सरकारले गुणगान होइन्, आलोचना पनि सुनोस् !

सरकारले गुणगान होइन्, आलोचना पनि सुनोस् !

निर्मल अधिकारी [email protected]

निर्मल अधिकारी
बेलुकी छिटै सुते पनि विहान प्रायः ४ बजे नै उठ्ने मेरो बानी छ । उठ्न वित्तिकै सामाजिक सञ्जालमा अपडेट हुने गर्छु । सामाजिक सञ्जालबाट केही मनोरञ्जन, केही सूचना र केही उदासिनताले भरिएका जानकारीहरु प्राप्त हुने गर्दछन् ।
कसको कहाँ मृत्यु भयो वा कसको जन्मदिन, सबै कुरा सामाजिक सञ्जालबाट प्राप्त हुने गरेको छ । सूचना र प्रविधिको उच्चतम प्रयोगले गर्दा आफु जहाँ भएपनि ग्रामिण दुरदराजका जानकारीहरु उत्तिखेरै प्राप्त हुने गर्दछन् । आज, फेसबुक पेज सरसर्ति हेर्दै जादाँ मेरो नजर एउटा समाचारमा गएर ठोक्कियो । र त्यहाँ लेखिएको थियो, पशुपतिशर्माको “लुट्न सके लुट, अरु देशमा पाइदैन् नेपालमै हो छुट” भन्ने व्यंङग्यात्मक गितलाई सत्ता पक्षीय आरोप पछि युटुवबाट हटाइयो । भर्खरै बजारमा आएको यो म्यूजिक भिडियो मैले राम्रोसंग सुनेको थिईन् । उत्सुक भएर समाचार पढे अझै गित सुन्न मन लाग्यो । त्यत्तिनजेल सम्म फेसबुक म्यासेन्जरमा दर्जन भन्दा बढीले उक्तगितको भिडियो पठाएका रहेछन् । कुन शब्दले सत्तापक्षको अपमान गरेको रहेछ भनेर झण्डै दर्जन भन्दा बढी पटक निरन्तर गित सुने । मेरो दृष्टिकोण र सोचाईले कुनै ठाउँमा पनि त्यस्तो शब्द भेटाएन जहाँ सत्तापक्षको अपमान गरेको छ । राज्यले गरेका विकृति र विसंगतिका विरुद्ध तिखो प्रहार गरेको गितले राज्यको अपमान होईन् राज्यलाई सुशानयुक्त र राज्य सञ्चालनका संयन्त्रहरुलाई थप प्रभावकारी वनाउन सहयोग गरेको मेरो बुझाई रह्यो ।
राम्रो कामलाई राम्रो र गलतलाई गलत भन्न नमिल्ने संस्कारबाट हाम्रो समाज अगाडी बढिरहेको छ । विचार र आस्था मिल्नेसँग केही नीजि स्वार्थका लागि अन्धभक्त भएर भजन गाउने गरिन्छ । आस्था नमिले रामै्र भएका कामलाई पनि विरोध नगरे आफ्नो अस्तित्वनै मेटिने हामी सम्भावना देख्छौं । यस्तो संस्कार र प्रवृत्तिले नत देशको विकास सम्भव छ न त हामीले कल्पना गरेको समृद्ध नेपालनै बन्न सक्छ ।
शर्माको गितमा भ्रष्ट नेता, ठेकेदार, विद्यालयका शिक्षक, अस्पताल लगायत अधिकाँस सरकारी संयन्त्रलाई प्रहार गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले भर्खरै सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकाँकमा नेपाल ३१ औं अंक सहित १२२ औं स्थानमा दर्ज हुनुले पनि नेपालमा भ्रष्ट्राचार बढ्दै गएको तथ्यलाई प्रष्ट पार्दछ । अझ गितले स्थानीय निकायमा भईरहेका भ्रष्ट्राचारलाई समेट्न सकेको छैन् । दुई वर्ष अगाडी दश रुपैयाँमा गरिने सिफारिस दस्तुर बढेर अहिले एक सय देखि ५ सय सम्म पुगेको छ । जग्गामा लगाईने कर बढेको छ । जुन आधारमा स्थानीय तहमा कर असुल गरिन्छ त्यो अनुपातमा सर्बसाधारण नागरिकहरु स्थानीयतहले प्रदान गर्ने सेवा सुविधाबाट सन्तुष्ट देखिदैनन् । न त नागरिकबाट असुल गरिएको कर उत्पादनमुलक सहि क्षेत्रमा खर्च गरिएको छ । सार्वजनिक गाडी नीजि काममा प्रयोग गरिनु, राज्य कोषबाट जनप्रतिनिधिलाई पोषाक भत्ता लगायतका सुविधा दिनु र आफ्ना नातेदारको नाममा ठेक्का दर्ता गरी योजना उपलब्ध गराउनुले सहजै अनुमान गर्न सकिन्छ कि स्थानीय तहमा पनि भ्रष्ट्राचारले गाजेको छ । यो माथिको तथ्याँक हेर्दा शर्माको गितलाई एक सय प्रतिशत सत्य मान्न सकिन्छ ।
