किशोर किशोरीले सिकाए प्रजनन् स्वास्थ्यका कुरा

किशोर किशोरीले सिकाए प्रजनन् स्वास्थ्यका कुरा

हिक्मत नेपाली
दैलेख पौष ९, आइतवार विहानै दैलेखको डुंगेश्वर गाउँपालिका वडा नं. २ मा रहेको जनकल्याण माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एक हुल विद्यालय प्रांगणमा भेला भए । जम्मा भए काकिशोर किशोरीहरु आ–आफ्ना ेकार्य विभाजन तर्फ लागे । कार्य विभाजन पश्चात काहि स्टल व्यवस्थापन गर्न थाले त कोही प्रजनन् स्वास्थ्य संग सम्बन्धित रहेका पोष्टर र पम्पेलेट टाँस्न थाले । सुनसान रहेको विद्यालय एकै छिनमा झकिझकाउ भयो । विभिन्न तयारी गर्न खटिएका विद्यार्थीहरु बाहेकका अन्य विद्यार्थीहरु समेत विस्तारै विद्यालय परिषरमा जम्मा हुँदै गए । वडामा निर्वाचित जनप्रतिनीधी जिल्लातहका सरकारी तथा गैससका कर्मचारी, संचारकर्मीहरुको उपस्थितीले विद्यालयको प्रांगण एका एक भरियो ।
विहानै देखि विद्यालयमा जम्मा भएका विद्यार्थीहरु आ–आफुले तयार गरेको स्टल र प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी दिने खालका पोष्टर र पम्पेलेट टासिएको स्थानमा पुगे । औपचारिक कार्यक्रमको सुरुवात पश्चात जिल्लातहका अतिथी र अन्य विद्यार्थीको टोली प्रत्येक स्टलमा पुगे ।
स्टलमा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी दिन बसेका किशोर किशोरीहरु एक एकगरि प्रजनन् स्वास्थ्यका कुरा जानकारी गराउदै गए । प्रत्येक स्टलमा पुगेका वडा अध्यक्ष राजु कुमार खत्री एक छिन त ट्वाल्ल परेरै किशोर किशोरीका कुरा सुनिरहे ।
यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि विभिन्न विषयमा जानकारी दिनका लागि आयोजना गरिएको प्रजनन् स्वास्थ्य मेलामा सहभागी भएका विभिन्न संघ संस्थामा कार्यरत कर्मचारी र विद्यालयमा अध्ययनरत विद्यार्थी संगैशिक्षकहरुलाई समेत प्रजनन् स्वास्थ्यका कुरा जानकारी गराए ।
स्टल नं. २ मा बसेका कक्षा १० मा पढ्दै गरेका १४ बर्षिया मनिषा थापाले महिला प्रजनन् प्रर्णाली र पूरुष प्रजनन् प्रर्णालीको बारेमा जानकारी गराइन् । उनी जस्तै कक्षा १० मै अध्ययनरत १४ बर्षिया सुक्रराज गुरुंगले उमेर बढ्दै जाँदा मानव शरिरमा देखा पर्ने परिवर्तका बारेमा जानकारी गराए ।
यस्तै स्टल न. ५ मा बसेका कक्षा ९ मा अध्ययनरत अमृता नेपाली र संकल्प केसीले बालविवाहको बारेमा जानकारी दिए । यो संगै विभिन्न स्टलमा बसेका किशोर किशारीले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि विभिन्न विषयमा जानकारी गराए । उनिहरुले बालविवाहको विषयमा खुलेरै जानकारी समेत दिए ।
कार्यक्रम अवलोकनका लागि पुगेको वडा अध्यक्ष राजु कुमार केसीले मेला ज्ञानबद्र्धक रहेको प्रतिक्रिया दिए । उनले अब वडा कार्यालयले सम्पूर्ण गाउँ तथा बस्तीमा यस्ता कुराहरुको जानकारी दिनका लागि अभियाननै संचालन गर्ने बताए । वडालाई अब बालविवाह मुक्त बनाउने उनले उद्घोष समेत गरेका छन् ।
यस्तै केड सुर्खेतकी क्षेत्रीय कार्यक्रम संयोजक सिता अर्यालले यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा अझै पनि ग्रामिण समुदायमा बस्ने नागरिकहरुलाई जानकारी नभएको बताइन् । उनले दैलेख जिल्लाका विभिन्न विद्यालय र समुदायमा गरिने यस्ता खालका कार्यक्रमहरुले समुदायको सचेतनामा बृद्धि हुने आशा लिएको बताइन् । महिला शसक्तिकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले बालविवाह, महिनावारी लगाएतका विषयमा जानकारी गराउनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । विद्यालयका प्रधानाध्यापक राम जिवन खंगले विद्यालयमा गरिएका यस्तो खाले कार्यक्रमले विद्यालयमा अध्ययनरत रहेका बालबालिकाहरुको सिकाई संगै व्यवहार समेत परिवर्तन ल्याउने बताए । केड सुर्खेत र महिला सशक्तिकरण मञ्च दैलेखको आयोजनातथा डुंगेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीको समन्वयमा भएको कार्यक्रममा जननिर्वाचित प्रतिनीधी, विद्यार्थी, शिक्षक लगाएतको सहभागिता थियो ।

प्रतिक्रिया