विष्ट र महतरा निर्वाचित होलान ?

विष्ट र महतरा निर्वाचित होलान ?

काँग्रेस र एमालेबीच तालमेल

दैलेख, वैशाख २३ । दैलेखका ११ वटा इकाईका ९० वटा वडामा कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित भएनन् । सबै वडामा प्रतिस्पर्धा हुने निश्चित छ । तर, भैरवी गाउँपालिकाको वडा नम्बर १ मा भने चुनावी नतिजा अहिले नै अनुमान गर्न सकिने अवस्था बनेको छ । कारण हो काँग्रेस र एमालेबीच तालमेल हुनु । यस वडाबाट निर्वाचित हुनुपर्ने दुई जना गाउँसभा सदस्यका लागि एक काँग्रेसले र अर्काे एमालेले पाउने गरी तालमेल भएको छ ।
काँग्रेसका प्रेमबहादुर विस्ट र एमालेका सर्वराज महतरा र माओवादी केन्द्रका नेमबहादुर विस्टकोमात्र यहाँ उम्मेदवारी कायम भएको छ । काँग्रेस र एमालेका उम्मेदवार विस्ट र महतरालाई निर्विरोध बनाउन भन्दै दुबै पार्टीका अन्य दुईजना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । विस्ट र महतराले आपसी समझदारीमा आ आफ्ना पार्टीका अन्य उम्मेदवारको उम्मेदवारी फिर्ता गराएको स्रोतले जनाएको छ ।

यहाँ २ सिटका लागि ३ जनाको उम्मेदवारी छ । माओवादीका नेमबहादुर विस्टका कारण यहाँ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको हो । यहाँ माओवादीको पकड कमजोर मानिएकाले काँग्रेसका विस्ट र एमालेका महतराले जित्ने अनुमान गरिएको छ । तर, विस्ट वा महतरा प्रति नकरात्मक हुने मतदाता बढि भएमा माओवादीका विस्टले जित्ने अवस्था पनि आउन सक्छ । यस्तो भयो भने काँग्रेसका विस्ट वा एमालेका महतरा मध्ये एकले पराजय बेहोर्नु पर्ने हुन्छ । यदी त्यस्तो भयो भने काँग्रेस र एमालेबीचको तालमेलमा माओवादी केन्द्रले वाजी मार्नेछ ।

प्रतिक्रिया