सबैको तत्परताले शिक्षण सिकाई प्रभावकारी ः जिशिअ

सबैको तत्परताले शिक्षण सिकाई प्रभावकारी ः जिशिअ

दैलेख, जेठ २३ – दैलेखका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षको तत्परताले मात्र शिक्षण सिकाई प्रभावकारी हुने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सरस्वती मावि तर्ताङ्गमा आज आयोजित विद्यार्थी र विद्यालय सवाल अन्तरक्रियामा उनले भने ‘शिक्षकले सिकाउने, विद्यार्थीले पढ्ने र अभिभावकले उचित वातावरण बनाए मात्र सिकाई प्रभावकारी हुन्छ ।’News 2074.02 (2) News 2074.02 (1)
अधिकारीले शैक्षिक गुणस्तर सुधार्न बाल मनोविज्ञान बुझेर सक्दो धेरै नयाँ प्रविधि र सीप प्रयोग गरे अध्यापन कार्य रुचीकर बन्ने भएकोले विद्यार्थीमा लगनशीलता तथा सिक्न उत्सुकता पैदा गराउने आफ्नै शिक्षण अनुभव सुनाए ।
त्यस बखत इन्सेकको इएलपी परियोजनाका जिल्ला सहजकर्ता अमर सुनारले विद्यालयमा शिक्षण सिकाईलाई सघाउन सरस्वती मावि लगायतका ४ विद्यालयमा बालअधिकार चेतना समूह मार्फत सञ्चालन गरिएका अतिरिक्त क्रियाकलाप र यसले पारेका प्रभावका बारे चर्चा गरे ।
विद्यालय व्यवस्थापन समितिका सदस्य तारा सुनारको अध्यक्षतामा भएको विद्यार्थी र विद्यालय सवाल अन्तरक्रियामा विद्यालयका प्रधानाध्यापक जीवराज तिमिल्सेना, शिक्षक, अभिभावक र विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले विद्यालयले गरेका राम्रा प्रयोग र समस्याहरु दर्शाए ।
त्यहाँ खेलकूद सामग्रीको अभाव, खानेपानीको असुविधा, कम्पूटर प्रयोगशाखा व्यवस्थित नभएकोदेखि विद्यालय समयमा महिनावारी हुँदा छात्राहरुलाई सेनेटरी प्याडको आवश्यकता समेत जनाएका थिए । ती समस्याका विषयमा जिल्ला शिक्षा अधिकारी र विद्यालयका प्रधानाध्यापकले आफ्नो स्थानबाट गर्न सकिने कार्य आफ्नै श्रोत प्रयोग गर्ने र नसकिएकोमा वाह्य श्रोत खोजेर समाधान गर्ने प्रतिवद्धता जनाए ।
यसैवीच सरस्वती मावि तर्ताङ्गमा गठित बालअधिकार चेतना समूहले आजै आयोजनामा गरेको म्यूजिकल चियर प्रतियोगितामा प्रथम सुजाता सोनी, द्धितीय गणेश रावल र तृतीय हुने सुमित्रा सुनारलाई एक औचापरिक कार्यक्रममा पुरस्कार दिइएको इन्सेकको इएलपी परियोजनाका जिल्ला सहजकर्ता अमर सुनारले जानकारी दिए ।

प्रतिक्रिया