संरक्षण अभावमा ऐतिहासिक गुफा

संरक्षण अभावमा ऐतिहासिक गुफा



दैलेख २ चैत- दैलेख गुराँस गाउँपालिका ७ उगाडामा ऐतिहाँसिक गुफा पत्ता लागेको धेरै बर्ष भयो । यसको संरक्षण र सम्वद्र्धन हुन सकेको छैन् । गुफा यस गाउँमा रहेको उगाडे खोलादेखि करिब दुई किलोमिटर सम्म फैलिएको छ । यहाँ स्थानिय बुढापाकाहरुका अनुसार सयौं बर्ष पहिले यस गुफामा छिरेका पाँच सय भेडा र पाँच जना भेडा गोठाला मध्ये एउटा भेडामात्र बाहिर निक्लिएको र बाँकी त्यही गुफामा हराएका थिए । गुराँस गाउँपालिका वडा नं. ७ उगाडाका उदय थापाले भने, ‘मेरो बुवा बाजेले भन्नुहुन्थ्यो, पाँच जना गोठाला भेडा चराउन गएका रहेछन्, र गुफाभित्र भेडा सहित पसेछन्, पछि एउटा भेडा मात्र बाहिर निक्लिएछ अरु सबै त्यही हराएछन् ।’
गुफाभित्र छिर्ने ठाउँ सानो भएको भन्दै स्थानिय लालबहादुर विसीले गुफाभित्र छिरेपछि ठुलो ठाउँ रहेको बताए । उनले भने ‘गुफाभित्र पुरै गएको छैन, शुरुमा सानो प्वाल छ, अनि भित्र गएपछि ठुलो क्षेत्र छ ।’ उनले थपे ‘म जान खोजे तर जान सकिन । अर्का स्थानिय सुमन खड्काका अनुसार गुफाभित्र छिरिसकेपछि करिब दुई किलोमिटर लम्बाई भएको बताए । यो गुफालाई संरक्षण सहित स्थानिय सरकारले पर्यटकहरु ल्याउन पहल गर्नुपर्ने स्थानियले माग गरेका छन् । उनिहरुले यसको महत्व बुझ्दै गाउँपालिका तथा पर्यटन क्षेत्रमा काम गर्ने निकायहरुले यसलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । यस क्षेत्रमा सवारी संचालनको सडक सञ्जाल भर्खर मात्र पुगेको छ ।

प्रतिक्रिया