५४ प्रतिशत नेपालीलाई इन्टरनेट थाहा छैन

५४ प्रतिशत नेपालीलाई इन्टरनेट थाहा छैन

आम्दानी नभएका ६५ प्रतिशत नेपालीका हातमा मोबाइल

काठमाडौं   । 
नेपालका आधाभन्दा बढी जनसंख्यालाई इन्टरनेटबारे जानकारी नभएको एक अध्ययनले देखाएको छ । सूचना तथा प्रविधि क्षेत्रमा अनुसन्धान गर्ने संस्था लर्न एसियाले गरेको सूचना तथा सञ्चार प्रविधिको पहुँच र प्रयोगको अवस्था ९आप्टरएक्सेस० सम्बन्धी सर्वेक्षणले यस्तो तथ्य बाहिर ल्याएको हो । सर्वेक्षणले ४६ प्रतिशत नेपालीलाई मात्रै इन्टरनेटबारे जानकारी भएको देखाएको छ । त्यसमध्ये इन्टरनेट प्रयोग गर्ने ३४ प्रतिशत नेपालीले मात्र इन्टरनेट प्रयोग गर्छन् ।

२० भन्दा बढी मुलुकमा गरिएको यस्तो सर्वेक्षणले इन्टरनेटको सामान्य जानकारीसमेत नहुनेमा भारतीय ६५ प्रतिशत, पाकिस्तानी ६३ प्रतिशत, बंगलादेशी ६७ प्रतिशत रहेका छन् । त्यस आधारमा नेपाल छिमेकी मुलुकभन्दा अगाडि देखिएको छ । सर्वेक्षणअनुसार धेरै नेपालीले लामो समयसम्म इन्टरनेट प्रयोग गर्ने र सामाजिक सञ्जालको समाचारलाई विश्वास गर्ने गरेकोसमेत पाइएको छ ।

अप्रिल २०१७ देखि जुन २०१८ सम्म एसिया, अफ्रिका र ल्याटिन अमेरिकी क्षेत्रका १८ वटा देशमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा ३८ हजार व्यक्तिसँग ९० मिनेट लामो प्रत्यक्ष अन्तर्वार्ता गरिएको बताइएको छ । सर्वेक्षणले नेपालमा सातै प्रदेशका सयवटा वडामा १५ देखि ६५ वर्ष उमेरसमूहका २ हजार व्यक्ति तथा घरपरिवार समेटेको दाबी गरेको छ । सर्वेक्षणमा समेटिएका १८ वटा देशमध्ये नेपाल कुल राष्ट्रिय आयका आधारमा मोजाम्बिक र रुवान्डाभन्दा मात्रै अघि छ ।

थोरै नेपालीसँग मात्रै कम्प्युटर, मोबाइलमा भने अगाडि 

सर्वेक्षणले ५ प्रतिशत नेपालीसँग मात्रै ल्यापटप तथा कम्प्युटर रहेको पाइएको छ । सर्वेक्षणअनुसार ४८ प्रतिशत अर्जेन्टिनी, ४२ प्रतिशत पेरु, ३५ प्रतिशत ग्वाटेमाला, १३ प्रतिशत घाना, ६ प्रतिशत भारतीयसँग कम्प्युटर रहेको छ । मोबाइल फोनको पहुँचमा भने नेपाल सन्तोषजनक अवस्थामा छ । मोबाइल स्वामित्वका आधारमा १८ देशमध्ये नेपाल दशौँ स्थानमा छ । जुन भारत, पाकिस्तान, म्यान्मार र नाइजेरियाभन्दा अघि हो ।

मोबाइलमा गाउँ र सहरको अन्तर १५ प्रतिशत 

सर्वेक्षणले मोबाइल बोक्ने अनुपातमा सहरी क्षेत्रको तुलनामा गाउँ १५ प्रतिशत पछाडि छ । नेपालको सहरी जनसंख्याको ७६ प्रतिशतले मोबाइल फोन बोक्दा गाउँमा भने ६५ प्रतिशतको हातमा मात्रै मोबाइल छ । जब कि भारतमा २२ प्रतिशत, घानामा २५ प्रतिशत, कोलम्बियामा २४ प्रतिशत अन्तर पाइएको छ ।

महिला मोबाइल धनी १९ प्रतिशत कम 

नेपालमा पुरुषको तुलनामा १९ प्रतिशत कम महिलाले मोबाइल बोक्ने गरेको पाइएको छ । सर्वेक्षणले ८० प्रतिशत पुरुषले मोबाइल बोक्दा ६५ प्रतिशत महिलाको हातमा मात्रै मोबाइल रहेको देखाएको छ । महिला पुरुषको हिसाबले मोबाइल बोक्नेको अन्तरमा नेपाल ११औँ स्थानमा छ । यद्यपि, त्यस किसिमको अन्तरमा भारतमा ४६ प्रतिशत, पाकिस्तानमा ३७, बंगलादेशमा ३४ र म्यान्मारमा २८ प्रतिशत रहेको छ ।

आम्दानी नभएका ६५ प्रतिशत नेपालीका हातमा मोबाइल

औसत आयका हिसाबले शून्य आम्दानी भएका ६५ प्रतिशत नेपालीको हातमा मोबाइल रहेको देखिएको छ । औसतभन्दा बढी आम्दानी हुनेमध्ये ८५ प्रतिशत र औसतभन्दा कम आम्दानी हुने ८३ प्रतिशत नेपालीले मोबाइल बोक्ने गरेको देखिएको छ । मोबाइल बोक्नेमा भारत, पाकिस्तान, बंगलादेश, कम्बोडियाभन्दा पनि नेपाल अगाडि पाइएको छ ।

मोबाइल बोक्ने ५२ प्रतिशत नेपालीको हातमा स्मार्टफोन 

नेपालमा कुल मोबाइल प्रयोगकर्तामध्ये आधाभन्दा बढीले स्मार्टफोन प्रयोग गर्ने गरेको पाइएको छ । कुल नेपाली प्रयोगकर्तामा ५२ प्रतिशतले स्मार्टफोन, ४० प्रतिशतले आधारभूत फोन र ८ प्रतिशतले फिचरफोन प्रयोग गर्छन् । फोन प्रयोगकर्ता नेपालीमा ग्रामीण क्षेत्रमा ४७ प्रतिशत र सहरी क्षेत्रमा ५४ प्रतिशत रहेका छन् । प्रयोगकर्तामध्ये ५६ प्रतिशत पुरुष तथा ४८ प्रतिशत महिलाको हातमा स्मार्टफोन रहेको छ । स्मार्टफोन प्रयोगको हिसाबले नेपाल सर्वेक्षणमा समेटिएका १८ राष्ट्रमध्ये सातौँ स्थानमा छ । जब कि २८ प्रतिशत भारतीय, २२ प्रतिशत पाकिस्तानी, २४ प्रतिशत बंगलादेशी र २८ प्रतिशत केन्यालीले मात्रै स्मार्टफोन प्रयोग गर्छन् ।

६ प्रतिशत नेपाली सामाजिक सञ्जालबाट टाढा 

कुल जनसंख्याको ३४ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा रहेकोमा सामाजिक सञ्जाल चलाउनेको संख्या भने ३२ प्रतिशत रहेको छ । जसबाट इन्टरनेटको पहुँचमा रहेका ६ प्रतिशत नेपाली भने सामाजिक सञ्जालबाट टाढा छन् ।

स्राेत – नयाँ पत्रिका दैनिक

प्रतिक्रिया