निर्मला हत्या प्रकरणः काठमाडौंबाट एक शंकास्पद व्यक्ति नियन्त्रणमा

निर्मला हत्या प्रकरणः काठमाडौंबाट एक शंकास्पद व्यक्ति नियन्त्रणमा

सीआईबीका निर्देशक भन्छन्- अहिल्यै उपलब्धिमूलक सूचना छैनन्

१९ मंसिर, काठमाडौं ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको स्रोतले बतायो । हाल उनको नाम गोप्य राखिएको छ । पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन् ।विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो । यद्यपि, उनी भारत गएको परिवारले दाबी गरेको थियो ।

तर, पछिल्लो समय उनी काठमाडौंमा देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ । उनको डीएनए परीक्षण गरिने प्रहरीको भनाइ छ ।उता घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाही भने घटनाको अनुसन्धान जारी रहेकाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने र छोड्ने क्रम चलिरहेको बताउँछन् ।

‘अनुसन्धानका लागि एक जना मात्रै होइन, थुप्रै व्यक्ति हामीले नियन्त्रणमा लिएका छौं’, उनले  भने, ‘तर, अहिल्यै तपाईंहरुलाई दिन कुनै उपलब्धिमूलक सूचना छैन ।’ उनले घटनामाथि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको दाबी गरे ।

प्रतिक्रिया