विवादित कानुन मन्त्री तामाङले दिए राजीनामा

विवादित कानुन मन्त्री तामाङले दिए राजीनामा

काठमाडौँ – बंगलादेशमा अध्ययन गर्ने नेपाली छात्राहरुप्रति आपत्तिजनक अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले आफूले बोलेका शब्दहरुप्रति क्षमा माग्दै राजीनामा दिएका छन्। 

उनले घ्वाँक्कघ्वाँक्क रुँदै सामान्य कमीकमजोरीलाई मूल विषय बनाएर  दुष्प्रचार गरिएको दुख प्रकट गरे। निरन्तर नेपाली नारीहरुको सम्मानमा अगाडि बढेकाले बिरोधीहरुले नारीकै विषयमा आफुलाई लखेटेको उनले बताए। उनले भने, ‘महिला मलाई जन्माउने आमा हो, मेरो जीवन साथी हो र हामीले जन्माएका छोरी पनि महिला हुन्। त्यसैले पनि मलाई महिला प्रति उच्च सम्मान छ।’

बंगलादेशमा डाक्टर पढ्न गएका छात्राहरु शरीर बेचेर मात्र सर्टिफिकेट ल्याउँछन् भन्ने अभिव्यक्ति दिएपछि विवादित बनेका तामाङले पार्टीको निर्देशनपछि राजीनामा दिएका हुन्। श्रीमती उषा कला राईसहित पत्रकार सम्मेलनमा उपस्थित भएका तामाङ राजीनामा दिने घोषणा गर्दा भावुक बनेका थिए।

‘गरिब गाउँबाट हुर्केर जन्मेर जनताको सेवामा आएको छु र जीवन रहेसम्म जनताको सेवामा लागि नै रहने छु,’  कानुनमन्त्री तामाङले भने। 

उनले आजसम्म जीवनमा एक रुपैयाँ पनि भष्ट्राचार नगरेको भन्दै उनले आफू र आफ्नी पत्नी उषाकला राई संविधान सभामा महिलाको अधिकारका लागि कानुन बनाउन निरन्तर लागेको दाबीसमेत गरे। जानीजानी नियतबश कुनै गल्ती नगरेको तामाङको भनाइ थियो।

उनले पत्रकार सम्मेलनमा ४ महिनामा गरेका काम मौलिक हक कार्यान्वयन गर्ने सन्दर्भमा चाहिने सम्पुर्ण कानुनहरु निर्माण गरेको बताए। उनले सार्वजनिक पद धारण गर्नेले पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन बनाएकोसमेत पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतिक्रिया