६४ प्रतिशत बलात्कार पीडित १८ वर्षमुनिका

६४ प्रतिशत बलात्कार पीडित १८ वर्षमुनिका

९ कात्तिक, काठमाडौँ ।

बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या यसैको एउटा उदाहरण हो । देशलाई नै तरङ्गीत पार्ने यस्ता घटना दैनिकजसो घटिरहेका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार जबर्जस्ती करणीका पीडित १८ वर्षभन्दा कम उमेरका ६४ प्रतिशत रहेका छन् । करणीमा १८ देखि २५ वर्षका १८ प्रतिशत र २६ देखि ३५ वर्षका १० प्रतिशत पीडित छन् ।

बलात्कारका घटनामा बढी बालिका पीडित भइरहँदा पीडक भने १६ देखि २५ वर्षका व्यक्तिको संलग्नता ४० प्रतिशत बढी छ । ‘तथ्याङ्कले १८ वर्ष कम उमेरका बढी जोखिममा रहेको पाइयो, त्यसैले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम पनि स्कुल केन्द्रित गर्न लागिएको हो’, महानिरीक्षक खनालले भने ।

आपराधिक घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले यही कात्तिक ११ गतेबाट उक्त कार्यक्रम देशैभरि लागू गर्ने तयारी गरेको छ । खनालले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईलगायत विभिन्न मन्त्रालयका सचिव र उपत्यकाको स्थानीय तहका प्रमुखलाई समेत उक्त विवरण प्रस्तुत गर्दै समुदायसँग मिलेर आपराधिक क्रियाकलाप रोक्न प्रहरी लागिपरेको जानकारी गराए ।

आव ०७४/७५ मा जबर्जस्ती करणीका एक हजार ४८० मुद्दा दर्ता भएका छन् । जसमा १० वर्षमुनिका २६१ र ११ देखि १६ वर्षका ५५० जना जबर्जस्ती करणीबाट पीडित भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । अरु १० प्रतिशत १७ देखि १८ वर्षका छन् । करणी उद्योगतर्फ ७२७ मुद्दा दर्ता भएका छन् ।

जबर्जस्ती करणीमा १६ वर्षभन्दा कम उमेरका सात प्रतिशतको संलग्नता रहेको पाइएको छ । सबैभन्दा बढी १६ देखि २५ वर्षका ४० प्रतिशत बलात्कारमा संलग्न छन् । हत्यामा १६ देखि २५ वर्षका ३० प्रतिशत र मानव बेचबिखनमा २३ प्रतिशतको सहभागिता छ ।

लागूऔषधमा १८ वर्षभन्दा कम उमेरका नौ प्रतिशत र १९ देखि २५ वर्षका ४७ प्रतिशत संलग्न रहेको प्रहरीले जनाएको छ । कतिपय अझै पनि गुपचुपमै रहने गरेकाले पनि जघन्य अपराध बाहिर नआएको अधिवक्ता फूलमायाँ रानाभाट बताउँछन् ।

आपराधिक घटनामा १६–२५ वर्षका बढी

विभिन्न आपराधिक घटनामा १६ देखि २५ वर्षका व्यक्तिको सहभागिता ३८ प्रतिशत रहेको पाइएको छ । प्रहरीले उनीहरुलाई केन्द्रित गरेर साझेदारी अभियान सुरु गर्न लागेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बताउँछन् ।

घटनामा २९ देखि ३५ वर्षका व्यक्तिको सहभागिता भने ३० प्रतिशत रहेको पाइएको छ । कुल अपराध पिडितमा १६ देखि २५ वर्षका २४ प्रतिशत, २६ देखि ३५ वर्षका २८ प्रतिशत र ३६ देखि ४५ वर्षका २२ प्रतिशत भेटिएका छन् ।

बलात्कार घटनामा १६–२५ वर्षका ४० प्रतिशतको संलग्नता छ । हत्याका घटनामा पीडितको अवस्था २६ देखि ३५ वर्षका २७ प्रतिशत रहेको प्रहरीले जनाएको छ । प्रहरीको दिएको तथ्याङ्कअनुसार गएको आवमा ३९ हजार ३१५ वटा विभिन्न आपराधिक घटना भएका छन् ।

प्रतिक्रिया