नेपाली क्रिकेटका तीनै पक्षको घोषणा : मिलन विन्दु पत्ता लगायौं

नेपाली क्रिकेटका तीनै पक्षको घोषणा : मिलन विन्दु पत्ता लगायौं

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहितका सरोकारवालाहरुले नेपाली क्रिकेटको विवाद समााधानका लागि ‘मिलन विन्दु’ पत्ता लगाएको बताएका छन् ।आईसीसीका कार्यबाहक अध्यक्ष इमरान ख्वाजा र अमर शेखले आइतबार सल्लाहकार समूहको बैठक राखेका थिए भने सोमबार राखेप सदस्य सचिव केशवबहादुर विष्टलाई भेटेका थिए ।क्रिकेट विवादमा आआफ्नो अडानमा रहेका राखेप, निर्वाचित क्यान र सल्लाहकार समूहले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) प्रतिनिधिको नेपाल भ्रमण लगतै एउटै मञ्चमा उभिएर ‘मिलन विन्दु’ पत्ता लगाएको बताएका हुन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव विष्टले क्रिकेटको भलो चाहने हो भने अब हामी मिलेर जानुको विकल्प नभएको बताएका छन् । उनले अघि भने, ‘हाम्रो अब समस्या केही रहेन । मिलन विन्दु पत्ता लगायौं ।’

‘हाम्रो अब समस्या केही रहेन । मिलन विन्दु पत्ता लगायौं’ राखेप सदस्य सचिव विष्ट

सल्लाहकार समूहका संयोजक पाण्डेले विधान अनुसार निर्वाचित क्यान अघि बढ्ने समाधान निस्कने बताए । यसअघि सल्लाहकार समूहले बनाएको विधान निर्वाचित क्यानले संशोधन गर्दा समस्या लम्बिएको भन्दै उनले भने, ‘हामीले बाटो बनाइदिएको हो । त्यो बाटोमा हिँड्ने नहिँड्ने निर्वाचित क्यानको हातमा छ ।’

निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने क्रिकेट संघको निलम्बन फुकुवा हुन्छ भने आफूहरुले कुनै अडान नराख्ने बताए । साथै आईसीसीले जुनमा निलम्बन फुकुवा गर्न सकारात्मक रहेको बताएको उनले सुनाए ।

के हो मिलन विन्दु ?

क्रिकेट संघ निलम्बनमा परेपछि आईसीसीले विधानको मस्यौदा गर्न सल्लाहकार समूह बनाएको थियो । त्यसले बनाएको विधान अनुमोदन गर्ने क्रममा निर्वाचित क्यानले समूहमा सहमति हुन नसकेको विषय आफ्नो अडान अनुसार संशोधन गर्यो, जसले क्रिकेट विवाद मिल्नुको साटो बल्भिmन पुग्यो ।

मुख्य विवाद निर्वाचित क्यानका १७ सदस्यको चुनावी साधारणसभामा उपस्थिति थियो । तर, विधान संशोधनसँगै निर्वाचित क्यानले भटाभट जिल्ला अधिवेशनहरु गर्यो, जसमा सल्लाहकार समूहका अन्य सदस्यको आपत्ति छ ।

विधानले २७ बुँदा संशोधन भएको भएपनि मुख्य विवाद यही दुई विषयमा देखिएको थियो । काठमाडौं आएका आईसीसी उपाध्यक्ष ख्वाजाको उपस्थितिमा भएको सल्लाहकार समूहको बैठकमा धेरै विवादित विषयमा सहमति जुटेको छ ।

स्रोतहरुका अनुसार निर्वाचित क्यान १७ सदस्यको उपस्थिति हुनु पर्ने अडान छाड्न तयार भएको छ । अब जिल्ला वा प्रदेशबाट निर्वाचित भएर आए मात्र निर्वाचित क्यानमा अहिले भएका सदस्यहरु आगामी चुनाव लड्न पाउनेछन् ।

साथै राखेपबाट सात जना पठाउने प्रावधान पनि हटाइने भएको छ । यसले क्रिकेट संघमा सरकारी हस्तक्षेप हुनसक्ने भन्दै आईसीसीले अस्वीकार गरेको छ । अब जिल्ला वा प्रदेशबाट निर्वाचित भएर आए मात्र निर्वाचित क्यानमा अहिले भएका सदस्यहरु आगामी चुनाव लड्न पाउनेछन् । नयाँ विधानमा निर्वाचन अनुगमनका लागि ५ सदस्यीय अनुगमन समिति बनाउने उल्लेख हुनेछ । तर, ललितपुर र भक्तपुरबाहेकका सबै जिल्लामा अधिवेशन भइसकेको छ ।

राखेप सदस्य सचिव भन्छन्, ‘१७ जना उपस्थिति हुन पाउने अडानबाट निर्वाचित क्यान पछि हटेको छ । विधानसम्मत भएको चुनावलाई अरुले स्वीकार गर्नुपर्छ ।’

अनुगमन समितिले चुनाव भइसकेको जिल्लामा विवाद भए नभएको अध्ययन गर्ने र विवाद भएको ठाउँमा पुन चुनाव भन्दै उनले भने, ‘यही हो हाम्रो मिलन बिन्दु ।’

अबको प्रक्रिया के हुन्छ ?

राखेप सदस्य सचिव विष्टका अनुसार हब निर्वाचित क्यानले एक-दुई साताभित्र विशेष साधारणसभा बोलाएर सहमति अनुसार विधान संशोधन गर्नु पर्नेछ । आईसीसीले अनुगमन समिति बनाउनु पर्नेछ ।

यो समितिमा आईसीसीका तीन प्रतिनिधि हुनेछन् भने राखेप र निर्वाचित क्यानबाट एकएक जना हुनेछन् । सहमति अनुसार सबै पक्ष अघि बढे आगामी जुनमा निलम्बन फुकुवा हुने तीनै पक्षको अपेक्षा छ ।

तर, यदि कुनै पक्षले यो सहमति तोड्ने काम गरे राखेप र आईसीसी मिलेर आगामी कदम चाल्ने चेतावनी पनि राखेप सदस्य सचिव विष्टले दिएका छन् ।

प्रतिक्रिया