दैलेखमा ९ दल र स्वतन्त्र समेत ३९ जनाको उम्मेदवारी दर्ता

दैलेखमा ९ दल र स्वतन्त्र समेत ३९ जनाको उम्मेदवारी दर्ता

दलित एक जना, महिलाको उम्मेदवारी सून्य
अमर सुनार
दैलेख, कात्तिक १६ – प्रतिनिधिसभा र प्रदेशसभासभा निर्वाचनका लागि आज भएको उम्मेदवारी दर्ताको क्रममा दैलेखमा उत्साहका साथ उम्मेदवारी दर्ता भएका छन् । उम्मेदवारीको क्रममा दलहरुका चुनावी ¥यालीले चुनावी रन्को सुरु भएको छ ।


बाम गठबन्ध तर्फ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दैलेखका २ संघीय क्षेत्र र ४ प्रदेशसभासभामा साझा उम्मेदवारी दिएका छन् । जसमा नेकपा माओवादी केन्द्रलाई दैलेख क्षेत्र नं. १ को प्रदेशसभा १ ‘क’ माओवादी केन्द्रका धर्मराज रेग्मी र बाँकी ५ सीटमा नेकपा एमालेले लिएको छ ।
सो गठवन्धनमा नेकपा एमालेका रबिन्द्रराज शर्मा क्षेत्र नं. १ र राजबहादुर बुढाले क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिए । क्षेत्र नंं. १ को प्रदेशसभा १ ‘ख’मा अम्मरबहादुर थापा, क्षेत्र नं. २ का प्रदेशसभा १ ‘क’मा सुशील थापा र प्रदेशसभा २ ‘ख’मा राजबहादुर शाहीको उम्मेदवारी परेको छ ।
त्यसैगरी नेपाली काँग्रेस र राप्रपाले ६ वटै सीटमा तालमेल गरी उम्मेदवारी दर्ता गराएका छन् । सो गठवन्धनमा राप्रपाका दिपककुमारी शाही क्षेत्र नं. १ मा र नेपाली काँग्रसका शिवराज जोशी क्षेत्र नं. २ को साझा उम्मेदवार बनेका छन् ।
राजमोले क्षेत्र नंं. १ को प्रतिनिधिसभा सदस्यमा पूर्णबहादुर शाही, प्रदेशसभा १ ‘क’मा झविराज खत्री, प्रदेशसभा १ ‘ख’मा सुरतबहादुर रावल, क्षेत्र नंं. २ को प्रतिनिधिसभा सदस्यमा भीमबहादुर बिष्ट, प्रदेशसभा २ ‘क’मा लोकपाल थापा र प्रदेशसभा २‘ख’मा कमलबहादुर बरै मगर उठेका छन् ।
नेककिपाले क्षेत्र नंं. १ प्रतिनिधिसभा सदस्यमा बमबहादुर सिंह, प्रदेशसभा १ ‘क’मा जगतबहादुर वली, प्रदेशसभा १ ‘ख’मा दुर्गबहादुर थापामगर, क्षेत्र नंं. २ प्रतिनिधिसभा सदस्यमा जग्यबहादुर शाही, प्रदेशसभा २ ‘क’मा मोतिराम शर्मा लम्साल, प्रदेशसभा २‘ख’मा केशेन्द्रबहादुर कार्कीको उम्मेदवारी परेको छ ।
त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको तर्फबाट क्षेत्र नंं. १ को प्रतिनिधिसभा सदस्यमा बमबहादुर शाही, प्रदेशसभा १ ‘क’मा जयबहादुर गन्दर्भ, प्रदेशसभा १ ‘ख’मा कर्णबहादुर शाही, क्षेत्र नंं. २ प्रतिनिधिसभा सदस्यमा कृष्णबहादुर गुरुङ्ग, प्रदेशसभा २ ‘क’मा अम्मरबहादुर शाही र प्रदेशसभा २‘ख’मा दीपकबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
नयाँशक्ति पार्टीले क्षेत्र नंं. १ को प्रतिनिधिसभा सदस्यमा भरतकुमार केसी, प्रदेशसभा १ को ‘ख’मा चन्द्रबहादुर बुढा, क्षेत्र नंं. २ को प्रतिनिधिसभा सदस्यमा हिमबहादुर शाही, प्रदेशसभा २ ‘क’मा रामबहादुर सुनार र प्रदेशसभा २‘ख’मा भूपेन्द्र जीसीले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी विवेकशील साझा पार्टीको तर्फबाट जिल्लामा एउटा मात्र उम्मेदवारी परेको छ । दैलेख क्षेत्र नंं. २ को प्रतिनिधिसभा सदस्य पदका लागि कमलापती सुवेदीले उम्मेदवारी दिएका हुन् ।

लोकतान्त्रिक समूहको बागी उम्मेदवारी
लोकतान्त्रिक गठवन्धनमा दैलेख क्षेत्र नंं. १ मा राप्रपाका दिपककुमार शाही बिरुद्ध नेपाली काँग्रेसका पूर्वसाँसद गणेशबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको १८ हजार मतदाता रहेको ठाउँमा २ हजार पनि नपुग्ने राप्रपाले जिताउन सकिदैन भनेर आफूले उम्मेदवारी दिएको खड्काको टिप्पणी छ ।
गठवन्धनप्रति असन्तुष्ट नेपाली काँग्रेसका नरसिंह मल्ल र लक्षुमण गुरुङ्गको स्वतन्त्र उम्मेदवारी परेको छ । उनीहरुले क्षेत्र नंं. १ को प्रदेशसभा ‘क’ लागि नेपाली काँग्रेसको कृष्णकुमार बीसी र प्रदेशसभा ‘ख’ तर्फ काँग्रेसका जगतजंग थापा बिरुद्ध उक्त उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताले उत्साह
बाम गठवन्धन, लोकतात्रिक समूहले बाजागाजा सहितको ¥यालीले नगर परिक्रमापछि निर्वाचन अधिकृतहको कार्यालयमा पुगी उम्मेदवारी दिएका थिए भने अरु दलहरुले पनि नारा जुलुस सहित उम्मेदवार दर्ता गराउन गएका वातावरणले बाटो हिड्ने बटुवाहरुको समेत ध्यान खिचेको थियो ।
दैलेखका राजनीतिक दलहरुले शान्तिपूर्वक उम्मेदवारी दर्ता गराएबाट दलहरुले चुनावी अभियानलाई आपसी समझदारीका साथ गाउँमा चुनावी अभियान हुनेमा आफू बिश्वस्त भएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले सुनाए ।
जिल्लाका २ वटै निर्वाचन अधिकृतको कार्यालयहरुबाट प्राप्त जानकारी अनुसार ९ वटा राजनीतिक दल र स्वतन्त्र समेत ३९ जनाको उम्मेदवारी परेको छ । जस अन्तरगत क्षेत्र नं. १ मा २० जना र क्षेत्र नं. २ मा १९ जना छन् ।
उम्मेदवारहरुकोसूचीलाई बिश्लेषण गर्दा नयाँशक्ति पार्टीले प्रदेशसभामा एक जना दलितलाई उम्मेदवार बनाएको पाइयो तर प्रत्यक्ष तर्फ महिला भने कुनै दलले पनि उठाएका छैनन् । प्रतिनिधिसभा सदस्य पदका लागि १० हजार प्रदेशसभाका लागि ५ हजार राजस्व तोकिएको थियो । शुल्क बढी भएकै कारण पनि उम्मेदवारी दिन नपाएको द्वन्द्वका घाइते पूर्णबहादुर थापाले बताए ।

 

प्रतिक्रिया