राकम बन्यो नेपालकै दोस्रो बालमैत्री वडा

राकम बन्यो नेपालकै दोस्रो बालमैत्री वडा

हिक्मत नेपाली
दैलेख÷पश्चिम दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकमकर्णालीलाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडा घोषणा संगै राकमकर्णाली नेपालकै दोस्रो र दैलेख जिल्लाको पहिलो बालमैत्री वडा हुन सफल भएको छ । स्थानीय तह संचालन ऐन २०७४, बालबालिका सम्वन्धि ऐन २०४८ र नियमावली २०५१, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ सँगै, बालमैत्री स्थानीय तह घोषणा कार्यविधि २०७० मा व्यवस्था भए बमोजिमका बिभिन्न ३९ वटा सूचकहरु पुरा गरेपश्चात राकमकर्णालीलाई बालमैत्री वडा घोषणा गरिएको हो ।
बाल बचाऊ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागितालाई पुर्ण रुपमा कार्यान्वयन गर्ने साझा प्रतिबद्धता सँगै राकम कर्णालीलाई बालमैत्री वडा घोषणा गरिएको बाल संरक्षण अधिकृत निर्मल अधिकारीले बताए । स्नीयस्तरका सबै क्षेत्र र तहका निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गर्न बालमैत्री वडा घोषणा गरिएको हो ।
बाल बचाऊ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागितासँग सम्बन्धित ३९ वटा सूचक पूरा गरिएमा गाउँपालिका वा वडालाई बालमैत्री घोषणा गर्न सकिने प्रावधान बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिमा व्यवस्था छ। बालमैत्री घोषणा गर्न आवश्यक पर्ने सम्पूर्ण सूचक पूरा भएपछि बालमैत्री वडा घोषणा गरिएको आठबीस नगरपालिकाका कार्यकारी अधिकृत मातृका भट्टराईले बताए।
अहिले यहाँका विद्यालयहरुमा बालमैत्री धारा छन् । शौचालय प्रयोग पछि बालबालिकाहरुले अनिवार्य हात धुने गर्दछन् । कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुको पठन पाठनका लागि कार्पेटको व्यवस्था गरिएको छ । यतीमात्र हैन् राकम कर्णालीमा रहेको स्वास्थ्य संस्थामा नियमित गर्भवती जाँच सेवा सँगै बच्चा जन्मेपछि दिईने खोपहरु पनि नियमित दिने गरिएको छ ।
‘कार्यविधिमा व्यवस्था गरिए अनुसार बालबालिकाको लागि १५ प्रतिशत बजेट वडा नं. ४ मा बिनियोजन गरिएको छ । बिगत ३ बर्षदेखि सेभ द चिल्ड्रेनको सहयोगमा बिभिन्न संघ संस्थाहरुले अभियानमा साथ दिदै आएका थिए । अहिले आठवीस नगरपालिकाले सवै प्रतिबद्धताहरुलाई पुरा गर्ने बाचा सहित वडा घोषणा गरिएको हो । अभियानले पुर्णता पाउने बेलासम्म भौतिक पुर्वाधार बिकास, सँगै अन्य बिभिन्न कार्यका लागि ३ बर्ष सम्म करिव ४६ लाख रकम खर्च भएको थियो ।
बालमैत्री वडा घोषणा समारोहलाई शुभकामना दिदै जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले बालबालिका भविष्यका कर्णधार भएको बताए । उनले बालमैत्री घोषणा गरेरै मात्र नपुग्ने बताउदै यसलाई व्यवहारमा पनि लागु गर्दै लैजानु पर्ने औल्याए । जिल्लाकोसबै स्थानीय तहलाई बालमैत्री बनाउन जिल्ला समन्वय समितिले अभियानको संचालन गर्ने प्रमुख थापाको भनाई थियो ।
आठवीस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्यायले थुपै्र अभियान र पक्रिया पुरा गरेर मात्रै बालमैत्री वडा घोषणा गर्न सफल भएका बताउदै यसलाई व्यवहारमा लागु गर्न स्थानीय बासीलाई आग्रह गरेका थिए । आठवीस नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रण बहादुर माझीको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न गाउँ तथा नगरमा निर्वाचित प्रमुख÷उपप्रमुख, विभिन्न संघ संस्थाका प्रमुख लगाएतले वडालाई शुभकामना प्रदान गरेका थिए ।

 

प्रतिक्रिया