ओली सरकार ६ महिनामा ७ मुद्दामा चुक्यो : कांग्रेस

ओली सरकार ६ महिनामा ७ मुद्दामा चुक्यो : कांग्रेस

भाद्र ३, काठमाडौँ — कांग्रेसले केपी ओली नेतृत्वको सरकार ६ महिनामा ७ मुद्दामा चुकेको टिप्पणी गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले सरकार राष्ट्रियता, संघीयता, सुशासन, समृद्धिको यात्रालगायतमा मुद्दामा चुकेको समीक्षात्मक टिप्पणी सार्वजनिक गरेका हुन् ।

गतवर्ष फागुन ३ गते गठित वर्तमान सरकारले भदौ ३ आइतबार ६ महिना पूरा गरेको छ ।

१. राष्ट्रियता :
उग्र राष्ट्रवादको कारुणिक विसर्जन । निर्वाचनको मैदानमा मत माग्दै गर्दा उग्र राष्ट्रवादको लहरले ठूलो प्रभाव पारेको थियो तर सरकार गठनको केहि महिना नपुग्दै त्यसको सम्पूर्ण रंग बदलिन पुग्यो । खासगरी सरकारको नेतृत्व राष्ट्रवादको मुद्दामा नराम्रोसंग चुकेको तथ्य जगजाहेर छ ।

२. लोकतन्त्र :
लोकतान्त्रिक प्रक्रियामा आउनु, निर्वाचित हुनु र लोकतान्त्रिक संस्कृति अनुरुपको हुनुमा फरक हुन्छ । प्रतिपक्षका प्रति द्वेषयुक्त अभिव्यक्तिहरु, निषेधाज्ञा, मिडियामा बढ्दो हस्तक्षेप र नागरिक स्वतन्त्रता माथि अतिक्रमण मार्फत सरकारद्वारा प्रस्तुत प्रवृत्ति समग्रमा लोकतान्त्रिक संस्कृति अनुरुप किमार्थ होइन ।

३. संघीयता :
कमजोर गराउने, आलोचना बढाउने र असफल गराउने नियतमा देखियो संघीय सरकार ।

४. सुशासन :
विश्वविद्यालयका उपकुलपति माथि अपमानजनक ब्यवहार, सुन प्रकरणमा भनिएका ठूला माछाको उन्मुक्ति, अनि भ्रष्टाचारको सत्ता संरक्षीत विकेन्द्रीकरणले कम्युनिष्ट सरकारको सुशासनको चित्र प्रष्ट्याएको छ ।

५.मूल्यबृद्धि :
हिजो सर्वहाराको नारा आज सर्वहारालाई चर्को मुल्य उपहार । त्यसबारे प्रधानमन्त्रीबाट गैरजिम्मेवार जवाफ । स्थानीय तहमा कर आतंक हुदै गर्दा सिंहदरवारको उदासिन भूमिका ।

६. समृद्धि यात्रा :
सपनाको हवाई उडान तर नीति तथा कार्यक्रममा न इच्छाशक्ति देखियो न बजेट मार्फत त्यस्तो क्रमभंगको कुनै भिन्न कार्यक्रम आयो । ६ महिने उपलव्धीमा पुरानै प्रगतिका विवरण पनि समेटिएका छन् ।

७. न्यायालय :
प्रधानमन्त्रीको दोहोरो चरित्रको शिकार । कार्यपालिका र व्यवस्थापिकाको लाचार छायाँ बनाउने षड्यन्त्र ।

प्रतिक्रिया