सुशासनले जनबिश्वास बढाउँछ ः अध्यक्ष मल्ल

सुशासनले जनबिश्वास बढाउँछ ः अध्यक्ष मल्ल

दैलेख, जेठ २४ – डुङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नगेन्द्रबहादुर मल्लले सार्वजनिक सेवालाई पारदर्शी र जवाफदेही बनाउन सके मानवअधिकार बहालीको प्रारम्भ मान्न सकिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी परियोजना अनुृभव आदानप्रदान कार्यक्रममा आज उनले भने ‘सुशासन, पारदर्शिता र जवाफदेहिताले जनबिश्वास बढाउन मद्दत गर्दछ ।’DPAC INSEK (2) DPAC INSEK (1)
त्यसबखत अध्यक्ष मल्लले इन्सेक लगायत नागरिक समाज संस्थाले सामाजिक जनचेतना अभिबृद्धि गर्ने र सरकारका निकायलाई उत्तरदायी बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै डुङ्गेश्वर गाउँपालिका त्यस्ता रचनात्मक काममा सहकार्यता गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी डिलाराम पन्थीले इन्सेकको मानवअधिकार निगरानी समूह, बालअधिकार चेतना समूह र युवा समूहले ग्रामीण क्षेत्रमा चेतनास्तर उठाउन गरिएका क्रियाकलापलाई अझैं परिणाममुखी बनाउन सुझाव दिए ।
मानवअधिकार निगरानी समूहका संयोजक ज्योती कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. शोभित थापा, जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत राजु भूज, महिला विकास निरीक्षक सरला रेग्मी लगायतले इएलपी कार्यक्रमका क्रियाकलाप र सामाजिक न्यायमा पारेका प्रभाव बारे बोलेका थिए ।
समूह समुदायका प्रतिनिधिहरुले समुदायका आफूहरले गरेका कार्यको अनुभूती सुनाउँदै सरकारी निकायसंगको सहकार्य तथा समन्वय बारे जिज्ञासा, सुझाव र टिप्पणी गरेका थिए ।
त्यस अवसरमा गत महिना सम्पन्न स्थानीय तहको निर्वाचनमा डुङ्गेश्वर गाउँपालिकाको सदस्य पदमा निर्वाचित हुनुभएकोमा मानवअधिकार निगरानी समूहका सदस्यहरु कमला केसी, प्रमिला सुनार र कृष्णा नेपालीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
अनुभव आदानप्रदान कार्यक्रममा इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता अमर सुनारले गत असोजमा घरधुरी सर्वेक्षणको कार्यदेखि गएको मंसिरदेखि जेठ महिनासम्म २ लाख ७१ हजार ९ सय ३८ रुपैंया खर्चको विवरण तथा क्रियाकलाप प्रस्तूत गरे ।
असार महिनामा कार्यक्षेत्रका ५ विद्यालयलाई ३० हजारका दरले डेढ लाख भौतिक सामग्री निर्माणमा सहयोग गर्ने र चालू आर्थिक वर्षको अन्तिम असार महिनामा इन्सेक र समुदायका क्रियाकलाप समेत सम्पन्न गर्न ७९ हजार रुपैंयाँ खर्च हुने कार्ययोजना रहेको जिल्ला सहजकर्ता सुनारले जानकारी दिए ।
इन्सेकको इएलपी परियोजना लागू भएका डुङ्गेश्वर गाउँपालिका १ नं. वडा बेलपाटा र २ नं. वडा लाँकुरीमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवाग्राहीलाई सचेतना अभिबृद्धि र सेवा प्रदायक निकायको नीति तथा कार्यक्रम कार्यान्वयनमा सहजीकरण गरिरहेको छ ।

प्रतिक्रिया