आत्महत्या : कर्णाली प्रदेशकै ठूलो सामाजिक समस्या

आत्महत्या : कर्णाली प्रदेशकै ठूलो सामाजिक समस्या

सुर्खेत पुस ३ ।
आत्महत्या त्यस्तो अपराध जसमा पीडित आफैं अभियुक्त हुन्छ । पीडित नै नभएको अपराधमा अनुसन्धान गर्न पनि गाह्रो । कर्णाली प्रदेशकै ठूलो सामाजिक समस्या बन्दै गरेको आत्महत्याको घटना वर्षैपिच्छे बढिरहेको छ । गत तीन आर्थिक वर्षमा प्रदेशमा ८ सय ८ जनाले आत्महत्या गरे । तीमध्ये सबैभन्दा धेरै ५ सय ९५ जनाले झुन्डिएर आत्महत्या गरे । विष सेवन गरेर एक सय ९४, हाम फालेर १६, औजारबाट तीन जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
आत्महत्या गर्नेमा धेरैजसो विवाहित छन् । तीमध्ये पुरुष धेरै रहेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रमुख (डीआईजी) महेशविक्रम शाहले धेरैजसो आत्महत्या १६ देखि ३० वर्ष उमेर समूहकाले गर्ने गरेको बताए । यो उमेर भनेको धेरै भावनात्मक हुने भएकाले भावनामा बहेर यस्तो हुने शाह बताउँछन् । त्यसैगरी साधारण लेखपढ गर्न सक्ने र कृषि पेसामा निर्भर रहेका धेरैले आत्महत्या गरेको पाइन्छ ।
त्यसमा पनि ग्रामीण क्षेत्रका धेरै छन् । साँझ ६ देखि राति १२ बजेसम्म आत्महत्या गर्ने धेरै रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आत्महत्या गर्नेमा जनजाति धेरै देखिएका छन् । अरु महिनाको तुलनामा कात्तिक, चैत, वैशाख र असार महिनामा धेरै आत्महत्या हुन्छन् । शुक्रबार आत्महत्या गर्नेको संख्या धेरै छ । चैत, वैशाखमा तथा शुक्रबार मानिसहरू फुर्सदमा हुने भएकाले पनि यो समयमा आत्महत्याका घटना बढेको हुन सक्ने मनोविमर्शकर्ता सन्तोषी शाही बताउँछिन् ।
आत्महत्याका कारण व्यक्ति अनुसार फरक भए पनि धेरैको प्रकृति मिल्ने उनी बताउँछिन् । परिवारमा कलह हुनु, बेरोजगारी, गरिबी, घरेलु हिंसा, लगातार असफल हुनुजस्ता कुराले ल्याउने मानसिक तनावले गर्दा आत्महत्याको घटना बढेको हुन सक्ने मनोविमर्शकर्ता शाही बताउँछिन् । ‘साना समस्यामा पनि छिट्टै आत्तिने र समाधानको विकल्प खोज्न नसक्दा आत्महत्याको बाटो रोज्छन् ।’
प्रदेश प्रहरी कार्यालयले बेरोजगारी, गरिबी, महिलाहरू आत्मनिर्भर नहुनु, वैदेशिक रोजगारी, पारिवारिक कलह, घरेलु हिंसा आदिका कारण अधिकांशले आत्महत्या गर्ने गरेको जनाएको छ । पीडित र अभियुक्त एउटै व्यक्ति हुने भएकाले आत्महत्याको घटनामा अनुसन्धान गर्न चुनौती हुने प्रदेश प्रहरी प्रमुख (डीआईजी) शाहले बताए । आफूहरूले गरेको अनुसन्धान क्रममा ग्रामीण भेगमा, अशिक्षित समाजमा तथा कृषिमा निर्भर रहेको समाजमा यस्ता घटना धेरै भएको उनको भनाइ छ । कान्तिपुर

प्रतिक्रिया