अन्यौलमा वडा अध्यक्षहरु

अन्यौलमा वडा अध्यक्षहरु

दैलेख, जेठ १३ । दैलेखका ११ वटै स्थानीय तहमा निर्वाचन सम्पन्न भइसेको छ । ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको दैलेखमा ९० वटा वडा रहेका छन् । प्रायः वडामा सरकारी भवन तथा कर्मचारी नहुँदा वडा अध्यक्षहरु वडा कार्यालयमा बस्न पाएका छैनन् ।
साविकाका नारायण नगरपालिका र दुल्लु नगरपालिकाका वडामा वडा कार्यालय छैनन् भने साविकका विभाजित गाविसमा पनि वडा कार्यालय छैनन् । साविकका गाविस कार्यालयलाई नै वडा कार्यालयका रुपमा सञ्चालन गर्न सकिने केही वडामा पनि कर्मचारी नहुँदा वडा अध्यक्षहरुले काम सुरु गरेका छैनन् । वडा अध्यक्षहरुले नागरिकताका लागि वडाबाट सिफारिस गर्नुपर्ने भए पनि हालसम्म वडा सचिबले नै यस्तो सिफारिस गर्दै आएको जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ । नपा तथा गापालाई स्थानीय सरकारकै अधिकार दिइए पनि स्थानीय विकास मन्त्रालय अस्तित्वमै रहेकाले स्थानीय तह कसरी सञ्चालन गर्ने भन्ने अन्यौल रहेको छ । उता स्थानीय विकास मन्त्रालयबाट पनि स्पस्ट परिपत्र नआएको जिल्ला समन्वय समिति श्रोतले जनाएको छ ।
त्यसो त नगरपालिका तथा गाउँपालिका प्रमुखहरुले शपथ ग्रहणपछि कार्यभार सम्हाले पनि उनीहरु नपा तगा गापामा बस्ने गरेका छैनन् । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा नयाँ निर्वाचित जनप्रतिनिधिहरुले कुनै फेरबदल गर्न सक्ने अवस्था नभएकाले पनि उनीहरु कार्यालयमा बस्नुभन्दा मतदातालाई धन्यावाद दिन तथा भोजभतेरमै व्यस्थ बनेका हुन् ।
दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी भने तत्काल वडा अध्यक्षहरुलाई वडाबाटै जनताको सेवामा लगाउने गरी व्यवस्था गरिने बताए । उनले केही दिन भित्रै कर्मचारीको व्यवस्था गरेर सबै वडामा वडा अध्यक्ष बस्ने गरी काम गरिरहेको जानकारी दिए ।
यता नारायण नगरपालिकामा भने मेयर र उपमेयरका लागि कार्यालय व्यवस्थापनमै कर्मचारीलाई हैरानी भएको छ । शुक्रबार कार्यालयमा भेटिएका कार्यकारी अधिकृत भक्त मल्ल निकै तनावमा देखिन्थे भने सहयोगी कर्मचारी दराज र सोफा मिलाउँदै थिए । कार्यालयमा मेयर भने भेटिएनन् । कार्यकारी अधिकृत मल्लले आगामी आर्थिक वर्षबाट मात्र वडा अध्यक्षहरुले वडाबाट सेवा गर्ने बताए । उनले चालु आर्थिक वर्षमा बजेट र कर्मचारी अपुग भएकाले वडा अध्यक्षहरु वडाबाटै सेवा दिने अवस्थामा नरहेको बताए । नारायण नगरपालिकाका वडा सचिबहरुले नगरपालिकाबाटै वडाको काम गर्दै आएका छन् ।

प्रतिक्रिया