प्रदेश सरकारप्रति विभिन्न क्षेत्रका अगुवाहरूको धारणा

प्रदेश सरकारप्रति विभिन्न क्षेत्रका अगुवाहरूको धारणा

प्रदेशसभा र सरकार बनेसंगै आम नागरिकमा नयॉ उत्साह छ । प्रदेश राजधानी सुर्खेतको छिमेकी जिल्ला दैलेखमा विकासले गति लिनेमा स्थानीय आशाबादी छन् । स्थानीय सरकारलाई सशक्त बनाउँदै प्रदेश सरकार अघि बढ्न सके विकासले गति लिने उनीहरूको अपेक्षा छ । प्रस्तुत छ, प्रदेश सरकारप्रति विभिन्न क्षेत्रका अगुवाहरूको धारणा :

प्रदेश सरकार बनेपछि हामी विकास र समृद्धिले गति लिनेमा आशावादी छौं । स्थानीय सरकार गठन भएपछि केही सामान्य समस्याबाहेक स्थानीयले राहतको महसुस गरेका छन् । साना कामको लागि राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । प्रदेश सरकारले दैलेखको विकास र समृद्धिलाई ध्यान दिन जरुरी छ । दैलेखमा कृषि र जडिबुटीको पर्याप्त सम्भावना छ । यहाँका सम्पदाको संरक्षण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक छ जसले आन्तरिक र बाह्य पर्यटक भित्र्याएर जिल्लाको अर्थतन्त्रलाई मजबुत बनाउँछ ।
***
२० वर्षपछि स्थानीय सरकार पाइएको छ परिस्कृत व्यवस्थासहित । स्थानीय स्तरबाट जनताले विभिन्न सेवा सुविधा पाउन सहज भएको छ । प्रदेश राजधानीसंग जोडिएको जिल्ला भएकाले दैलेखले फाइदा पाउन सक्छ । तल्लो तहबाट यहाँको विकास गर्न जरुरी छ । त्यसका लागि प्रदेश र स्थानीय सरकार तयार हुन जरुरी छ । निर्णयहरूको प्रभावकारी कार्यान्वयन हुन जरुरी छ । वर्षौंदेखि खेर गएको पेट्रोलियम पदार्थको उत्खनन अबको सरकारले गरोस् । पञ्चकोसी तीर्थस्थल ६ नं प्रदेशको नमुना हो । ४ हजार २ सय मिटर उचाइमा रहेको महाबु लेकलाई पर्यटकीय र धार्मिक आस्थाको केन्द्र बनाउन सकिन्छ । त्यस्तै ६ नम्बर प्रदेशलाई कृषि र पर्यटनको हब बनाउन सकिन्छ ।
***
अहिलेको संघीय संरचनाअनुसार प्रदेश राजधानीसंगै दैलेख जोडिएको छ । स्वास्थ्यसेवाको पहुँच ग्रामीण क्षेत्रमा कम छ । जिल्लामा विकासका पूर्वाधारको निर्माण गर्न जरुरी छ । दैलेख प्राकृतिक स्रोत र साधनमा समेत धनी भएकाले यसलाई जिल्लाको समृद्धिसंग जोड्न सकिन्छ । ग्रामीण क्षेत्रसम्म सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश सरकारले पहल गर्न जरुरी छ ।
***
बेरोजगार युवाका लागि आफ्नै ठाउँमा श्रम र रोजगारी गर्ने अवसर प्राप्त होस् । पर्यटन, कृषि, जडिबुटी र जलविद्युत्को विकास गर्नसके रोजगारीको लागि वैदेशिक रोजगारीमा जान पर्दैन । दैलेखका ११ स्थानीय तहबाटै जडिबुटी प्रशोधन गर्न सके आर्थिक विकासले गति लिनेछ । सुर्खेतको बुलबुले, दैलेखको महावु र पञ्चकोसी धाम, जुम्लाको चन्दनाथ, मुगुको रारालाई जोडेर पदमार्ग बनाउन सके प्रदेश ६ देशकै नमुना पर्यटकीय क्षेत्र बन्न सक्छ ।
***
मैले १५ वर्षदेखि मतदान गर्दै आइरहेकी छु । धेरै सरकार परिर्वत भए । धेरै उम्मेदारलाई भोट दिएर चुनाव जिताइयो तर, कसैले पनि जिल्लालाई समृद्ध बनाउन सकेनन् । हामीले न लालपुर्जा पायांै न हाम्रो समुदायको स्तरोन्नति भयो । रोजगारी छैन । हातमा अन्य सीप छैन, पुख्र्यौली पेसाले जीविकोपार्जन गर्न समस्या भयो । स्थानीय सरकार आएको ११ महिना बित्यो तर, हामीलाई कसैले वास्ता गरेनन् । वर्षौंदेखि शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सुविधाबाट वञ्चित छौं । प्रदेश सरकारले हाम्रा लागि व्यवस्थित बास र जीविकोपार्जनको व्यवस्था गरोस् ।
***
दैलेखका सबै क्षेत्रमा व्यावसायिक कृषिको राम्रो सम्भावना छ । तर बजारीकरणको समस्याले यहाँका कृषकहरू कृषि पेसा छोडेर अन्यत्र पलायन भएका छन् । वार्षिक एक करोडसम्मको तरकारी बिक्री गर्न सक्ने किसानको पेसा धरापमा परेको छ । बारीमा अर्गानिक तरकारी उत्पादन गरिरहेका छौं । यो क्षेत्रलाई अर्गानिक कृषिको पकेट क्षेत्र बनाउन सकिन्छ । किसानहरूले समयमै मल, बिउ, बजार पाउनसक्ने वातावरण बनोस् । कृषि पूर्वाधारको विकास भए युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य हुन्थ्यो ।
***
प्रदेश सरकार गठनसंगै हामीले धेरै सपना बुनेका छौं । हरेक निकायमा महिलाहरूको अर्थपूर्ण सहभागिता जरुरी छ । पहुँच नपाएका महिलाहरूको आर्थिक स्तरउकास्न र उनीहरूका लागि क्षमता अभिभृद्धिका कार्यक्रम सञ्चालन गर्न जरुरी छ । ग्रामीण क्षेत्रका महिलाहरूको सशक्तीकरणका लागि प्रदेश सरकारले विशेष कार्यक्रम लागु गर्न जरुरी छ । समग्र प्रदेशलाई समृद्ध बनाउन शिक्षा, स्वास्थ्य, अर्थ, वाणिज्य, कृषिलगायत विकासका पूर्वाधारको विकास गर्न जरुरी छ ।
कान्तिपुर

प्रतिक्रिया