सर्वसाधारण नागरिकहरु छुरिले च्यातेझै चिराचिरा भएका पैतलाले विहाको चिसो तुसारो छिचोलिरहेका हुन्छ्न । तर, तिनै नागरिकले करका रुपमा दिएको नोट र भोटबाट निर्वाचन जितेका हाम्रा जनप्रतिनिधिलाई थाहा छैन् । कि त्यही नागरिकले विहान वेलुकाको गर्जाे टार्न कति संघर्ष गरिरहेको छ । ऊ खाली खुट्टा पैदल यात्रा गर्न बाध्य छ । उपचारको रकम जुटाउन नसकेर अस्पतालको वेडमा रोगसँग लडिरहेको छ । तर, हामी सुविधा सम्पन्न गाडी चढिरहेका छौं । राज्य कोषको ढुकुटीबाट उपचार खर्च गर्छाैं । हिजो भोट दिएर चुनाव जिताउने ति सर्वसाधारण नागरिकको लागी यो भन्दा ठुलो वेथिती र अन्याय अरु के नै हुनसक्छ ?
सत्ताका पुजारीहरुले यो पनि सोच्न आवश्यक छ कि सरकार कसैको पेवा होइन् । न त सरकार स्थायी हुन्छ । अढाई सय वर्ष देखि समाजमा जरा गाडेर बसेको राजतन्त्र २०६२÷२०६३ सालको जनआन्दोलनको धक्काले ढलेको छ । सन १९१७ अक्टोबर २५ मा लेलिनले लाखौ रुसी मजदुरहरुको सहभागितामा पिटर्सवर्गमा आम जनविद्रोहको पहिलो उदघोषसँगै लाखौ मजदुरहरुले वयन्टर दरबारमा बसिरहेको अस्थायी सरकारका मन्त्रीहरुलाई गिरफ्तार गरी सत्ता कब्जाको घोषणा गरेपछि अक्टोबर समाजवादी क्रान्ति सफल भएको थियो । अहिले नेपालमा पनि भ्रष्ट्राचार, गरिवी बढीरहेको छ । ठुला कल कारखाना उद्योगहरु सबै वन्द छन् र अझै खुल्ने सम्भावना पनि देखिदैन् । राज्यका श्रोत र साधनहरु निश्चित वर्ग र समुदायको पहँुचमा छन् । युवाजन शक्ति सबै विदेश पलायन छ । विकासले त्यो वर्गलाई छुन सकेको छैन् जुनवर्ग सताव्दियौं देखि राज्यबाट अपहेलिन र उपेक्षित भएर बाचिरह्यो ।
शर्माको गितमा केही त्रुटिहरु नभएका होइनन् । गितमा भएका केही शव्दहरुले इमान्दार नागरिकलाई भ्रष्ट्राचार विरुद्ध लड्न सक्ने शक्ति प्रदान गर्ने नभएर झन भ्रष्ट्राचार गर्न प्रोत्सान गर्ने झल्को भेटिन्छ । यस्ता केही शब्दहरुलाई सुधार गरि त्यस्तो गित ल्याइयोस जसरी जनआन्दोलनमा दर्जनौ शहिदहरुले बलिदानी दिन तयार भए त्यसरी नै भ्रष्ट्राचार विरुद्धको अभियानमा सहभागी हुन उत्प्रेरणा जागोस भ्रष्ट्राचार विरुद्ध प्रहार गरिएको व्यङग्यात्मक गित बन्द होइन् सडकका सबै गल्लि र ग्रामिण समुदायमा गुञ्जायमान हुनुपर्छ । जसले गर्दा भ्रष्ट्राचार न्यूनिकरणमा सहयोग पुगोस । राज्यले, सरकार पक्षधरका अन्धभक्तले गरेको गुणान मात्रै नसुनेर आलोचनाहरु पनि सुनेको खण्डमा देशमा गुणस्तरीय विकास भई पारदर्शिता र जवाफदेहितामा वृद्धि हुने थियो ।

[email protected]

प्रतिक्रिया