शैक्षिक गुणस्तर सुधार गर्न गतिशीलता बढाउदै नगरपालिका

शैक्षिक गुणस्तर सुधार गर्न गतिशीलता बढाउदै नगरपालिका

दैलेख पुस १६ ।
जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिका क्षेत्रका सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा, युवा तथा खेलकूद शाखाले गतिशीलता बढाउन थालेको छ । जिल्लाको शैक्षिक विकासका विविधता बारे राम्रो दखलता राख्नु भएका श्रोत व्यक्ति हिमालयजंग शाह र शाखाको संयोजन जिम्मेवारी पाएका युगलनारायण बसेल नगरक्षेत्रको शैक्षिक गुणस्तर उठाउने योजना बनाउन जुटेका छन् ।

नारायण नगरक्षेत्रका सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न योग्य प्रधानाध्यापकको व्यवस्थापन, मापदण्ड नपुगेका विद्यालयहरु नजिकको विद्यालयमा गाभ्ने र विद्यार्थी चापका आधारमा शिक्षक दरबन्दी मिलान गर्ने योजना तयारी भइसकेको श्रोत व्यक्ति हिमालयजंग शाहले जानकारी दिए ।

विद्यालयमा शिक्षक र विधार्थी उपस्थिति, अभिभावकको चासो अभिबृद्धि गर्न र विद्यालयहरुका भौतिक तथा आन्तरिक व्यवस्थापन सुधार गर्न शैक्षिक रणनीति बनाउन लागिएको नारायण नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका उपसचिव युगलनारायण बसेलले सुनाए ।

नारायण नगरपालिका क्षेत्रमा ४० वटा विद्यालयमा २ सय २१ जना शिक्षक र ३७ वटा बालविकास केन्द्रमा सहजकर्ताहरु कार्यरत छन् । ४० विद्यालय मध्ये १ देखि ३ कक्षासम्म पढाई हुने ३, १ देखि ५ कक्षासम्म चलेका २०, १ देखि ८ कक्षा चलेका ८ र १ देखि १२ कक्षासम्म पढाई हुने विद्यालयको संख्या ९ वटा छन् ।

प्रतिक्रिया