दैलेखमा आज दिउँसो मात्र मतगणना सुरु हुने

दैलेखमा आज दिउँसो मात्र मतगणना सुरु हुने

अमर सुनार
दैलेख, मंसिर २२ – निर्वाचन आयोगको दोश्रो चरणमा निर्वाचन गर्ने कार्यक्रम सूचीमा रहेका ४५ जिल्ला मध्ये दैलेखमा पनि मंसिर २१ गते शान्तिपू्र्ण रुपमा सम्पन्न भएको छ । दैलेखका १ सय ९६ मतदान केन्द्रमा सम्पन्न भएको निर्वाचनमा ९३ हजार २३ जना मतदान गरेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।
जिल्लाको कुल मतदाता १ लाख ३९ हजार ९ सय ४४ मध्ये ९३ हजार २३ जना मतदान गरेको संख्याले दैलेखमा ६६ दशमलव ४७ प्रतिशत मतदान भएको देखिएको छ । खसेको मत मध्ये महिला झण्डै ५७ प्रतिशत अर्थात ५२ हजार ८ सय जना र पुरुष सहभागिता ४३ प्रतिशत अर्थात अंकमा ४० हजार १ सय ९८ जना रहेको जनाइएको छ ।
आज विहानसम्म सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसक्ने र राजनीतिक दल र सरोकारवालाहरुवीच बैठकबाट मतगणना प्रक्रिया, नियम र पद्धति बारे सहमतीपछि आज दिउँसो मात्र मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवट र दैलेख क्षेत्र नं. २ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिनुभएको छ ।
दैलेख क्षेत्र नं. १ को मतगणना दैलेख जिल्ला अदालत भवनमा र क्षेत्र नं. २ को हकमा जिल्ला सरकारी वकील कार्यालयमा गरिने बताइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनापछि मात्र समानुपातिक तर्फको मतगणना हुने निर्वाचन ऐनमा व्यवस्था छ ।
दैलेखमा २ जना प्रतिनिधिसभा र ४ जना प्रदेशसभाका साँसद चुनिने छन् । कुल ६ पदका लागि १० वटा राजनीतिक दलका ३८ जना उम्मेदवारी चुनावी मैदानमा छन् ।

 

प्रतिक्रिया