निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न नागरिक समाजको आग्रह

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न नागरिक समाजको आग्रह

दैलेख, पहिलो चरण मंसिर १० र दोस्रो चरण मंसिर २१ गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका गतिविधिमा बालबालिकाको प्रयोग नगर्न नागरिक समाज दैलेखले आग्रह गरेको छ । राजनैतिक दलका चुनावी सभाहरुमा बालबालिकाको प्रयोग हुन सक्ने सम्भावना देखेर नागरिक समाजले अपिल गरेको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई मर्यादित, स्वच्छ तथा पारदर्शि ढंगले सम्पन्न गर्न निर्वाचन आचार संहिता कार्यान्वयनका लागि निर्वाचन आयोगले नीतिगत निर्णय समेत गरिसकेको छ । निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको तथा विद्यालय लगायतका शैक्षिक संस्थाहरुको प्रयोग गर्नु वा गराउनु आचारसंहिता विपरित कार्य भएको अपिलमा उल्लेख गरिएको छ ।
जिल्लालाई अनिवार्य, निःशुल्क तथा आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र जिल्ला घोषणा लाई कार्यान्वयन गर्न आवश्यक भएको बताउदै नागरिक समाजका अध्यक्ष खड्गबहादुर सिजापतिले भने ‘विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रतिवद्धता अनुसार पनि बालबालिका र विद्यालयलाई राजनैतिक दलका गतिविधिमा सहभागी गराउनु हुदैन् ।’ उनले थपे, ‘जिल्लामा हुने राजनैतिक दलका गतिविधिहरुमा बालबालिकाको प्रयोग नहुनेमा हामीले विश्वास राखेका छौं ।’

‘विगतका निर्वाचनहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बालबालिकाको प्रयोग गरिदै आएको’ सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका महासचिव नैन वहादुर शाहीले बताए । उनले थपे, ‘बालबालिकालाई राजनैतिक दलका झण्डा बोक्न र टि सर्ट लगाउन दिने, बाजा बजाउन बालबालिकाको प्रयोग गर्ने गरिएको थियो ।’ ‘यस्तो कार्यले बाल अधिकारको उल्लंघन हुनुका साथै सम्भावित हुन सक्ने दुर्घटनामा बालबालिका जोखिममा पर्ने सम्भावना भएको हुदाँ पनि राजनैतिक दलका चुनावी सभामा बालबालिकाको प्रयोग गर्न नहुने’अधिकारीको भनाई थियो ।

 

प्रतिक्रिया