बालिका बलात्कार–संवेदनशीलता खोई ?

बालिका बलात्कार–संवेदनशीलता खोई ?

पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु बढ्दै गएका छन्। एक पछि अर्को गर्दै बलात्कारका थुपै्र घटना सार्वजनिक भइरहेका छन् । बलात्कार आफैँमा जघन्य अपराध हो । त्यसमाथि बालिकाको बलात्कार बढी नै अमानवीय अपराध हो । बालिकाको बलात्कारपछि हत्या त झन् मानवता विरुद्धको भयावह अपराध हो । बालिका बलात्कारका घटनामा राज्यका सबै संयन्त्र अत्यन्त संवेदनशील हुनुपर्ने हो तर, नेपाल प्रहरी लगायत राज्यका अंगहरूमा बलत्कारका घटनामा आवश्यक र उचित संवेदनशीलता देखिँदैन ।

बलात्कारका कतिपय घटनामा प्रहरीले जाहेरी लिन नमान्ने वा आफैँ अग्रसर भएर मिलापत्र गराउने जस्ता कानुन विपरीत हुने काम गरेको थुप्रै घटनाहरु विगतमा सार्वजनिक भइसकेका छन् । तैपनि, प्रहरीमा बलात्कारका घटनामा आवश्यक संवेदनशीलता नदेखिनु चिन्ताको विषय बनेको छ । बलात्कार पीडित दलित, अपांगता भएका, बालबालिका र गरिब भएमा त झन् प्रहरीले ध्यानै नदिने गरेको देखिएको छ । बलात्कारको मुद्दा सरकारवादी हुने भएकाले पनि प्रहरीले बेवास्ता गर्दा पीडितले न्याय नपाउने र पीडक सजायबाट उम्कने हुन्छ ।
संसदमा सार्वजनिक महत्वको प्रस्ताव राख्ने विपक्षी सांसदहरूले समेत कञ्चनपुरमा भएको बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा अपेक्षित गम्भीरता देखाउन सकेनन् । सत्ता पक्षका सांसदहरूले त झन् विपक्षीले जति पनि संवेदनशीलता देखाएनन् ।  कञ्चनपुर घटनामा प्रहरीले अपराधी जोगाउन खोजेको आरोप स्थानीय जनताले लगाएका छन् । संगठनमाथि लागेको आरोपबाट मुक्त हुन पनि नेपाल प्रहरीले बलात्कारका घटनाहरुमा संवेदनशीलता देखाउनु जरुरी देखिएको छ ।

बलात्कार जस्ता अपराधका हकमा बढी संवेदनशील हुन पनि नेपाल प्रहरीले आफ्ना सबै सुरक्षाकर्मीलाई विशेष सजग गराउनु आवश्यक देखिन्छ । कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको शंका गरिएको घटनामा प्रहरीले बेलैमा आवश्यक र उचित संवेदनशीलता नदेखाउँदा नेपाल प्रहरीको संस्कृति र कार्यक्षमतामा प्रन उठेको छ । एक पछि अर्को गर्दै घटेका बालिका बलात्कारका घटनामा उचित छानविन गरि अपराधीलाई कानुनी कार्बाहीको दायरामा ल्याउनु पर्छ । यस अघि घटेका घटनामा पिडितले न्याय नपाउनु र पिडकले उन्मुक्ती पाउनुमा सरोकारवाला निकायहरुको संवेदनहीनताको एउटा पराकाष्ट हो । बलात्कारका घटनामा राज्यका हरेक निकाय, नागरिक समाज र सञ्चार माध्यम पनि गम्भीर हुनु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया