एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण

 परीक्षा नियन्त्रण कार्यालयद्वारा गल्ती स्वीकार

काठमाडौँ — एसईई परीक्षाको शनिबार सार्वजनिक नतिजा त्रुटिपूर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले स्वीकार गरेको छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो ।कार्यालयले आइतबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या देखिएकाले पहिले ग्रेडसिट डाउनलोड गरिसकेका परीक्षार्थीले पुनस् डाउनलोड गर्न अनुरोध छ ।’

आइतबार दिनभर विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयले ग्रेडसिट प्रिन्ट गर्दा फरक–फरक जीपीए आएपछि कार्यालयलाई जानकारी गराएका थिए । त्यसलगत्तै बसेको परीक्षा बोर्डको बैठकले त्रुटि सच्याउने निर्णय गरेको थियो ।परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिक त्रुटिका कारण नतिजामा गडबडी आएको स्वीकार गरे । ‘नेपाल टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा ग्रेडसिट हेर्ने व्यवस्था गरेका थियौं,’ उनले भने, ‘कार्यालयको साइटले डाटा सपोर्ट नगर्दा समस्या भयो ।’ टेलिकमको साइटले भने आधिकारिक ग्रेडसिट देखाएको उनको दाबी छ । विषयअनुसारको ग्रेड प्वाइन्ट सफ्टवेयरले सपोर्ट नगर्दा समस्या आएको कार्यालयका प्राविधिकहरूको भनाइ छ ।

‘पहिले हेर्दा थोरै थियो, पछि ग्रेड बढेर आएको छ,’ काठमाडौं प्याब्सनका सदस्य विष्णुप्रसाद अर्यालले भने, ‘कुनचाहिँलाई विश्वास गर्ने रु’ एसईईजस्तो परीक्षाको नतिजामा भएको चरम लापरबाहीले परीक्षार्थी र अभिभावकले तनाव भोग्नुपर्यो ।

लिटिल स्टार स्कुल सतुंगलकी ०३००६५३ ‘ओ’ सिम्बोल नम्बरकी छात्रा जस्मिना गौतमको आइतबार बिहान रिजल्ट हेर्दा ३।९० जीपीए थियो । तर परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमा दिउँसो पुनस् रिजल्ट हेर्दा ४।० जीपीए देखियो । यसबाट शिक्षक र अभिभावकसमेत छक्क परे । अरू विद्यार्थीको पनि ग्रेटसिट पुनस् हेर्दा जीपीए बढेको भेटियो । ‘३५ विद्यार्थीमध्ये २० जनाको जीपीए बढेर आयो,’ शिक्षक निर्मल घिमिरेले भने, ‘यस्तो पनि हुँदो रहेछ भनेर हामी आश्चर्यमा पर्यौं ।’

सिम्बोल नम्बर ०३१७२७१ ‘एस’ भएकी अर्की छात्राको ग्रेडसिट पनि बढेको छ । सुरुमा हेर्दा उनको ग्रेडसिटमा ३।९० जीपीए थियो । पछि ३।९५ देखियो । ‘विद्यार्थीले आस गरेजस्तो नतिजा नल्याउँदा परीक्षा बिगारेको अनुमान गरेका थियौं,’ एक शिक्षकले भने, ‘परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले पो यस्तो भएको रहेछ, रिजल्ट पनि केटाकेटी खेलेजस्तो भयो ।’

कार्यालयको त्रुटिले विद्यार्थी तथा अभिभावकले शनिबार र आइतबार तनावमा बिताए । आशा गरेअनुसारको नतिजा नआएपछि कतिपयले त पुनर्योगको योजना बनाइरहेका थिए । दुई थरी ग्रेटसिट भेटिएपछि कुन आधिकारिक हो भनेर पनि उनीहरू अन्योलमा परे । ‘लाखौं विद्यार्थीको नतिजा प्रकाशन गर्दा यस्तो गल्ती गर्नु राष्ट्रको छवि नै गिराउनु हो,’ बुटवलका एक शिक्षकले टेलिफोनमा कान्तिपुरसँग भने ।
विषयअनुसार ग्रेड प्वाइन्ट फरक पर्दा जीपीए बढेर आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया