उम्मेदवारहरु घरदैलोमा

उम्मेदवारहरु घरदैलोमा

दैलेख, वैशाख २२ ।  विभिन्न दलका उम्मेदवारहरु मत माग्दै जनताको घरदैलोमा व्यस्त भएका छन् । जिल्लाको सबैभन्दा पुरानो तथा सदरमुकाम रहेको नारायण नगरपालिकामा विभिन्न दलका ९ जना नगरप्रमुखको उम्मेदवार बनेका छन् । उनीहरु चुनावीसभा नगरेर घरदैलो अभियानमा छन् । यो पटक नारायण नगरपालिकामा सबै दलको चुनावी रणनीतिमा एकरुपता देखिएको छ ।
चुनावी कार्यक्रम नगरेर उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका छन् । नेपाली काँग्रेसले जनताको घरदैलो गरेर २६ गजे जिल्लामा आमसभा गर्ने भएको छ । पार्टी केन्द्रीय सदस्य युवा नेता विश्वप्रकाश शर्मालाई पार्टीले दैलेखमा खटाएसँगै दैलेखमा काँग्रेसको चहलपहल थप बढेको छ । युवा नेता शर्मा अन्य दलका नेताहरुले पनि प्रशंसा गर्ने काँग्रेस नेता मध्येका एक हुन् ।
काँग्रेका प्रमुखका उम्मेदवार मणिराम रेग्मी र उपप्रमुखका उम्मेदवार वासना थापा सयुक्त रुपमा चुनावी प्रचारमा छन् । उनीहरु वडा नम्बर १, २, ८ र ९ नम्बर वडामा घुमिसकेका छन् भने अन्य वडामा पनि घुम्ने तयारी गरेका छन् । उता प्रत्येक वडाका वडा अध्यक्षसहितका उम्मेदवारहरु सँयुक्तरुपमा आफ्नो वडामा खटिएका छन् । उता एमालेका उम्मेदवारहरु पनि काँग्रेसले जस्तै घरदैलो अभियानमा छन् । उनीहरु पनि नगरपालिकाका विभिन्न वडामा घरदैलोमा व्यस्त रहेको एमालेले जनाएको छ । काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको यो नगरपालिकामा राप्रपा पनि बलियो रुपमा प्रस्तुत भएको छ । उनीहरुले अन्य दल जस्तै चुनावी अभियानमा जुटेका छन् । माओवादी केन्द्र, मजदुर किसान पार्टी र राजमोका उम्मेदवारहरुपनि घरदैलोमा व्यस्त छन् ।

 

प्रतिक्रिया