सहकारीले थाल्यो बाल विवाह रोक्ने अभियान

सहकारीले थाल्यो बाल विवाह रोक्ने अभियान

हिक्मत नेपाली
दैलेख पौष १८, दैलेखको गुरास गाउँपालिकाको दुई वटा वडालाई कार्यक्षेत्र बनाएको सहकारीले बाल विवाह रोक्ने अभियान थालेको छ । गाउँपालिकाको वडा नं. ७ र ८ लाँलीकाडालाई कार्य क्षेत्र बनाएर संचालित लाँलीकाडाँ कृषि बहुउदेश्यि सहकारी संस्थाले बाल विवाह रोक्ने अभियानको थालनी गरेको हो । सहकारीले आफ्नो कार्यक्षेत्रमा रहेका २ वटा वडामा स्थानीय बाल क्लब गठन गरि बाल विवाह रोक्ने अभियानको थालनी गरेको सहकारीका प्रबन्धक इश्वरी खड्का वलीले जानकारी दिइन् ।
अहिले सहकारीको कार्य क्षेत्र रहेका २ वटा वडामा दुई वटा बाल क्लब गठन गरिएको छ । गुरास गाउँपालिका वडा नं. ८ मा लाँलीगुरास बाल क्लब गठन गरिएको छ । उक्त क्लबमा १७ जना बालबालिकाहरुको सहभागिता रहेको छ । यस्तै वडा नं. ७ मा फुलवारी बाल क्लब गठन गरिएको छ । उक्त बाल क्लबमा स्थानीय २६ जना बालबालिकाहरुको सहभागि रहेको सहकारीका प्रवन्धक वलीले जानकारी दिइन् । सहकारी मार्फत गठन गरिएका बाल क्लबले स्थानीय स्तरमा बाल विवाह रोक्नका लागि अभियान संचालन गरिरहेका छन् । गाउँपालिका भित्र बाल विवाहको समस्या धेरै हुने गरेको बताउदै उनले उमेर नपुगी विवाह गर्ने प्रचलन लाई रोक्नका लागि आफुहरु यस्तो अभियानमा लागेको बताइन् ।
बाल विवाह भएको घरमा प्रहरी पुग्ने गरेको भएपनि देखावटी रुपमा बाल विवाह रोकिन्छ तर भित्री रुपमा विवाह गरेका केटा र केटी एउटै घरमा बस्ने गरेका कारण बाल क्लबको सक्रियतामा त्यस्तो समस्यालाई समाधान गर्न सकिने उनले बताइन् । अहिले जिल्लाका उमेर नपुगी बाल विवाह गरेको पाइएमा विवाह रोकेर केटा र केटीलाई अलग अलग राख्ने गरिएको छ ।
यस्तै सहकारीले आफ्नो कार्यक्षेत्रमा रहेको वडामा जोखिममा परेका बालबालिकाहरुलाई बर्षरी सहयोग गर्ने गरेको छ । जोखिममा परेका बालबालिकाहरुलाई बर्षको एक पटक सहयोग गरि उनिहरुको शिक्षा, स्वास्थ्य लगाएतका विषयमा सहजता भएको प्रबन्धन वलीले जानकारी दिइन् । उनका अनुसार सहकारीको दुई वटा वडामा यस बर्ष जोखिममा परेका १२ जना बालबालिकाहरुलाई आर्थीह सहयोग गरेको छ । यस्तै सहकारीले १३ जना बालबालिकाहरुलाई बाल अनुदान समेत प्रदान गरेको छ ।
सहकारीको आम्दानीबाट खर्च बटाएर बालबालिकालाई सहयोग गर्ने गरेको सहकारीले जनाएको छ । सहकारीको घुम्ती कोषबाट भएको आम्दानीको ५० प्रतिशत रकम बालबालिकाको क्षेत्रमा खर्च गरेको सहकारी स्रोतले बताएको छ । यस बर्ष सहकारीको कुल आम्दानीबाट १७ हजार बाल क्लबहरुलाई सहयोग गरिएको छ ।
सहकारीका अनुसार सहकारीमा आबद्ध सदस्यहरुले सहकारीबाट ऋण लिएर विभिन्न पेशा व्यवसाय संचालन गरिरहेका छन् ।
सहकारीबाट ऋण लिएर स्थानीय लोकेन्द्र खड्का, जय बहादुर खड्का, चक्र डांगी लगाएतले व्यवसायीक तरकारी खेती गरिरहेको सहकारीले जनाएको छ । व्यवसायीक रुपमा तरकारी खेती सचालन गरेका सदस्यहरुले बार्षिक ५लाख सम्म आम्दानी गर्ने गरेका छन् । यस्तै तरकारी खेती बाहेक मिल संचालन, बाख्रा पालन लगाएतका व्यवसाय संचालन गरेको सहकारीका प्रबन्धक इश्वरी खड्का वलीले जानकारी दिइन् । तरकारी खेतीका लागि उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले पनि सहकारी मार्फत सहयोग गरेको छ ।
सहकारीको हाल सम्म कुल बचत ७८ लाख पुगेको छ । यस्तै सहकारीले १ करोड ६२ लाख रुपैया लगानी गरेको छ भने सहकारीको बाह्य लोन १८ लाख ७५ हजार रहेको वलीले बताइन् ।

प्रतिक्रिया