नौमुलेमा काँग्रेस अघि अघि एमाले पछि पछि

नौमुलेमा काँग्रेस अघि अघि एमाले पछि पछि

दैलेख, वैशाख २४ । मतदानको मिति नजिकिएसँगै चुनावी नतिजा कस्तो आउला भन्ने चर्चा हालका दिनमा चिया पसलदेखि पाटी, चौतारोमा हुने गरेको छ । कार्यालयदेखि व्यापारिक संस्थामा पनि चुनावी चर्चा सुनिन्छ । दैलेखका विभिन्न ११ वटा इकाई मध्ये नौमुले गाउँपालिका माओवादी द्धन्द्धको चपेटामा परेको इकाई हो । त्यसैले पनि यहाँको चुनावी नतिजा कस्तो आउँछ भन्ने सबैतिर चासोको विषय बनेको छ । दैलेखका अन्य १० वटा इकाईमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि यस गाउँपालिकालाई माओवादी केन्द्रले आफ्नो आधार इलाका मानेकाले पनि यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।Naumule_Gaunpalika1
२० हजार ८ सय २ मतदाता संख्या भएको यो गाउँपालिका साविकका नौमुले, वालुवाटार, द्धारी, सल्लेरी, कालिका, तोली र चौराठा गाविस मिलेर बनेको हो । ८ वटा वडा रहेको यहाँ प्रमुख तीन दलले चुनावी नतिजा आफ्नो पक्षमा हुने दावी गरेका छन् । यहाँ राप्रपाको पनि राम्रै उपस्थिति भएकाले यहाँ राप्रपाले लिने मतले कसलाई नाफा वा नोक्सान हुन्छ यसै भन्न सकिने अवस्था छैन । यहाँ ४ वटा पार्टीले उम्मेदवारी दिएका छन् । काँग्रेसबाट अध्यक्षमा भदे बुढामगर र उपाध्यक्षमा अमृता सिंह, एमालेबाट अध्यक्षमा लिलबहादुर राम्जाली र उपाध्यक्षमा झरना चन्द, माओवादी केन्द्रबाट अध्यक्षमा छवि सुवेदी र उपाध्यक्षमा चन्द्राकुमारी थापा र राप्रपाबाट अध्यक्षमा रणबहादुर सिंह उम्मेदवार बनेका छन् ।
२०५४ सालको निर्वाचानमा यहाँका धेरैजसो गाविस एमालेको पोल्टामा परेका थिए भने ०६४ को संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट काँग्रेसले बढि मत प्राप्त गरेको थियो । यस्तै ७० को संविधानसभा निर्वाचनमा काँग्रेस, एमाले र माओवादी केन्द्रले लगभग समान मत पाएको बताइन्छ । त्यसैले पनि यहाँको नतिजा कुन पक्षमा जान्छ अनुमान गर्न कठिन छ । जिल्लाकका अन्य इकाईमा माओवादी केन्द्रको अवस्था कमजोर देखिन्छ भने यहाँ केही सुदृढ देखिन्छ । त्यसैले उ पनि यहाँ प्रतिस्पर्धामा रहेको बताइन्छ । उसो त एमालेबाट भर्खरै काँग्रेसमा प्रवेश गरेकी अमृता सिंहलाई उपाध्यक्षको उम्मेदवार बनाएपछि यहाँ नतिजा आफ्नो पक्षमा पर्ने काँग्रेसको दावी छ । एमालेले भने अमृता काँग्रेसमा प्रवेश गर्दैमा केही फरक नपर्ने भन्दै नतिजा आफ्नो पक्षमा आउने दावी गरेको छ । एमालेले युवा नेतृ झरना चन्दलाई उपाध्यक्षको उम्मेदवार बनाएकाले युवाको आकर्षण बढेको एमालेले जनाएको छ ।
जनजाती बाहुल यो गाउँपालिकामा काँग्रेस र एमालेले जनजातीलाई नै अध्यक्षको उम्मेदवार बनाएर जनजातिलाई आफूतिर तान्ने प्रयास गरेका छन् भने माओवादी केन्द्रले छवि सुवेदी जस्ता जिल्लाका माओवादी वरिष्ठ नेतालाई उम्मेदवार बनाएको छ । यस गाउँपालिकामा करिब १६ हजार मत खस्ने अनुमान गरिएको छ । त्रिपपक्षीय प्रतिस्पर्धा भएकाले यहाँ करिब ३ हजार ५ सय मत पाउने उम्मेदवार विजयी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया