शैक्षिक गुणस्तरका लागि विद्यालय मिलान पहिलो सर्त

शैक्षिक गुणस्तरका लागि विद्यालय मिलान पहिलो सर्त

दैलेख भदौ २१, जिल्लाको शैक्षिक गुणस्तर बृद्धीका लागि पहिलो सर्त विद्यालय मिलान रहेकोछ । गुणस्तर वृद्धि गर्न दैलेख जिल्ला भित्र रहेका विद्यालयहरुलाई मर्ज (विद्यालय मिलान) तथा शिक्षक दरबन्दी मिलान गर्न पहल थालिने भएको छ । भर्खर मात्रै सरुवा भई आएका जिल्ला शिक्षा अधिकारी पूर्ण प्रसाद रिजालले जिल्लाको शैक्षिक गुणस्तर विकासका लागि विद्यालय मर्ज पहिलो सर्त भएको बताएका हुन् । शैक्षिक अवस्था सुधार गर्नको लागि हचुवाको भरमा स्वीकृत दिइएका विद्यालय गाभ्नुको विकल्प नभएको बताउदै जिल्ला शिक्षा अधिकारी रिजालले शिक्षक दरबन्दी नभएका र विद्यार्थीको संख्या कम रहेका विद्यालयहरु मर्ज गरिने बताए । बुधवार गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी रिजालले स्पष्ट माप दण्ड बनाई तह अनुसार दरबन्दी बढी भएका बिद्यालयबाट कम भएका बिद्यालयमा स्थानान्तरण गर्दै शिक्षक दरबन्दी मिलान गर्न पहल गरिने बताए । यस्तै जिल्लामा शिक्षाको गुणस्तर सुधारको लागी दैलेखका ११ वटै स्थानीय तहमा जननिर्वाचित प्रतिनीधिहरुसंग छलफल गरि आगाडी बढ्ने जिल्ला शिक्षा अधिकारी रिजालले जानकारी दिए ।


समग्र जिल्लाको शैक्षिक गुणस्तर खस्कदो अवस्थालाई मध्यनजर गर्दै आफु जिल्लामा सरुवा भएर आए लगत्तै यस्तो कार्य थालनी गर्नका लागि पहल थाल्ने रिजालले जानकारी दिएका छन् । स्थानीय तह पुनसंरचना भए संगै स्थानीय तहमा भएका विद्यालयहरु जहाँ विद्यार्थीको संख्या कम भएका तथा शिक्षकको दरबन्दी नै नभएका विद्यालयहरु गाभ्नका लागि पहल थाल्ने योजनामा छु, उनले भने “त्यसका लागि स्थानीय तहमा जननिर्वाचित जनप्रतिनीधीहरु संग परामर्श तथा छलफल गर्नेछु ।” निजी विद्यालयको तुलनामा सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा खासै विकास हुन नसकेकोले बताउदै जिशिअ रिजालले दैलेख जिल्लाका सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर विकासका लागि योजनात्मक रुपमा काम गर्दै जाने बताए । उनले विद्यालयको समग्र विकास, कक्षा कोठाको व्यवस्थापनका साथै विद्यालय हाता भित्रको सरसफाई अभियानलाई आफुले विशेष योजना बनाएर लागु गर्ने बताए । स्थानीय तहमा पठाइने शिक्षाका कर्मचारी शिक्षा मन्त्रालयबाटै निणर्य हुने हुँदा मन्त्रालयले निणर्य गरे लगत्तै स्थानीय तहमा शिक्षाका कर्मचारी पठाइने जिशिअ रिजालले जानकारी दिएका छन् । उनले जिल्लाको शिक्षा क्षेत्रको विकासका लागि संचारकर्मी, नागरिक समाज, शिक्षा संग सरोकार राख्ने निकायहरु संग समन्वय गरि अगाडी बढ्ने बताए ।
नेपाल पत्रकार माहासंघ दैलेखका अध्यक्ष चक्र केसीले जिल्ला शिक्षा कार्यालयमा हुने कुनैपनि सुचनाहरुलाई नलुकाई सन्चारकर्मीहरुलाई उपलब्ध गराउन आग्रह गरे । गुणस्तरीय शिक्षा कायम गर्नको लागी जिल्ला शिक्षा कार्यालयसंग सहकार्य गर्न गरि अगाडी बढ्न तयार रहेको अध्यक्ष चक्र केसीले बताए ।
प्रेश युनियन दैलेखका सभापति भुपेन्द्र शाहील दैलेख जिल्लाका सरोकारवाला निकायहरुसंग समन्वय तथा सहकार्य गर्दै बिद्यालय सरसफाई अभियानलाई प्राथमिकतामा राखेर पठन पाठनका लागी उपयुक्त वातावरण सिर्जना गर्न सुझाव दिए । छलफलबाट जिल्ला शिक्षा कार्यालयले गर्ने सम्पुर्ण कार्यक्रमहरुलाई जिल्लामा क्रियाशिल पत्रकारहरुसंगको सहकार्य र समन्वयलाई अझै प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ । जिल्ला शिक्षा कार्यालयबाट हुने कार्यक्रम तथा गतिबिधीसंग सम्बन्धीत सुचनाहरु जतिसक्दो चाडो संचार माध्यमलाई उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको भन्दै त्यस्ता सुचनाहरु जानकारी गराउनको लागी जिल्ला शिक्षा कार्यालय दैलेखलाई पत्रकारहरुले आग्रह गरेका थिए ।

प्रतिक्रिया