लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

हरेक वर्ष नोभेम्बर २५ तारिक देखि शुरु हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैंगिक हिंसा न्यूनिकरणको लागि जनचेतना जगाउने अभिप्रायले अहिले विश्वका अन्य देशहरु साथै नेपालमा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवारदेखि शुरु भइसकेको छ ।
प्रत्येक वर्ष यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ । ‘लैंगिक हिंसा अन्त्यको लागि सवै जुटौ कोही नछुटौं’ भन्ने मुलनारका साथ शुरु भएको अभियानले समाजमा महिला र पुरुष बिच हुने विभेद, हिंसा र दण्डहीनताको अन्त्य गर्न टेवा पुग्ने अधिकारकर्मीहरु वताउँछन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयोगमा भैरवी गाउँपालिकामा पनि यस अभियानको शुरुवात गरिएको छ । महिला सन्जालकी अध्यक्ष सिता बि.क को अध्यक्षता मा भएको कार्यक्रममा भैरबी गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढाको प्रमुख अतिथिमा अभियानको शुरुवात गरिएको जनाइएको छ । सरोकारवाला निकाय र महिला बिच महिला अधिकार सुनिश्चित महिला हिंसा अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको थियो । कार्यक्रममा बोल्दै भैरवी गाउँपालिकाका अध्यक्ष पेम बहादुर बुढाले महिलाहरुमाथि हुने हिंसाको विरुद्धमा आफुले हरकदम सहयोग पु¥याउने बताए । समाजमा अझै लैंगिक हिंसा पूर्णरुपले न्युनीकरण नभइसकेकाले परिवारमा रहेका सवै सदस्यहरु शिक्षित र सचेत हुनुपर्ने आवश्यकता रहेको अध्यक्ष वुढाको भनाई छ । समाजमा शान्ति, स्थायित्व र अमन चयन कायम गरी हिंसा रहित समाज निर्माण गर्नका लागि सवै जिम्मेवारी बन्नु पर्ने उनको भनाई छ ।
यसैगरी दैलेख सदरमुकाम देवकोटा चोकमा दिप प्रज्वलन गरि यससंग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरुको सहयोग र सहभागितामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गरिएको छ ।
नेपालमा १६ दिने अभियान सन् १९९७ देखि विविध कार्यक्रमहरुको आयोजना गर्दै मनाउँदै आइएको छ । सन् १९९७ देखी अहिले सम्म आई पुग्दा नेपालमा महिला माथि हुने हिंसाको सम्बन्धमा व्यापक रुपमा आवाजहरु उठिरहेका छन् । यो अभियानले महिला माथि हुने हिंसालाई रष्ट्रिय बहसको रुपमा ल्याउन महत्वपुर्ण भुमिका खेलेको अधिकारकर्मी तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले वताए । ‘महिला माथि हुने घरेलु हिंसा त्यतिबेला सम्म आफ्नो ईज्जत र प्रतिष्ठाको विषयको रुपमा सिमित थियो’ उनले भने, ‘जसका कारण महिला अनेक प्रकारका हिंसा सहेर चुपचाप बस्न बाध्य थिए, तर हिजो आज यो विषयमा खुलेर कुराकानी र वहस हुन थालेको ।’
यस अभियान शुरुसंगै घरेलु हिुंसालाई घर भित्र सिमित राख्नु हुन्न भन्ने मान्यता विस्तारै विस्तारै स्थापित हुने क्रममा रहेको उनको भनाई छ । विभिन्न संघ संंस्था र संयुक्त राष्ट्र संघिय प्रणाली यस अभियानमा सक्रिय रहँदै आएका छन् । यसै गरि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले लैंगिक हिंसामा परेका महिलाहरुको सहयोगको लागि आकस्मिक आश्रय स्थलको स्थापना गरि सहयोग गरिरहेको सोसेकका कोषाध्यक्ष दुर्गा श्रेष्ठले वताईन ।

प्रतिक्रिया