रुघाखोकी लाग्यो ? जँचाइहाल्नुस्, स्वाइन फ्लू पनि हुनसक्छ !

रुघाखोकी लाग्यो ? जँचाइहाल्नुस्, स्वाइन फ्लू पनि हुनसक्छ !

के तपाईंलाई सामान्य भन्दा बढी नै ज्वरो आएको छ ? वा तीन दिनसम्म पनि ज्वरो घटेन र रुघाखोकी समेत लागिरहेको छ ? यदी यसो हो भने तपाईंलाई मौसमी रुघाखोकी (ईन्फ्लूएञ्जा) अर्थात स्वाइन फ्लू भएको हुनसक्छ ।

यो ईन्फ्लूएञ्जा’ए’ एचवानएनवान भाईरसलाई ‘स्वाइन् फ्लू’ पनि भनिन्छ । पहिले पहिले सुंगुरबाट सर्ने भएको यसलाई ‘स्वाइन् फ्लू’ भनिएपनि हाल आएर मान्छेबाट मान्छेलाई नै सर्ने भएकाले यसलाई मौसमी रुघाखोकी भन्न थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोलर याम बरालले बताए ।ईन्फ्लूएञ्जा ‘ए’.’बी’ र ‘सी’ गरेर तीन प्रकारका हुन्छन् । जसमध्ये ‘ए’मा पर्ने एचवानए संक्रमण भए संक्रमित व्यक्तिको ज्यानै पनि जानसक्छ ।

यदी तपाईंलाई रुघा, खोकी र ज्वरो लगातार आइरहेको छ भने तुरुन्तै अस्पताल गएर जँचाइहाल्नुहोस् । मौसमी रुघाखोकी भए/नभएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जाँच्ने गरिन्छ । जहाँ निःशुल्क रुपमा मौसमी रुघाखोकी जाँच्ने गरिएको भेक्टर कन्ट्रोलर बरालले जानकारी दिए ।

उनका अनुसार एक सय डीग्री भन्दा बढी ज्वरो लगातार आइरहे वा रुघाखोकी लागेको छ भने बिना टिकट लार्इन नबसी जाँच्ने ब्यबस्था गरिएको छ ।

यो जाँच्न करिव १० मिनेट लाग्ने उनले बताए । मौसमी रुघाखोकी जाँच्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एच वानएनवान भने पत्ता लाग्दैन ।

त्यहाँ मौसमी रुघाखोकी भए/नभएको र त्यसमा ‘ए’, ‘वि’ र ‘सी’ मध्ये कुन प्रकारको मौसमी रुघाखोकी हो भन्ने मात्र खुल्ने बरालले बताए । मौसमी रुघाखोकीको ईन्फ्लूएञ्जा ‘ए’ प्रकारमा पर्ने एचवानएन वान जाँच्न भने काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

उनका अनुसार ईन्फ्लूएञ्जा’ए’ एचवानएनवान जाँच्नका लागि ‘सिँगान’ पठाइने र एक हप्तामा रिपोर्ट आउने गरेको छ ।

हालसम्म १०४ जना संक्रमित

पश्चिमाञ्चलमा ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवानबाट हालसम्म १०४ जना संक्रमित भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट परीक्षणका लागि पठाइएका २२८ जना मध्ये १०४ जनामा संक्रमण देखिएको बरालले जानकारी दिए । यो परीक्षणका लागि पठाइएको संख्याको ४५.६१ प्रतिशत हो ।

पछिल्लो क्रमलाई हेर्ने हो भने ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवान संक्रमितको संख्या झन् बढ्दै गएको छ ।

पछिल्लो हप्ता मात्रै ६० जनाको परीक्षणका लागि पठाएकोमा ४१ जनामा संक्रमण देखिएको उनले बताए । यो कुल पठाइएको मध्ये ६६.६६ प्रतिशत हो ।

संक्रमित मध्ये पोखराका ३ जनाको ज्यान गइसकेको उनले बताए । संक्रमित मध्ये करिव ७० प्रतिशत पोखराका मानिसहरु रहेको बताउँदै प्रभावित क्षेत्रको बारेमा भने अनुसन्धान भइरहेको बताए ।

३ को मृत्यु

मौसमी ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवानबाट पोखरामा ३ जनाको मृत्यू भइसकेको छ । मृत्यु भएकाहरु पोखराबाट थप उपचारका लागि काठमाडौं रिफर भएका बिरामी हुन् । मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ का एक पुरुष, पोखरा १५ की एक महिला र १७ की एक महिलाको मृत्यू भएको भेक्टर कन्ट्रोलर वरालले जानकारी दिए ।

वालवालिका, बृद्धबृद्धा र गर्भवती महिलालाई बढी खतरा

मौसमी रुघाखोकी वालवालिका, बृद्धबृद्धा र गर्भवती महिलालाई बढी लाग्ने गर्दछ । उमेर पाको हुँदै गएकाहरु, वालवालिका र गर्भवती महिलामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुलाई लाग्ने सम्भावना बढी हुने र खतरा पनि हुने भेक्टर कन्ट्रोलर बरालले बताए ।

तथ्यांक अनुसार बिरामी भएका मध्ये २० देखि ३० प्रतिशत वालवालिका र करिव १० प्रतिशत बृद्धबृद्धा संक्रमित भएको पाइएको छ । बच्चामा पनि २ देखी ५ वर्षसम्मका वालवालिका बढी संक्रमित हुने खतरा रहने वरालले बताए ।

के हो मौसमी रुघाखोकी ?

यो रुघाखोकी भाईरसबाट सर्ने सरुवा रोग हो । सामान्य रुघाखोकी जस्तै यो पनि मौषमी हुन्छ । जाडो सुरु हुने बेला, जाडो सकिने बेला, गर्मी सुरु हुने बेला र गर्मी सकिनेबेला मौसमी रुघाखोकी लाग्ने गर्दछ ।

मौसमी रुघा खोकी लागेको बेला रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, बच्चालाई लागेको भए झाडा पखाला लाग्ने लगायतका लक्षण देखिने भेक्टर कन्ट्रोलर बरालले जानकारी दिए ।

रुघा लागेको ३ दिनसम्म ज्वरो घटेन वा १०० डीग्री भन्दा धेरै ज्वरो आईरहेमा तथा रुघा र खोकी लागिरहेमा मौसमी रुघाखोकी लागेको हुनसक्छ । सामान्य खालको मौसमी रुघाखोकी घरमा आफैपनि निको हुनसक्ने उनले बताए । विरामीको रोग प्रतिरोधात्मक क्षमता कति छ त्यसमा निको हुने/नहुने भर पर्ने उनले बताए ।

कसरी सर्छ ?

मौसमी रुघाखोकी विरामीले हाँछ्यू गर्दा, विरामीको एक मिटरसम्म नजिक बसेको व्यक्तिलाई हावाको माध्यमबाट सर्दछ ।

त्यस्तै, विरामीले प्रयोग गरेको रुमाल, तौलिया, चश्मा, मोवाइल, कम्प्युटर, ल्यापटप प्रयोग गर्दा, विरामीसँग हात मिलाउँदा, जुठो खाँदा यो रोग सर्न सक्छ । यसको भाईरस विरामीले छोएको ठाउँमा चिसो छ भने केही दिनसम्म रहन्छ भने तातो ठाउँमा करीब १० मिनेसम्म बाँच्न सक्छ ।

यो रोग लाग्दैमा मान्छेको मृत्यु नभएपनि लापर्वाही र ढिलो उपचारका कारण मृत्यु हुने उनले बताए । यद्यपि उपचार हुँदाहुँदै पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका विरामीको मृत्यु हुनसक्ने खतरा भने रहने उनले प्रष्ट्याए

कसरी बच्ने ?

मौसमी रुघाखोकीबाट बच्न खोक्दा, हाँछ्यू गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गर्नुपर्छ ।

साबुन पानीले मिचिमिची हात धुने, पोषिलो र झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउने गर्नुपर्छ । त्यस्तै, ज्वरो आएको व्यक्ति नगुम्सिएको तथा हावा ओहोरदोहोर हुने कोठामा बस्नुपर्छ ।

विरामी व्यक्ति अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजानु उत्तम हुन्छ । घरेलु विधीबाट उपचार गर्दा पनि निको नभएमा पश्चिमाञ्चलका विरामी भए पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गएर जाँच्नुपर्छ ।

विरामी व्यक्ति वा शंकास्पद व्यक्तिसँग सकभर सँगै नबस्ने, आँखा नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने, सकभर अर्का व्यक्तिसँग हात नमिलाउने बरु नमस्कार गर्ने, अरुले प्रयोग गरेको रुमाल, तौलिवा वा कपडा प्रयोग गर्न नहुने भेक्टर कन्ट्रोलर वरालले बताए ।

यो रोग लाग्दैमा डराईहाल्नु भने नपर्ने भेक्टर कन्ट्रोलर वरालले बताए । बरु सतर्कता र सावधानी भने अप्नाउन उनले सुझाव दिए ।

सचेत सहन जनस्वास्थ्य कार्यालयको अपील

मौसमी रुघाखोकी र ईन्फ्लूएञ्जा ‘ए’ एचवानएनवानबाट जोगिन जिल्ला जनस्वास्थ्यले सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयले संक्रमितको संख्या बढ्दै गएपछि कार्यालयले कर्मचारीलाई विदा नलिन र काजमा नछाड्न सम्पूर्ण कार्यालयलाई परिपत्र गरेको भेक्टर कन्ट्रोलर बरालले बताए ।

त्यस्तै, महानगरपालिका तथा गाउँपालिकाहरुलाई सर्तकता अप्नाउनका लागि सूचना प्रकाशन र नियन्त्रण तथा रोकथामको प्रयास गर्न पनि निर्देशन दिइएको उनले बताए ।

उनले कास्कीमा सबै ठाउँमा औषधी पर्याप्त रुपमा रहेको र अभाव हुने सम्भावना नरहेको दाबी गरे ।

संक्रमितको संख्यामा कमी नआए केही दिनभित्रै विद्यालय बन्द गर्नेबारे छलफल भइरहेको उनले बताए ।

अहिले नै विद्यालय बन्द गर्दा मान्छे आतंकित हुने र नकारात्मक सन्देश जाने भएकाले आफूहरुले हतारमा निर्णय नगरेको तर संक्रमित संख्या बढ्दै गएमा त्यसतर्फ पनि निर्णय गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ ।

साभार : अनलाईन खबर

प्रतिक्रिया