राष्ट्रियसभामा बालबालिका सम्बन्धी विधेयक पेश

राष्ट्रियसभामा बालबालिका सम्बन्धी विधेयक पेश

ज्वाला संदेश,२०७५ भदौ १२ गते 

राष्ट्रियसभाको मंगलबारको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गरेकी हुन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको थियो ।

मन्त्री ढकालले संविधान, सर्वोच्च अदालतको नजिर र अन्तर्राष्ट्रिय सन्धि सम्झौतालाई आधार बनाएर विधेयक संशोधन गरिएको बताउँदै विधेयकलाई सकारात्मक रुपमा अगाडि बढाउन आग्रह गरे ।

प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद रामनारायण विडारीले सरकार, प्रहरी तथा प्रशासनलाई कर्तव्यबोध गराउनका लागि र राज्यले अनाहकमा दिने याताना रोक्नका लागि आएको संशोधन ठिक छ भने ।

सांसद् राधेश्याम अधिकारीले नेपालको संविधान, सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त, कानूनको सर्वमान्य सिद्धान्तअनुसार सामाजिक सुरक्षा विधेयक संशोधन गर्नुपरेको धारणा व्यक्त गरे ।

कानूनमन्त्री ढकालले प्रस्तुत गरेको ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ माथि दफाबार छलफलका लागि विधायन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले दफाबार छलफलका लागि विधायन समितिमा पठाउने स्विकृति दियो ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन, २०७४’ पेश गरेका थिए । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागू औषध कारोवारविरुद्ध सहयोग सम्बन्धी बिम्स्टेक महासन्धि’ टेबुल गरेका थिए । -रासस

प्रतिक्रिया