सत्यकथाः सौन्दर्य-दुःख

सत्यकथाः सौन्दर्य-दुःख

राधा पोखरेल

न्जू अर्थात् मेरी बालसखी । सानैदेखि अचाक्ली राम्री । गुडिया जस्तै । उसको सुन्दरता देखेर भुतुक्क हुन्थेँ म । डाहा नै लागेर आउँथ्यो । अन्जूका बा–आमा गरिब रहेछन् । त्योबेला गरिब हुनुको अर्थ न हामीलाई थाहा थियो न अन्जूलाई । थाहा नभएपछि मतलब हुने कुरा पनि भएन । पसल्नी हजुरआमाले भुइँतिर थुक्दै भन्न थालिन्, ‘छिछिछि ! बाहुनी भएर हेर हेर सर्किनीको जूठो खाकी ! कस्तो घिन नलाग्या ।’मधेसको ठाउँ । गर्मी महिना । सायद भदौ हुनुपर्छ । स्कूल नजिकै सर्वत बेच्ने सानो पसल थियो । हामी सर्वत खान गयौंं अन्जू र मैले एउटै गिलासमा खायौं ।

मैले पसल्नी हजुरआमाको कुरा बुझिनँ । वास्तै गरिनँ । फेरि खान थाल्यौं । हजुरआमा फेरि बर्बराइन्– हैन तिमी पोखरेलकी छोरी राधा होइन ?’

हजुरआमाले मलाई नै भनेको रहेछ भन्ने पक्का भयो । मैले टाउको हल्लाएर ‘हो’ भनेँ ।

‘सर्किनीको जूठो पनि खाने हो त ?’

हजुरीले हप्काइन् । हजुरीको कुरा फेरि पनि बुझिनँ र हजुरीलाई ट्वाँ परेर हेरिरहें ।

‘बुझिनौ ? ठूलो जातले सानो जातको जूठो खानुहुँदैन । यो त पानी पनि नचल्ने सर्किनी पो हो त ! सानो जातकी । अछुत,’ अन्जूलाई देखाउँदैं हजुरीले भनिन् ।

हजुरीको कुरा सुनेर हामी पाँचैजना ट्वाँ पर्यौँ । हामीलाई कुरा सुनेर रीस उठेन । हामी सबैजना खितितिति… हाँस्यौँ । हजुरी पनि के बुझेर हो कुन्नि ‘छँडुलीहरू’ भन्दै हामीसँगै हाँसिन् ।

घरमा गएर मैले आमालाई पसल्नी हजुरीको कुरा सुनाएँ । आमा पसल्नी हजुरआमा जसरी न त रिसाउनु भयो, न त हाँस्नु नै भयो । बरू मलाई सम्झाउन लाग्नुभयो– ‘यस्ता जातपातको कुरा बुझ्ने उमेर भा’छैन तिम्रो । धेरै चासो नलिनू । जसको भए पनि जूठो चाहिँ नखानू । जूठो खाँदा अर्काको रोग सर्छ ।’

आमाको कुराले म झन भ्रमित भएँ ।

अन्जू स्कूलमा सबभन्दा राम्रो नाच्थी । सरस्वतीपूजाको दिन उसको नाच हेर्न घर–घरबाट अभिभावकहरूसमेत आउँथे । सबैले “हिरोनी“ हुन्छे भनेर प्रसंशा गर्थे । ऊ पनि मख्ख पर्थी । ऊ भन्दा बढी उनकी आमा मख्ख पर्थिन् । उनलाई नाच्न सिकाउने उनकै आमा थिइन् ।

के हो बाहुनी ? के हो सर्किनी ? के हो सानो जात ? के हो अछुत ? मेरो कलिलो टाउकोमा केही छिरेन । अन्जू पनि मजस्तै थिई । छालाको रंग र अनुहारको बनावट मात्रै थोरै फरक । अन्जू पनि खुसी हुँदा मजस्तै हाँस्थी । दुखी हुँदा मजस्तै रून्थी । रिसाउँथी । ठुस्किन्थी । सबै मजस्तै ।

सबभन्दा अचम्मलाग्दो कुरा त उसको र मेरो रगत पनि एउटै रंगको थियो । अनुहारमा मभन्दा राम्री थिई । नाच्न सबैभन्दा बढी उसैलाई आउँथ्यो । अनि अन्जू कसरी सर्किनी ? कसरी अछुत ? म कसरी बाहुनी ? छुत ? यी प्रश्नहरूले मलाई सधैँ चिमोटिरह्यो ।

जे भए पनि मेरो दोस्ती छुटेन । अन्जूप्रति मभित्र झन अनौठो अनुराग पैदा हुँदै गयो । यस्तैमा म गम्भीर बिरामी परेँ । त्यतिबेला १३ बर्षकी थिएँ म । उपचारका लागि म काठमाण्डौं आएँ । त्यसपछि फर्केर गाउँ जान सकिनँ । यतै पढ्न थालेँ ।

नृत्य प्रतिस्पर्धामा अन्जू देशका विभिन्न ठाउँमा पुगेको कुरा थाहा पाइरहन्थेँ । कहिलेकाहिँ कुरा पनि हुन्थ्यो । खुसी लाग्थ्यो । प्रगतिको लागि शुभकामना र बधाइ दिन्थेँ । ऊ खुसी हुन्थी ।

यस्तैमा एकपटक अन्जू काठमाण्डौं पनि नृत्य प्रतिस्पर्धाकै लागि आई । फोन गरी । भेटघाट गर्यौं । हाम्रो खुसीको आकाश सीमाहीन भएर फैलियो ।

त्यस्तो खुसीको क्षणमा पनि अन्जू बेलाबेला झस्किन्थी । उसको अनुहार एकाएक परिवर्तन हुन्थ्यो । सजग हुन्थी । सम्हालिन्थी । नसोधौंजस्तो लागेको थियो । तर, नसोधी बस्न सकिनँ । सोधेँ– “कोहीसँग चक्कर चल्या छ कि क्या हो ?“ शुरूमा त होइन भनेर टारी । तर, अन्त्यमा गली । र, भनी–

‘ऊ पनि डान्सर हो । झापाको एउटा कार्यक्रममा भेटेकी । मान्छे ह्याण्डसम छ । खोइ कसरी कसरी प्रेम गर्न पुगेछु भन्या … ।’

थोरै लजाई । अनुहारमा सूर्य उदायो । सूर्यमा कहिल्यै ग्रहण नलागोस् । मनमनै कामना गरेँ ।

‘फोटो होला नि, देखाऊ न ।’ फोटो हेर्ने मेरो रहर उसले पूरा गरी । मुटुको देब्रे कुनामा प्रेमपूर्वक सजाएकी आफ्नो प्रिय मान्छेको तस्बीर सजाएर राखेकी रहिछन् । साँच्चै, ह्यान्सी रहेछ । भनेँ– ‘तिमी जतिको चाहिँ अलि रहेनछ ।’ फोटो हेर्दै जिस्क्याएँ । उसको गालामा गुँरास फुल्यो । शरदको जून खुल्यो । भन्छन्– खुसी शब्दविनाको गीत हो । मैले उसको अनुहारमा फूल, जून र गीत एकैसाथ देखेँ ।

एकाएक पूर्णिमाकी जून जस्तो उसको अनुहारमा औंसी छायो । झस्किएँ म । बेकार सोधेंछु जस्तो लाग्यो । ऊ आफैँ सम्हालिई । एकछिन टोलाइ र लामो सास फेरी ।

‘राधा ! म कति गरीब छु तिमी साक्षी छ्यौ । त्यसमाथि म दलितकी छोरी । ऊ नेवारको छोरो । झापा र काठमाण्डौंमा बंगला छ भन्छ । सधैं महंगो गाडी चढेर हिँड्छ । धनी बाउको ऊ एकमात्र छोरो ।’ अन्जू एकछिन रोकिई । शंकाको बादलले अनुहार ढपक्क ढाक्यो । भनी– ‘के हाम्रो प्रेम जीवनभरि चल्ला त ?’

मैले उसलाई सान्त्वना दिएँ । ढाडस दिएँँ । शंका होइन, विश्वास गर भनेँ । सायद ऊ आश्वस्त भई ।

उसलाई केही कुरा भन्नैपर्छ भन्ने लाग्यो– अन्जू ! सुन्दरता नारीको लागि वरदान मात्र होइन, अभिशाप पनि हो । शारीरिक सुन्दरतामा आकर्षित हुने भँवराहरू दुनियाँमा पाइलैपिच्छे भेटिन्छन् । तर, मनैदेखि माया गर्नेहरू अझ अन्तरात्मादेखि माया गर्नेहरू औंलामा गन्ने भेट्न पनि मुस्किल छ । यदि उसले तँलाई साँच्चै मन र आत्मैदेखि प्रेम गरेको रहेछ भने जात र धनले केही फरक पार्दैन ।’

मेरो कुराले सायद ऊ दोधारमा परी । कसरी छुट्याउने– अन्तरात्मादेखिको प्रेम हो कि शारीरिक सुन्दरतामाथिको क्षणिक आकर्षण ?

फेरि थपें, “अन्जू ! हाम्रो समाजमा नारीका लागि पुरूषले कहिल्यै अग्निपरीक्षा दिनुपर्दैन । तर, नारीले पुरूषका लागि पाइलैपिच्छे अग्निपरीक्षा दिनुपर्छ । यो भगवानका पालादेखि चल्दै आएको चलन हो । म कामना गर्दछु– तेरो जीवनमा त्यस्ता क्षणहरू कहिल्यै नआउन् ।’

‘हामी नारीको सबभन्दा ठूलो कमजोरी भनेको नै हाम्रो कोमलता र प्रेमभाव हो । हामी नारी यो कमजोरीबाट मुक्त हुन सक्छौं कि सक्दैनौं मलाई पनि थाहा छैन । किनकि, प्रकृतिले नै हामीलाई यस्तै बनाइदिएको छ ।’ ऊ त रून पो थाली ।

‘भन् न अन्जु ! के भयो र ?“ मेरो प्रश्नको जवाफमा उसले आँसु मात्र पुछी । केहीबेरको सन्नाटा चिर्दै बोली “राधा ! धेरै सोचेर निर्णय गर्ने समय छैन मसँग । उसको प्रेमको चिनो मेरो पेटमा हुर्कदैंछ ।’ अन्जूको कुराले मभित्र स–सानो सुनामी नै आयो । निशब्द भएँ म ।

‘राधा ! गर्दिन भन्दैमा नगरिने र गर्छु भन्दैमा गरिने कुरा होइन रहेछ प्रेम । म साँच्चै उसलाई प्रेम गर्छु । उसले पनि मलाई प्रेम गर्छ । तर, ऊ आमाबाबु र समाजदेखि एकदमै डराउँछ । त्यही भएर कहिलेकाहिँ मेरो मुटुभित्र शूल उठ्ने गर्छ ।’

‘अन्जू ! जतिसक्यो चाँडो बिहे गर् । सके घरपरिवार सबैलाई मनाएर, नसके भगवानलाई साक्षी राखी मन्दिरमा गएर । जे होस् चाँडो बिहे गर् ।’

अलिकति खुसी र अलिकति शंका बोकेर अन्जूसँग छुट्टिएँ म ।

०००

तीन वर्षपछि ।

‘राधा !’

ठमेलको भीडभाडमा कसैको परिचित आवाज मेरो कानमा आएर ठोकियो । उनै मेरी बालसखी अन्जू रहिछे । चिन्नै मुस्किल । पोटिलो गालाभरि चाया र पोतो मात्रै । दुब्लाएर सिन्को जस्तै । तीन वर्षमा यत्रो अकल्पनीय परिवर्तन ?

ठमेलको एउटा क्याफेमा बस्यौं । कफीको गुलियो स्वादसँगै जीवनको टर्रो कुरा ह्वारह्वार्ती पोख्न थाली अन्जूले– ‘राधा ! अब मलाई कोहीसँग डर छैन । आमाबाबु, घरपरिवार, समाज, नियम, कानुन, धर्म, संस्कृति… हो, मलाई अब कोहीसँग डर छैन । तिमीले सोचेकी हौली, अञ्जूले आत्महत्या गर्छे । अहँ, म आत्महत्या गर्दिनँ । म स्वतन्त्र छु । त्यसैले कोहीसँग डराउदिनँ ।’

मेरो बोल्ने पालो आउलाजस्तो छाँट देखिनँ । हाँडीमा मकै पड्किए जसरी फेरि पड्कन थाली ‘राधा ! तिमीसँग भेटेको महिना दिन नबित्दै मन्दिरमा गएर बिहे गर्यौं । १५ दिन जति कोठाबाट बाहिर पनि ननिस्की बस्यौं । त्यसपछि घरबाट उसको खोजी चारैतिर सुरू भयो । ऊ विदेश गएको बाहना बनाउँदै घर फर्कियो । र, दुई दिन नबित्दै मकहाँ आयो एउटा नयाँ प्रस्ताव लिएर ।’

नयाँ प्रस्ताव सुन्न मेरो कान चंख भए ।

उसले भन्यो, ‘सारै अप्ठेरो पर्यो । एबोर्सन गरौं । भगवान साक्षी राखेर तिम्रो सिउँदो भरेको छु । भगवान कसम धोखा दिन्नँ । मैले मानेकै थिइनँ । सारै रोइकराई गर्यो । अन्तिममा म पग्लिएँ । भोलिपल्टै एबोर्सन गरायौं । त्यसपछि ऊ खुसी भयो । म दुखी भएँ ।

त्यसपछि झन्नै छ महिनासम्म आउजाउ चलिरहेकै थियो । तर, उसले घरमा केही भनेको थिएन । विस्तारै उसको व्यवहार परिवर्तन हुन थाल्यो । मकहाँ आउन पनि छाड्यो । गर्दागर्दै फोन पनि बन्द ग¥यो । फेसबुक एकाउन्ट पनि ब्लक गर्यो । एक्लै बस्न गाह्रो भएपछि म माइत गएँ । त्यहाँ पनि धेरै बस्न सकिनँ । फेरि फर्किएर आएँ ।

म आउँदा कोठामा सामान थिएन । सामान उठाएर उसले लगिसकेको रहेछ । अरू नै आएर बसिसकेको रहेछ । काठमाण्डौं मेरा लागि बिरानो भयो । राधा ! त्यसपछि बास पाइनँ मैले यस पापी शहरमा ।’

ऊ डाँको छाडेर रून थाली । वरिपरि टेवलका मान्छेहरूले हामीलाई हेर्न लागे । त्यसपछि हामी अर्को क्याफेमा स¥र्यौं ।

अन्जूको ओठबाट अनियन्त्रित रूपमा शब्दहरू पोखिने क्रम जारी थियो ।

‘त्यसपछि म उसको बंगलामा पुगेँ । आफ्नो हकदाबी गरेँ । त्यस भव्य बंगलामा म अपमानित मात्र भइनँ, बर्बर अत्याचार पनि भोग्नुप¥यो । मेरो टाउको फुट्यो । शरीरभरि नीलडाम भयो । म त्यहाँबाट रूँदैरूँदै सडकमै फर्किएँ ।

अदालत जान मसँग उसकी श्रीमती भएको कुनै प्रमाण थिएन । पहुँच थिएन । सडककी थिएँ, सडकमै आइपुगेँ । पटकपटक आत्महत्या गर्ने सोचाइ बनाएँ । तर, किन हो कुन्नि जीवनदेखि असाध्यैै माया लागेर आयो । आत्महत्या गरिनँ ।’

अन्जूको अनुहारमा चट्टानजस्तै कठोरता देखियो । जीवनमा आशाको आकाश खुल्यो । ‘त्यसपछि म अहिले यही ठमेलको डान्सबारमा नाच्न थालेकी छु । (नाच्न ऊ सानैदेखि सिपालु थिई) साँच्चै म स्वतन्त्र भएकी छु । म बाँच्न चाहन्छु । बाँच्न मात्र होइन, यो पक्षपाती समाजको विरूद्ध संघर्ष पनि गर्न चाहन्छु । चाहे म बेश्या नै किन बन्न नपरोस् ।’

मलाई यो पक्षपाती समाज देखेर अचाक्ली घृणा जागेर आयो । संविधानमा लेखिएको नारी–पुरूष समानताको धारा केवल शब्दको थुप्रो मात्रै लाग्यो । जातपात, छुवाछुत सामाजिक अपराध भन्ने कुरा कोरा नारा मात्रै लाग्यो ।

मैले स्कूल अगाडि सर्वत बेच्ने हजुरीलाई सम्झिएँ । अन्जूको जीवन पढेपछि बाहुनी र सर्किनीबीचको भिन्नता थाहा पाएँ । धनी र गरीबबीचको असली अर्थ पत्ता लगाएँ । नारी राम्री हुनुको पीडा पनि बोध गरेँ । मेरी आमाले ठूली भएपछि पछि बुझ्छेस् भनेको कुरा पनि बुझेँ ।

हो, मैले सबै थाहा पाएँ । बुझेँ । पत्ता लगाएँ । यो भन्दा बढी अब मलाई बुझ्नु छैन ।

हामीले अन्तिम कप कफी मगायौं । धेरै बर्ष पहिला हजुरआमाको पसलमा जसरी सर्वत एउटै गिलासमा खाएका थियौँ, त्यसरी नै एउटै कपमा हामीले कफी खायौँ ।

छुट्टिदैँ गर्दा उनको पिठ्युँमा धाप मार्दै भनेँ– ‘अन्जू ! आजदेखि तिमीलाई सर्किनी र मलाई बाहुनी बनाउने यो पक्षपाती समाज स्वीकार्य छैन । हामी मान्छे हौँ मान्छे ! सृष्टिको सुन्दर सिर्जना ! अनि हामी पुरूषको चरणको दासी होइनौँ । एक्काईसौं शताब्दीका नारी हौँ । एकदिन यो पक्षपाती समाजलाई हामी हाम्रो पहिचान दिन अबश्य सफल हुनेछौँ ।’ हामी एउटा संकल्पसहित क्याफेबाट छुट्टियौँ ।

अनलाइनखबर बाट साभार

प्रतिक्रिया