समाचार लेखेकै भरमा पत्रकारलाई ज्यान मार्ने धम्की

समाचार लेखेकै भरमा पत्रकारलाई ज्यान मार्ने धम्की

jwala-logo

समाचार लेखेकै भरमा पत्रकारलाई ज्यान मार्ने धम्की,सुरक्षाको माग गर्दै पौडेलद्वारा जाहेरी दर्ता पोखरा, १० जेठ । समाचार लेखेकै भरमा पत्रकारलाई ज्यान मार्नेसम्मको धम्की दिएको विरोध गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले प्रहरीसमक्ष जाहेरी दर्ता गराएकी छिन् । महासंघअन्तर्गत सामाजिक न्याय तथा कानूनी सहायता समितिका संयोजकसमेत रहेकी उनले सामाजिक संजालमा ‘कार्की कार्की’ नाम गरेका युवकविरुद्ध सम्पूर्ण पत्रकारको सुरक्षा माग गर्दै साइवर क्राइम मुद्दा बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गराएकी हुन् । फेसबुकमा ‘कार्की कार्की’ नाम गरेका ती युवकले स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकाको निर्वाचन परिणाम र पत्रकारको समाचार अपडेट विषयबस्तु जोडेर पोखरेली पत्रकार महिला र कर्मचारीलाई समेत धम्कीपूर्ण शव्द प्रयोग गरेका छन् । पोखरेली पत्रकार महिलालाई उमा सिंहजस्तै बनाउने उनको धम्की छ । अधिवक्तासमेत रहेकी पत्रकार पौडेलले पत्रकारको हकहितमा सदैव काम गर्ने र जस्तोसुकै चुनौतीसमेत अग्रपंक्तिमा रहेर प्रतिकार गर्ने प्रतिवद्धता जाहेर गर्दै सम्पूर्ण पत्रकार महिलालाई सत्यतथ्य समाचार संप्रेषणमा निडरताका लाग्न अनुरोधसमेत गरिन् । उनले पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताको समेत ख्याल राख्न सुझाव दिँदै आगामी दिनमा यस्तो घटना नदोहोयोस् भन्ने हेतुले सरकारसमक्ष पत्रकारको सुरक्षा दिन माग गरेको बताएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख घनश्याम अर्यालले गल्ती गर्नेलाई कुनै हालतमा नछोड्ने प्रतिवद्धता व्यक्त गर्दै तत्काल अनुसन्धान थालिने बताए । प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले शान्तिसुरक्षाका लागि प्रतिवद्ध भएको बताउँदै आजैदेखि कार्कीको खोजी गरिने बताए । पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले कुनै पनि पत्रकारलाई समाचार लेखेकै भरमा ज्यान मार्ने धम्कीविरुद्ध महासंघले कडा प्रतिरोध गर्ने बताउँदै सरकारसमक्ष पत्रकारको सुरक्षाको माग गरे । प्रेस काउन्सिलका उपाध्यक्ष किशोर श्रेष्ठले फेसबुकमार्फत आफ्नो अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने नाममा अरुको नैसर्गिक अधिकारमाथि धावा बोल्न नहुने उल्लेख गर्दै यस्तो धम्की दिनेविरुद्ध साइबर क्राइमको दफा ४० अनुसार पाँच वर्ष कैद र एक लाखसम्मको जरिवाना हुन सक्ने हुँदा संयमित हुन आग्रह गरे।

प्रतिक्रिया