भूमे गाउँपालिकामा डिजिटल वडापत्रको उद्घाटन

भूमे गाउँपालिकामा डिजिटल वडापत्रको उद्घाटन

भूमे गाउँपालिका रुकुम पूर्वले एकै पटक हेर्न, सुन्न र पढ्न मिल्ने डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । भूमे गाउँ कार्यपालिकाका अध्यक्ष रामसुर बुढा मगरले डिजिटल वडापत्रको रिमोट थिचेर उद्घाटन गर्नुभएको हो।


यही कात्तिक २२ गते भूमे गाउँपालिका ३ सिमास्थित गाउँ कार्यपालिकाको कार्यालयमा आयोजित डिजिटल वडापत्र उद्घाटन कार्यक्रममा डिजिटल वडापत्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मगरले यस प्रकारको डिजिटल वडापत्र प्रयोगमा ल्याउनुको मुख्य उद्देश्य सरकारी कामको कार्य प्रकृति र प्रक्रिया बारे आम सेवाग्राहीहरुलाई सुसूचित गरी सेवा प्रवाहमा चुस्तता र प्रभावकारिता ल्याएर सुशासन प्रवद्धन गर्नु रहेको बताउनुभयो । गाउँपालिका अध्यक्षले भन्नुभयो- हामी सेवा प्रवाहलाई कसरी छिटो छरितो, कम खर्चिलो र प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरा पहिलो प्राथमिकतामा राखेर योजना निर्माण तथा कार्यान्वयनमा निरन्तर लागिरहेका छौं । आजको डिजिटल युगमा दूर्गम गाउँमा पनि डिजिटल जमानाको झल्को दिने गरी सुन्न नसक्नेले देखेर वा पढेर, पढ्न वा देख्न नसक्नेले सुनेर पनि सेवा प्रवाह र प्रकृयाका बारेमा जानकारी लिन सक्ने भएकाले एकातिर सेवाग्राहीले पनि सेवा लिँदा अपनाउनुपर्ने प्रक्रिया र आवश्यक कागजातहरु सुरुमै सबै तयारी गर्न सक्ने भएकाले उनीहरुको सेवा प्राप्तिको लागि समय र पैसाको बचत हुन्छ भने अर्कातिर सेवाग्राहीले सबै कागजात र प्रकृया पूरा गरेर आउँदा सेवा प्रदायकले पनि कार्यालयको कम लागतमा छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने भएकाले राज्य र जनता दुवैको लागि यस प्रकारका प्रविधिहरुको प्रयोग फाइदाजनक रहेको कुरामा उहाँले जोड दिनुभयो ।
गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट, सुआहारा कार्यक्रमका रुकुम जिल्ला संयोजक जनकराज भट्ट, फिल्ड संयोजक सीता खड्का, वास अधिकृत दिपक बञ्जारा, ९ वटै वडाका वडाअध्यक्षहरु, गाउँ कार्यपालिकाका सदस्यहरु, कार्यालयका कर्मचारी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन तथा भूमे गाउँ कार्यपालिकाको कार्यालय रुकुम पूर्वका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया