चुनाव सात दिन सार्ने निर्णय

चुनाव सात दिन सार्ने निर्णय

रधानमन्त्री निवास बालुवाटारमा आइतबार रातीसम्म बसेको तीन प्रमुख दल र राष्ट्रिय जनता पार्टीबीच सम्पन्न वैठकले दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको मिति सात दिन सार्ने निर्णय गरेको छ।

जेठ ३१ गते हुने भनिएको निर्वाचन असार ७ गते हुने गरि सारिने निर्णय भएको हो। राजपालाई पनि चुनावमा सहभागी गराउन ढिलोमा असार सात गतेसम्म चुनाव सार्ने निर्णय गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाइ बताए।

‘राजपा नेपालले पनि चुनावमा पनि भाग लिने परिस्थिति निर्माणका लागि चुनाव असार सात गतेसम्म सार्ने निर्णयमा हामी पुगेका हौँ,’ उनले भने।

वैठकमा उपस्थित राजपाका  नेताहरुले चुनावमा भाग लिने ग्यारेण्टी नगरे पनि उनीहरु आउँछन् भन्ने विश्वासमा मिति सारिएको श्रेष्ठले बताए।

चुनावको मिति सारिनेबारे भोलि नै निर्वाचन आयोगलाई जानकारी गराइने छ।

सरकारले भोलि नै निर्वाचन ऐन संसोधन विधेयक पनि संसदमा दर्ता गराउने छ।

अहिलेको निर्वाचन ऐनमा पार्टीहरुले उमेद्वारी दर्ता गर्नुपर्ने मितिभन्दा १५ दिन अगाडी आयोगमा पार्टीको उमेद्वार प्रमाणीकरण गर्ने हस्ताक्षर पठाइसक्नु पर्ने व्यवस्था छ।

ऐनमा रहेको यो  १५ दिने प्रावधानलाई छोट्याएर पाँचदिन बनाइने छ। ताकी राष्ट्रिय जनतापार्टी नेपालले पनि आफ्ना उमेद्वारको प्रमाणीकरण गर्ने नेताको हस्ताक्षर आयोगमा पठाउन सकोस्।

राजपा नेपालका नेताहरुले अन्तिम समयसम्म आफुहरु चुनावमा भाग लिनका लागि तयार रहेको तर संविधान संसोधन हुनुपर्ने र मधेसमा स्थानीयतहको संख्या बढाइनुपर्ने जिकिर गरेका थिए।

सत्तारुढ कांग्रेस-माओवादी तथा प्रतिपक्षी एमालेले अहिले अदालतको अन्तिरम आदेश आइसकेको सन्दर्भमा मधेसमा स्थानीय तहको संख्या थप्न सकिने अवस्था नरहेको बताएका थिए।

कांग्रेस र माओवादी केन्द्रले चुनाव सम्पन्न भएपछी एमालेलाई पनि विश्वासमा लिएर संसदमा पेश भएको संसोधनको प्रस्ताव अगाडि बढाउन आफुहरु प्रतिवद्ध रहेको जनाएका थिए। सेताे पाटीमा समचारछ ।

प्रतिक्रिया