सामूहिक बलात्कारमा संलग्न २ जना पक्राउ

          |   प्रकाशित मितिः बुधबार, मंसिर २६, २०७५     ::: 171 पटक पढिएको   |  

काठमाडौँ, २६ मंसिर ।

ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका दुई अभियुक्त फेरि पक्राउ परेका छन् । यसअघि जिल्ला अदालतको आदेशले तारेखमा छुटेका उनीहरुलाई उच्च अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले घटनाका अभियुक्त गोदावरी नगरपालिका गोदामचौरका २१ वर्षका विशालध्वज कार्की र २१ वर्षकै पवन कुँवरलाई बुधबार दिउँसो ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो । यसअघि गत वर्ष पुस २६ गते उनीहरुलाई जिल्ला अदालतले तारेखमा छाड्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले गत वर्षकै पुस २५ गते उनीहरुलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो ।

घटनामा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये सिलवाल पक्राउ परेका छैनन् । उनीहरुले अघिल्लो वर्ष मंसिसर २ गते माइतीबाट फर्किरहेका बेला एक महिलालाई सामूहिक बलात्कार गरेका थिए । मंसिर ३ गते तोरीबारीमा अचेत अवस्थामा फेला परेकी उनको टाउकोमा ढुंगा प्रहार गरिएको थियो ।

ज्यान मार्ने उद्योग, सामूहिक बलात्कार र चोरी मुद्दाका अभियुक्तहरूलाई ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा रिहा गरेको थियो । त्यसपछि उनीहरू फरार थिए । ज्यान मार्ने उद्योग र सामूहिक बलात्कारको मुद्दामा साधारण तारेखमा छोड्न नमिल्ने कानुनी व्यवस्था छ ।



Leave a comment

Your email address will not be published.


*