कक्षा ११ र १२ बाट गणित नहट्ने, माविमा ७ विषय पढाइ

कक्षा ११ र १२ बाट गणित नहट्ने, माविमा ७ विषय पढाइ

गणित समाज भन्छ– प्रयोगात्मक गणितको व्यवस्था होस्

१४ कात्तिक, काठमाडौं ।

सरोकारवालाको विरोधपछि सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय नहटाउने भएको छ । अब तीन वटै विज्ञान (बायोलोजी, फिजिक्स र केमेस्ट्री) विषयका विद्यार्थीहरुले चाहेमा गणित विषय पढ्न पाउने भएका छन् ।

मानविकी र व्यवस्थापन संकायमा भने पहिलेदेखि नै ऐच्छिक विषयको रुपमा गणितलाई राखिएको छ ।यसअघि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको प्रारुप तयार पारेको थियो । सो प्रारुपमा अनिवार्य गणितलाई ऐच्छिक बनाइएको थियो ।

बायोलोजी र गणितलाई एउटै समूहभित्र राखेर कुनै एउटामात्र रोज्न पाउने व्यवस्था गरिँदा गणित र बायोलाजी दुवै पढ्न चाहने विद्यार्थीहरुले एउटामात्र विषय रोज्नुपर्ने बाध्यता थियो । गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने भन्दै सरोकारवालाले विरोध गरेका थिए ।

नयाँ पाठ्यक्रमको तयारी

हाल कक्षा ११ र १२ विद्यालय तहमा गाभिएको छ । माध्यमिक तहमा कक्षा ९ देखि १२ सम्मलाई राखिएको छ । अहिले नयाँ पाठ्यक्रम तयार पार्ने काममा पाठ्यक्रम विकास केन्द्र व्यस्त छ ।माध्यमिक शिक्षाका लागि अर्को शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने गरी काम भइरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले बताए । उनले भने, ‘स्ट्रक्चर तयार भइसक्यो । हामी पाठ्यक्रमको काममा व्यस्त छौं ।’संशोधित प्रारुपमा विज्ञान विषयहरु पढ्ने विद्यार्थीहरुलाई गणित पढ्न चाहने सबैले पढ्न पाउने गरी व्यवस्था गरिएको छ ।

माविमा ७ विषय पढाइ

अब अनिवार्य विषयमा अंग्रेजी, नेपाली, सामाजिक र जीवन उपयोगी अथवा गणित विषय राखिएको छ । त्यसपछि तीनवटा समूहमा विज्ञान लगायतका ऐच्छिक विषयहरु राखिएका छन् । नयाँ पाठ्यक्रमअनुसार अनिवार्य चार र ऐच्छिक तीन गरी जम्मा सात विषय पढाइ हुने छ । हाल कक्षा ९ र १० मा आठ तथा ११ र १२ मा पाँच विषय पढाइ भइरहेको छ ।

पाठ्यक्रम विकास केन्द्रले ‘नोट’ लेखेर ‘ऐच्छिक समूहबाट तीनवटै विज्ञान लिएकाले मात्रै गणित विषय रोज्न पाउने’ उल्लेख छ । तर मानविकी र व्यवस्थापन संकायमा यस्तो उल्लेख छैन ।त्यसैले विद्यार्थीहरुले जुन खालको विषय ११ र १२ मा पढ्न लागेका छन्, त्यही विषयसँग सम्बन्धित गणित सबैले पढ्न पाउने गरी प्रारुप परिवर्तन हुनुपर्ने नेपाल गणित समाजका सहसचिव एवम् जीवन काफ्ले बताउँछन् ।

‘विज्ञानमा जस्तै व्यवस्था मानविकी र व्यवस्थापन संकायमा पनि हुनुपर्छ र गणितको प्रयोगात्मक कक्षा सञ्चालनको व्यवस्था गरिनुपर्छ,’ त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका उपप्रध्यापकसमेत रहेका काफ्लेले भने । उनले भने, ‘प्राक्टिकल गणित पनि सेलेबसमै हुनपर्छ किनभने प्रयोगात्मक कक्षाले सिकाइको स्तर बढाउँछ । बरु विज्ञहरुसँग ब्यापक छलफल होस् । त्यसका लागि नेपाल गणित समाजले पनि सहयोग गर्ने छ ।’

गणित नहुँदाको असर

त्रिभुवन विश्वविद्यालयका कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञान जस्ता विषयहरुमा प्रवेश पाउन कम्तिमा क्रमशः ५० र १०० पूर्णांकको गणित अनिवार्य रुपमा पास गरेको हुनु पर्दछ । कृषि तथा वन विज्ञान कार्यक्रममा भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान (बायोलोजी) समूहका हुन्छन् ।

पोखरा, काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयहरुमा इन्जिनियरिङ तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णांकको गणित उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ट व्यवस्था छ । अनिवार्य गणित हटाइँदा जीव विज्ञान समूहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुमा माथि उल्लेखित कार्यक्रमहरु अध्ययन गर्न नपाउने स्थितिको खतरा थियो ।

साथै व्यवस्थापन विषय समूहका विद्यार्थीहरुले अर्थशास्त्र र वाणिज्य गणित मध्ये एकमात्र रोज्नु पर्ने बाध्यता थियो जबकी यी दुवै विषय उक्त समूहका विद्यार्थीहरुका लागि नभै हुँदैन ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको बीएससी (सीएसआईटी) मा प्रवेश पाउने ५० प्रतिशत भन्दा बढी विद्यार्थीहरु जीव विज्ञान अन्तर्गत १०० पूर्णांकको गणित पढेको हुनुपर्ने छ । अनिवार्य गणित हटाइँदा उक्त समूहका विद्यार्थीहरु भविष्यमा यो कार्यक्रमको लागि अयोग्य हुनेछन् । विदेश पढ्न जानुपर्यो भने जीआरई, जीम्याट, स्याट उत्तीर्ण गर्नुपर्छ जसमा गणितसमेत परीक्षा दिनुपर्छ । लोकसेवा आयोगमा समेत गणितको ज्ञान अनिवार्य छ ।

प्रतिक्रिया