नारायण नगरको बजेट ४५ करोड

नारायण नगरको बजेट ४५ करोड

दैलेख – जिल्लाको सबैभन्दा पुरानो नगरपालिका नारायण नगरपालिकाले दोस्रो नगरसभा सम्पन्न गरेको छ । समग्र नगरपालिकाको आर्थिक सामाजिक, पूर्वाधार र पर्यटन प्रर्बद्धन लगायतका विषयमा ४५ करोड ७ लाख ४३ हजार रकमको बजेट नगरसभाबाट पारित गरिएको हो ।

नगरसभाका अध्यक्ष एवं नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले सभामा बजेटबारे जानकारी गराएका हुन् । प्रस्तुत बजेट अनुसार पूर्वाधारतर्फ ४ करोड ८२ लाख, आर्थिक विकासका लागि २ करोड ६५ लाख, सामाजिक विकासका लागि २ करोड २० लाख, वन तथा वातावरणतर्फ १ करोड २५ लाख, सुशासन तथा संस्थागत विकासतर्फ १ करोड २५ लाख रकम विनियोजन गरिएको हो ।
बजेटमा संघबाट प्राप्त हुने सशर्त अनुदान तर्फ १९ करोड ५४ लाख वित्तीय समानीकरण तर्फ १ करोड ८२ लाख, राजश्व बाँडफाँडबाट प्राप्त रकम ६ करोड ६६ लाख, सामाजिक सुरक्षा भत्ता ३ करोड ८० लाख, प्रदेशबाट प्राप्त वित्तीय समानीकरण ५२ लाख, राजश्व बाँडफाँड अन्तर्गत १२ लाख ८४ हजार, आन्तरिक आम्दानी एक करोड, सडक बोर्ड नेपालबाट ४५ लाख र बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत १४ लाख ६७ हजार बजेट प्राप्त हुने उल्ले छ । कुल बजेट मध्ये प्रशासनिक खर्चतर्फ ८ करोड ९६ लाख र पुँजीगत खर्च १२ करोड १७ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया