भैरवीमा कस्ले मार्ला बाजी ? यस्तो छ चुनावी गणित

भैरवीमा कस्ले मार्ला बाजी ? यस्तो छ चुनावी गणित

दैलेख, वैशाख २५ । जिल्लाका ७ वटा गाउँपालिका मध्ये थौरै मतदाता भएको गाउँपालिका हो भैरवी । यहाँको मतदाता संख्या ९ हजार ७ सय ४८ छ । थौरै मतदाता भए पनि जिल्लाको राजनीतिमा राम्रै प्रभाव पार्ने भएकाले यहाँको चुनावी चर्चा अन्य गाउँपालिकोभन्दा धेरै छ ।Bhairabi_Gaunpalika1

४ वटा दलले उम्मेदवारी दिएको यो गाउँपालिकामा काँग्रेसबाट जनार्दन ज्ञावली, एमालेबाट प्रेमबहादुर बुढा, माओवादी केन्द्रबाट मणिराम विष्ट र नेमकिपाबाट तिलक आचार्यले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उम्मेदवारीपछि सबै दल घरदैलोमा पुगेर मतदाताको मन जित्ने प्रयास गरिरेका छन् । यस गाउँपालिकामा साविकको रावतकोट, भैरीकालिका थुम, कुसापानी र दुल्लु नगरपालिकाको वडा नम्बर १० गाभिएका छन् । यो गाउँपालिका दैलेखका अन्य इकाईभन्दा भुगोलका हिसाबले मिलेको गाउँपालिका हो ।

०५४ को स्थानीय निर्वाचनलाई आधार मान्ने हो भने यो गाउँपालिकामा काँग्रेस बलियो देखिन्छ । तर, यो विस वर्षको अवधिमा नयाँ दलको रुपमा माओवादी केन्द्रको उपस्थिति भएकाले ०५४ निर्वाचनलाई आधार मानेर चुनावी नतिजा अनुमान गर्न सकिने अवस्था छैन । साविकको रावतकोट, दुल्लु १० र भैरीकालिका थुममा काँग्रेस बलियो छ भने कुसापानीमा एमाले बलियो देखिन्छ । तर, जिल्लाका अन्य इकाईमा जस्तै यहाँ पनि माओवादी केन्द्रले पाउने मतले अपेक्षा गरिएअनुसारको नतिजामा फरक पार्ने अवस्था छ । करिब ७ हजार मतदान हुने अनुमान गरिएको यो गाउँपालिकामा नेमकिपा र माओवादी केन्द्रले करिब २ हजार मत लिने अनुमान छ । यस्तो अवस्थामा चुनाव जित्न करिब ३ हजार मत लिनुपर्ने हुन्छ । एमालेका प्रेमबहादुर बुढाले आफ्नो भेगबाट राम्रो मत पाउने अनुमान गरिएको छ भने काँग्रेसका जनार्दन ज्ञावलीले आफ्नो भेगबाट राम्रो मत पाउने अनुमान छ । यस्तो अवस्थामा रावतकोटका वासिन्दा माओवादी केन्द्रका विष्टले लिने मतले काँग्रेस र एमालेको चुनावी नतिजामा फरक पार्ने देखिएको छ । यो गाउँपालिकामा काँग्रेस र एमालेबीच कडा टक्कर हुने अनुमान विश्लेषकहरुको छ ।

प्रतिक्रिया