका लागि स्वतः आचारसंहिता लागु हुने जनाएको छ । “राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि  उम्मेदवारका लागि समेत स्वतः निर्वाचन आचारसंहिता लागु हुनेछ । उमेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्दा अत्यन्त मर्यादित भएर गर्नु हुनेछ । घर छेउकै छिमेकी र तपाई फरक दलबाट उम्मेदवार बन्न सक्नुहुन्छ, त्यस्तो बेला तपाईहरुले सामाजिक मान, मर्यादालाई पक्कै पनि बिर्सनु हुनेछैन । प्रचार–प्रसारको क्रममा विशेष गरी महिला, दलित र अल्पसङ्ख्यकको मान मर्यादाप्रति अलिकति पनि आँच पुग्ने कार्य आयोगलाई सह्य हुने छैन । राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारबाट आचारसंहिताको पूर्ण पालना हुने छ भन्ने आयोगले विश्वास लिएको छ,” यादवले भनेका छन् ।

निर्वाचनमा खटिएका कर्मचारीहरूले पनि उच्च मनोबलका साथ तोकिएको जिम्मेवारीलाई कसैले प्रश्न उठाउन नसक्ने गरी पूरा गर्न उनले निर्देशन दिएका छन् ।

“निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पु¥याइसकिएको छ,” उनले भनेका छन्, “मङ्गलबार हुने मनोनयनले निर्वाचनका बारेमा उठेका शङ्का उपशङ्का, द्विविधा र हल्लाहरु आफैं हटेर जाने छन् । आयोगका पूर्व निर्धारित निर्वाचनका कार्यक्रममा कुनै फेरबदल नहुने भएकाले सबै  मतदाता र राजनीतिक दलहरुलाई बैशाख १९ गते मङ्गलबार तय भएको उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन म आयोगको तर्फबाट  हार्दिक आह्वान गर्दछु ।”

प्रतिक्रिया