गुराँसेलाई पर्यटन हवको रुपमा विकास गर्न सुझाव

गुराँसेलाई पर्यटन हवको रुपमा विकास गर्न सुझाव

टेकराज केसी
दैलेख गुराँसे, २७ माघ
दैलेखको गुराँस गाउँपालिकाको गुराँसेलाई पर्यटन हबको रुपमा विकास गरी आन्तरिक आम्दानी बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत गुराँसेलाई पर्यटन हवको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै यस्तो सुझाव दिएका हुन् ।
गुराँस गाउँ पालिका ८ गर्चाका समाजसेवी समेत रहेको प्रेम बहादुर खड्काले गुराँसेलाई पर्यटन हवको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै अहिलेसम्म गाउँपालिकाले यसतर्फ ध्यान नदिएको सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिएका छन् ।

शिक्षक महेन्द्र रामजालीले पनि सामाजिक सञ्जाल मार्फत गुराँसेलाई आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको भन्दै स्थानीय र प्रदेश सरकार मिलेर पर्यटन हवको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले पर्यटकको ध्यान गुराँसेमा केन्द्रीत गर्न सक्नुपर्नेमा जोड दिदै भनेका छन्, ‘गुराँसे पर्यटकको नयाँ गन्तब्य बन्दै छ, यसको आकर्षण अझै बढाइनुपर्छ ।’

पत्रकार दीपेन्द्र ओलीले पनि पर्यटकको आकर्षणको केन्द्र गुराँसे हुन सक्ने भन्दै यसबाट गुराँस गाउँपालिकाले मात्र नभई समग्र प्रदेशले आफ्नो आन्तरिक आम्दानी र रोजगारीका अवसरहरु सृजना गर्न सक्ने बताएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गुराँसे कर्णाली प्रदेशकै पर्यटन आकर्षणको केन्द्र हुन सक्ने भन्दै यसमा स्थानीय र प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।
गुराँसेमा नेपालको राष्ट्रिय फुल लालि गुराँस प्रसस्त पाइने हुदा फागुन चैतमा गुराँस हेर्न जानेको लर्को लाग्ने गर्दछ, साथै हिउदको समयमा त्यस क्षेत्रमा हिउँ पर्ने भएकाले हिउँ हेर्नेको सँख्या पनि उत्तिकै हुने गर्दछ । गुराँस गाउँपालिका वडा नम्बर ४ र ५ पर्ने यस क्षेत्रबाट रमणिय हिमालहरुको अवलोकन गरिनुका साथै १२ महिना चिसो हावापानी पाइने गर्दछ । यस ठाउँलाई तरकारी प्रसस्त पाइने ठाउँको रुपमा पनि लिइन्छ ।

प्रतिक्रिया