जाडोले विद्यार्थीलाई कठिनाइ

जाडोले विद्यार्थीलाई कठिनाइ

हुम्ला, मङ्सिर २६

मङ्सिरको दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ ।

स्थानीय तहले आजदेखि परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । खार्पुनाथ गाउँपालिकास्थित मानधारा माविका विद्यार्थीलाई परीक्षामा सहभागी दिन कठिन भएको प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिनुभयो । “चिसोका कारण विद्यार्थीलाई लेख्न र बस्न समस्या भएको छ,” उहाँले भन्नुभयो, “चिसो बढेपछि परीक्षा सञ्चालन गर्न मुस्किल भएको छ ।”

चिसो ह्वात्तै बढेपछि जिल्लाका सातवटै गाउँपालिकाका बासिन्दालाई सास्ती भएको छ । “बिहान–बेलुका ठिहि¥याउने चिसो छ,” चङ्खेली गाउँपालिका–५ का भैरव तामाङले भन्नुभयो । चिसो बढेपछि विद्यार्थी बिहान ११ बजेपछि मात्रै विद्यालय आउने गरेको डाँफे प्रस्तावित निम्न माध्यामिक विद्यालयका शिक्षक धनसिंह बुढाथोकीले भन्नुभयो । सर्केगार्ड गाउँपालिका–३ लालीगुराँस माध्यामिक विद्यालयका विद्यार्थी चिसोका कारण विद्यालय बाहिरको खुला चौरमा घाममा बसेर पढ्ने गरेका छन् । “चिसो बढेपछि कात्तिकदेखि नै कक्षा कोठामा पठनपाठन बन्द गरिएको छ,” प्रधानाध्यापक काली महताराले भन्नुभयो ।

जिल्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–६ हल्जी जाङ, तिलगाउँका विद्यालयमा परीक्षा सकिएको छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारी चिसो छल्न जिल्ला बाहिर जान थालेका छन् । कतिपय कर्मचारी जाडो छल्न दाउराको जोहो गर्न थालेका छन् । अधिकांश उच्च पहाडी भेगका विद्यालयमा चिसोका कारण वार्षिक परीक्षा सकिएको छ । रासस

प्रतिक्रिया