श्रीमानको गल्तीमा, सजाय भोग्दै श्रीमती

श्रीमानको गल्तीमा, सजाय भोग्दै श्रीमती

हिक्मत नेपाली
दैलेखको आठवीस नगरपालिकाको राकमकर्णालीस्थित जाक्सी गाउँकी नानीदेवी शाही हिजोआज एचआईभीसँग लडिरहेकी छन् । उनलाई एचआईभी संक्रमण भएको १० वर्ष भयो । उनका श्रीमान् मजदुरीका लागि भारत जान्थे । भारतमा असुरक्षित यौन सम्पर्क गरेका कारण एचआईभी संक्रमित भएपछि उनको मृत्यु भइसकेको छ । नानीदेवीले श्रीमान्को मृत्यु भएको पाँच वर्षपछि मात्र आफूलाई पनि संक्रमण भएको जानकारी पाइन् । उपचारमा हालसम्म उनले आफ्नो खेतबारी बेचिसकेकी छन् ।

श्रीमान्का कारण एचआईभी संक्रमति भएका आठवीस नगरपालिका दैलेखका महिलाहरु

बाँच्नका लागि संघर्ष गरिरहेकी उनले भनिन्,‘धन कमाउन गएका श्रीमान्ले, एचआईभी पनि बोकेर ल्याएछन् । आफू पनि बाँचेनन्, मलाई पनि मर्नु न बाँच्नुको अवस्था बनाए ।’ उनका देवरको पनि एचआईभी एड्सका कारण मृत्यु भइसकेको छ । ‘एचआइभी संक्रमित भएको थाहा पाएपछि आत्महत्या गर्ने सोच बनाएँ, तर छोराछोरीको भविस्य हेरेर सम्हालिएँ’ उनी भन्छिन्,‘श्रीमान्ले धोका दिए, म यीनै सन्तानको मुख हेरेर बाँचेकी छु । अहिले नियमिति औषधि खाएकी छु, तर समाजको अगाडी शीर ठाडो पारेर हिँड्न सक्ने अवस्था छैन ।’श्रीमान्को गल्तीका कारण आफूले गाउँमा अपहेलना र तिरस्कारको सजाय भोग्नु परेको उनले सुनाइन् ।
जाक्सीकै ६३ बर्षिया धनसरा माझीको पीडा पनि कम छैन ।उनले आफू एचआईभी संक्रमित भएको थाहा पाएको पनि १० वर्ष वित्यो । मजदुरीकै क्रममा उनका श्रीमान्को भारतमै मृत्युभयो । एड्सकै कारण उनका श्रीमान्ले ज्यान गुमाए । श्रीमान्को मृत्युपछि उनी लामो समयसम्म बिरामी भइन् । नेपालगंजमा परिक्षण गर्दा उनमा पनि संक्रमण भएको खुल्यो । ‘एचआईभी भएको सुन्दा छाँगाबाट खसेजस्तै भएँ, तर पनि सजाय काटिरहेकी छु’ उनले आफ्नो पीडा सुनाउँदै भनिन्,‘गल्ती श्रीमान्ले गरे, सजाय मैले भोगिरहेकी छु । अहिले समाजले हेला गर्छ, मान्छेहरु पनि मलाई देख्दा टाढा भाग्छन् ।’
स्थानीय ३५ बर्षिया लक्ष्मी कार्कीलाई पनि एचआईभी संक्रमण भएको नौ वर्ष वित्यो । उनकी पाँच बर्षिया छोरीलाई पनि एचआईभी सक्रमण भएको छ । श्रीमान्लाई संक्रमण भएपछि आफुलाई पनि संक्रमण भएको उनले बताइन् । उनलेभनिन्,‘घरमा बसेर खान पुग्दैन, श्रीमान् कमाउनका लागि भारत जानुहुन्थ्यो । उहाँले उतैबाट रोग ल्याउनु भएछ, मलाई पनि सार्नुभयो ।’ अहिले पनि उनका श्रीमानभारतमै ज्याला मजदुरी गर्छन् । आफूहरुलाई संक्रमण भएको केही वर्षपछि छोरी जन्मिएको र छोरी पनि संक्रमित भएको उनले सुनाइन् ।५३ बर्षिया ज्वालामाझी एचआईभी सक्रमित भएको १५ बर्ष भयो । श्रीमान् वितेको तीन वर्षपछि मात्र आफुलाई पनि संक्रमण भएको थाहा भएको उनले बताइन् । आँखाबाट आँसु झार्दै उनले भनिन्,‘के पाप गरेकी थिएँ र मैले ? यो सजाय भोग्दै छु । छिमेकीले मेरो चप्पल पनि छुँदैनन्, रोग सल्किन्छ भनेर सबैजना मबाट टाढा भाग्छन् ।’

