डा.केसी पक्ष र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति

डा.केसी पक्ष र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति

काठमाडौं : २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर वार्ता टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिने काम भइरहेको सरकारी वार्ता टोलीका सदस्य केदार न्यौपानेले जानकारी दिए । ‘अब छिट्टै सहमतिलाई औपचारिक रुपमा सार्वजनिक गर्नेछौँ’, सदस्य न्यौपानेले भने । मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो । प्रधानमन्त्री केपी शर्म ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो ।

डा. केसी चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएपछि असार १९ गते जुम्लाबाट अनसन सुरु गरेका हुन् । यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरेपछि अनसन बस्न केसी जुम्ला पुगेका थिए ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई सरकारले सेनाको हेलिकोप्टरबाट गत बिहीबार अनसनको २० औं दिनमा राजधानी ल्याएको थियो। यो केसीको १५ औं अनसन हो । केसीले अनसन सुरु गरेको बिहीबार २७ दिन पुगेको छ। सात बुँदे सहमतिको मस्यौदालाई अनसनरत डा. गोविन्द केसीले हेरेपछि मात्र दुई पक्षले हस्ताक्षर गर्नेछ । वार्ता टोलीसँगै सहमतिको मस्यौता लिएर नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ केसी अनसनस्थल टिचिङ अस्पताल जाँदैछन् । केसीसँगको वार्तालाई सफल बनाउन प्रधानमन्त्रीको तर्फबाट नेम्वाङ सक्रिय छन् । उनकै पहलमा डा. केसी पक्ष र सरकारी वार्ताटोलीबीच वार्ताको वातावरण बनेको थियो ।

प्रतिक्रिया