दलितभित्रै छुवाछूतको सकस

          |   प्रकाशित मितिः बुधबार, फाल्गुन ८, २०७५     ::: 412 पटक पढिएको   |  
शुष्मा बराली

जबसम्म जातभित्रको जातको हितमा मात्र सीमित रहन्छौँ, सामूहिक रूपमा प्रहार गर्नुपर्ने विभेदकारी सत्ता–सोच र ब्राह्मण–व्यवहार बलियो नै भइरहन्छ।

बाल्यकालकी सखी काठमाडौँका रैथानेसँग विवाह गरेर सुखको जीवन बिताएकी छ। ३ वर्षकी छोरीकी आमा ऊसँगको संवादले मन भने निकै बिथोलियो। केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी उसले आफ्नो जात ढाँटेर विवाह गरेकी रहिछ। माइती पक्षलाई छोरीले नभनी विवाह गरेको थाह पाउँदा जति दुःखी र मर्माहत बनायो त्यो भन्दा कैँयौँ गुणा दुःखी कथित माथिल्लो जातसँग भन्ने थाह पाएपछि बनायो। छोरीको पिरलोले माइती आनन्दले निदाउन समेत नसकेको अवस्था भयो, जुन यथावत नै छ। आफ्नै राजीखुसीले दलितकी छोरीले नेवार समुदायमा जात ढाँटेर विवाह गरेको थाह पाउँदा कसको बा, आमा चैनका साथ बस्न सक्लान् र ? सदियौँदेखि समाजका नीति र नियम देख्दै भोग्दै आएका तिनका मनमा कुन दिन ज्वाइँले छोरीलाई छोड्छन् र बिचल्ली हुन्छ भन्ने चिन्ता कति कति !

अहिले पनि केटा पक्षले बुहारी कथित तल्लो जातकी भन्ने छनक मात्र पाए भने पवित्र सम्बन्ध एक पलमै अपवित्र भई विच्छेदमा परिणत हुन्छ। आफूलाई प्राणभन्दा बढी माया गर्ने मान्छेसँग स्वेच्छाले विवाह गर्दा पनि जातको कारणले न ऊ माइतीसँग नजिक छे, न त कोही सैँ–साथेसँग। ‘यथार्थ कुरा भन्छु भन्दाभन्दै विवाह हुने समय आयो, मर्छु, बाँच्न सक्दिनँ भनेपछि मलाई पनि आफूलाई माया गर्ने मान्छे घुमाउन मन लागेन र बिहे गरँे, अब त आँट नै आउँदैन’ उसको यो भनाइ सुन्दा जीवन साँच्चै नै रंगमञ्च हो भन्ने कुरामा दुई मत देखिनँ। यो कस्तो विडम्बना, पे्रम बचाउन समाजको परिधिमा रहेको नियमपूर्वक विवाह गरेर, झुटको सहारामा सम्बन्ध बचाउनुपर्ने ? यस्ता कथा त कतिका छन् छन्, ती सखी त एउटा प्रतिनिधि पात्र मात्र हो। 

यस्ता खालका पिर र चिन्ता विशेष गरी महिलाको हकमा मात्र व्यापक देखिन्छ। छोरीको विवाहपछि ज्वाइँ र उनका नातेदार सम्पूर्णलाई पुज्नुपर्ने नियम बनाएको हिन्दू संस्कारले असुरक्षा पैदा गराएको होे। दलित समुदायका पुरुषले कथित उच्च जातका महिला विवाह गरे भने यस्तो असुरक्षा हुँदैन। उसो त मेरा धेरै दलित दाजु–भाइ मित्रहरूले कथित उपल्ला जातका महिलासँग विवाह गरेर जीवन बिताएका छन्। माइती पक्षबाट समस्या झेल्नुपरे पनि केटा पक्षको घरबाट भने त्यस्तो खास समस्या देखिँदैन।

दलित समुदायमै विभेद
एकै समुदायभित्र नै छुवाछूत विभेद हुन्छ भन्ने कुरा नयाँ विषय भने पक्कै होइन। बाहुन समुदायभित्रै पनि विभेद हुन्छ, नेवार समुदायमा पनि विभेद भएको देख्दै आएका छौँ, भलै दलितलाई गरिने विभेद चर्को छ। दलित समुदायमा नै विभेद हुन्छ भन्ने कुरा सामान्य लागे पनि यस विषयलाई गम्भीर रूपले सोच्नुपर्ने देखिन्छ। यहाँ दलित समुदायका पढेलेखेका पुरुष, महिला मित्रहरूको गुनासो सुन्दा उदेक लाग्छ।