गरिबी मुख्य कारण
गाउँमा अचेल महिलाहरुको बाहुल्यता छ । पुरुषहरु मजदुरीका लागि भारत पसेका छन् । धन कमाउन गएका पुरुषहरु गाउँमा फर्कदा धन मात्र ल्याउँदैनन् । एचआइभी पनि सँगै लिएर फर्कछन् । जसको परिणाम गाउँका महिलाहरु पनि संक्रमित हुन पुगेका छन् । गरिबीसँग लड्दै आएका महिलाहरु हिजोआज एचआईभीसँग पनि जुधिरहेका छन् । स्थानीय महिलाहरुका अनुसार छाक टार्ने उपाय गाउँमा छैन । त्यसैले पुरुषहरु रोजगारीका लागि भारतका विभिन्न सहरमा पस्न बाध्य छन् ।
धन कमाउने आशमा भारत पसेका पुरुषहरु घरमा आउँदा एचआईभी पनि बोकेर आउँछन् । असुरक्षित व्यवहारका कारण पुरुषहरुले श्रीमतीलाई पनि एचआईभी सार्छन् । लामो समयसम्म परदेशमा बस्दा पुरुषहरुले असुक्षित यौन सम्पर्क गर्ने र एचआईभी संक्रमणको शिकार हुने गरेका छन् । जसको परिणाम उनीहरुले घरमा आउँदा श्रीमतीलाई पनि सार्न पुग्छन् । गाउँमै छाक टार्ने उपाय नहुँदा पुरुषहरु मजदुरीका लागि मुग्लान पस्न बाध्य छन् । अहिले पनि ग्रामीण क्षेत्रका अधिकांश पुरुषहरु भारत पसेका छन् ।

बाबुको मुख देख्न पाएनन्
धेरै पुरुषहरु सन्तानको उज्वल भविस्यको लागि भन्दै भारतमा पसिना बगाउन गए । भारतका सहरमा पसिना बगाउन गएका मध्ये धेरैलाई एचआईभी संक्रमण भयो । जसमध्ये अधिकांशको मृत्यु भइसकेको छ । गाउँमा उनीहरुका श्रीमती र सन्तान मात्र बाँकी छन् । लापरबाही र असुरक्षित व्यवहारका कारण केही बालबालिकाहरु पनि संक्रमति बनेका छन् ।
ति मध्ये धेरैले आफ्ना बाबुको मुखसमेत देख्न पाएनन् । एचआइभीका कारण बाबुको मृत्यु भइसकेकाले पनि धेरै बालबालिकाले बाबुको अनुहार नै देख्न नपाएको अवस्था छ ।अचेलगाउँमाजन्मिदै एचआईभी संक्रमण भएका बालबालिकाहरुको संख्यापनि धेरै छ । जसले बाबुको अनुहार पनि राम्रोसँग देख्न पाएनन् ।कतिपय बालबालिकाहरु अभिभावकविहीन नै बनेका छन् ।

स्थानीय सरकारसँग अपेक्षा
संक्रमितहरुले अब स्थानीय सरकारसँग आफ्नो जीवन रक्षाको अपेक्षा गर्न थालेका छन् । रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउन नियमित रुपमा एआरटी औषधी सेवन गर्नुपर्ने हुन्छ । तर आर्थिक अभाव र भौगालिक विकटताका कारण समस्या भइरहेको पीडितको गुनासो छ ।
आफूहरुको स्वास्थ्य कमजोर बन्दै गएको भन्दै उनीहरुले अब स्थानीय सरकारले नै एआरटी औषधी उपलब्ध गराउनुपर्ने माग गरेका छन् । हाल जिल्ला अस्पतालमार्फत औषधि वितरण हुने गरेको छ । तर पीडितहरुले सदरमुकामसँग पुग्न र बास बस्न समस्या हुने गरेको बताए । यसका लागि स्थानीय सरकारले नै औषधि उपलब्ध गराउनुपर्ने भन्दै उनीहरुले आफ्नो जीवन रक्षाको माग गरेका हुन् ।

एउटै नगरमा ८७ जना संक्रमित
जिल्लामा एचआईभी संक्रमितको संख्या वर्षेनी बढ्दै गएको छ । जिल्लाभरमा संक्रमितको संख्या बढ्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । जिल्लाको आठविस नगरपालिकाभित्र मात्र ८७ जना एचआईभी संक्रमित रहेका छन् । यहाँका अधिकांश पुरुषहरु मजदुरीका लागि भारत जाने भएका कारण पनि संक्रमणको दर बढी भएको हो । नगरपालिकाका उपप्रमुख दीपा बोहोराले नगरका विभिन्न वडामा ८७ जना संक्रमित रहेका जानकारी दिइन् । नगरपालिकाका अनुसार उनीहरुलाई सहज रुपमा नियमित औषधि सेवन गराउनका लागि पहल गरिनेछ ।

पोषण भत्ताको व्यवस्था
एचआईभी भएका र एआरटी औषधी सेवन गर्दै आएकाहरुका लागि भत्ताको व्यवस्था गरिने भएको छ ।आठविस नगरपालिकाले नगरमा रहेका संक्रमितहरुका लागि सन्तुलित भोजन भत्ता उपलब्ध गराउने भएको हो । यसका लागि नगरपालिकाले नीतिगत निर्णय भइसकेको जनाएको छ ।
एचआईभी संक्रमित भएकाव्यक्तिहरुले नियमति रुपमाएआरटी सेवन गर्नु परेका कारण शारिरिक रुपमाकमजोर हुने गरेका छन् । यस्तो समस्यालाई समाधानकालागि भन्दै नगरपालिकाले पोषण भत्ता दिने निणर्य गरेको हो ।स्थानीयतहमानिर्वाचित जनप्रतिनीधिले गरेको प्रतिबद्धता अनुसार नगरसभाबाट नीतिगत रुपमा सन्तुलितभोजन भत्ताप्रदानगर्ने निणर्य गरिएको हो । संख्यात्मक रुपमा दैलेखको सबैभन्दा वढी एचआईभीसंक्रमण भएकाव्यक्तिहरु रहेको आठवीस नगरपालिकाले सन्तुलितभोजन भत्ताप्रदानगर्न लागेको हो ।
नगरपालिकाले वडा नम्बर ३ माएचआईभी पीडित महिलाहरुका लागि ५० हजार रकम विनियोजन गरेको छ । यस्तै वडा ४ मा संक्रमतिलाई लक्षित गर्दै आकस्मिक कोष स्थापना गरिएको छ । यसका लागि एक लाख ५० हजार रकम विनियोजन गरिएको छ । नगरपालिकाले वडा नम्बर ७मा एचआईभी पीडित तगा एकलमहिलाका लागि दुई लाख रकमविनियोजना गरेको छ ।

 

प्रतिक्रिया