फरार ४६ अपराधी पक्राउ

फरार ४६ अपराधी पक्राउ

सुर्खेत, पुस १९ 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार ४६ अपराधीलाई पक्राउ गरेको    छ ।मङ्सिरदेखि पुस महीनाको १८ गतेसम्म सुर्खेत प्रहरीले ४६ अपराधी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जम्मा ४३ वर्ष २४ दिन जेल सजाय र रु २१ लाख ९३ हजार ८२२ जरिवाना असुलउपर गरी फैसला कार्यान्वयनमा सहयोग पु¥याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

“फैसला कार्यान्वयन गर्ने नीतिअन्तर्गत एक महीनाको खोजीमा प्रहरीले ४६ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो, “ जिल्लामा एक हजार ६०० अपराधी फरार रहेकाले खोजी अभियानलाई तीव्र पारेका छौँ ।” अदालतबाट धेरै सजाय पाएका अपराधी भारत जाने गरेका उनीहरुलाई समात्न नसकिएको उहाँको भनाइ थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार अपराधी बढी छन् भने रु २५ तिर्न नसकेका अपराधी पनि फरार छन् । वडा विभाजन गरेर फरारको सूची प्रत्येक प्रहरी चौकीमा पठाइएको बताउँदै प्रवक्ता क्षेत्रीले जतिसक्दो सुर्खेतलाई फरार अपराधी मुक्त जिल्ला बनाउने लक्ष्य लिएको जनाउनुभयो । सुर्खेत प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पुस १८ गते सुर्खेतमा ९३८ लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको छ ।

प्रतिक्रिया