यसै विषयमा एउटा प्रसंग जोड्न मन लाग्यो, एक जना महिला मित्र जो निकै विद्वान् मानिनुहुन्छ, दलितका हकहितका विषयमा चर्को बहस र विश्लेषण गर्न पनि रुचाउनु हुन्छ। व्यक्तिगत रूपमा हामी मिल्ने साथी हौँ तर उहाँको कुराले मलाई स्तब्ध बनायो। समाजको परिधि अनुरूप विवाह गर्ने उमेर पुगेका हामी कहिलेकसो विवाहबारे गफिन्छाँै। कुरा हुँदै गर्दा उहाँले विवाह गर्न इच्छा भएको तर चाहे जस्तो केटा नपाएको कुरा सुनाउनु भयो। कुरामा कुरा आउँदा, एकजना पुरुष मित्रले विवाह गर्न केटी खोज्दै गरेको कुरा उहाँलाई बताए। केटाको शैक्षिक योग्यता, इलम, घरपरिवारबारे सोधेपछि उहाँले भन्नुभयो, ‘केटा के थरी ?’ 

‘हाम्रै समुदायको साथी हुनुहुन्छ,’ मैले भनेँ। ‘होइन ठ्याक्कै जात के हो ?’ प्रश्न दोहोरियो। भनेँ, ‘उहाँ परियार।’ केही बेर मौन हुनुभयो। ‘जीवनमा एक पटक गरिने विवाह पनि के तल्लो जातसँग गर्नु ?’ मैले यस्तो उत्तरको अपेक्षा गरेकै थिइनँ। सामाजिक कार्यमा सक्रिय, सचेत युवाको यस्तो उत्तर सुन्दा म तीनछक परेँ। उहाँले अन्य जातका पुरुषसँग विवाह गर्ने इच्छा राख्न पाउनुहुन्न अथवा यो जातसँग मात्र गर्नुपर्छ भन्न खोजेको हुँदै होइन तर एउटै समुदायमा पनि किन यस्तो सोच आयो ? मनमा प्रश्नको वाण चल्यो, दिमाग रन्थन्नियो। हो, मान्छे स्वतन्त्र छ, इच्छा र रोजाइअनुसार महिला वा पुरुष जोसँग, जुन जातसँग पनि बिहे गर्न पाउँछ, यसमा दुईमत छैन तर यो किसिमको सोच देख्दा भने साँच्चै नै चित्त बुझेन।

अधिकांश पुरुष मित्रहरूको गुनासो त्यस्तै छ, हाम्रो समुदायका चेलीहरू पढेलेखेका र बुद्धिमान भेट्टाउनै गाह्रो, भएका केहीलाई कथित उपल्लो जात मन पर्छ। हामी कहाँ छौँ, हामी बीचै पनि किन यस्तो असमानता छ ? घरभित्रकै विभेद र असमानता तोड्न सक्दैनौँ भने बाहिरकाले हेपे भन्ने आवाज कमजोर हँदैन र ? हाम्रा हक र अधिकार कसरी सुनिश्चित हुन्छ, यस्तो पाराले ?

समाजको कुरीतिविरुद्ध लड्ने हाम्रा हात कसरी कमजोर भएका छन्। दलित आन्दोलन कहाँ चिप्लिएको छ भन्ने कुरा यस्तो चिन्तनले गर्दा पनि हो भन्न सकिन्छ। दलित बीचमा नै यस्ता समस्या जीवित छन् भने कसरी हामी बलियो हुन सक्छौँ ? मानव भएर समानता र आत्मसम्मानले बाँच्न पाउनुपर्छ भन्नुले कुन अर्थ देला ? समान अवसर, पहिचानको अधिकारको कुरामा हामी चुक्नुको मुख्य कारण हामी भित्रकै विभेद नभए पनि सहायक कारण यो पनि हो जस्तो लाग्छ। हामी परिवर्तनका कुरा गर्छौं, मञ्चमा भाषण छाड्छौँ तर आफू परिवर्तन भएका छैनौँ, सोचमा परिमार्जन गर्न फिटिक्कै सकेका छैनौँ। 

हामीसँग भएको शक्ति एकीकृत नभई यसरी विघटित भयो भने कसरी दलित आन्दोलन बलियो हुन सक्छ ? जातीय छुवाछूतको अन्त्य, समानता, मानवता र स्वतन्त्रतापूर्वक आत्मसम्मानसाथ बाँच्न पाउनुपर्छ भनी जति नारा लगाए पनि हाम्रा नाराको घनत्व पानीमा फालेको ‘अगुल्टोको झ्वाइँ’ बराबर नै रहन्छ।  

यहाँ दलित समुदायको हितका लागि खोलिएका संघ–संस्थाहरूमा पनि यस्तो सोच कताकता देखिन्छ। दलितभित्रै पनि कामी, दमाई, सार्की, गन्धर्व लगायतका आफ्नै छुट्टाछुटै समूह छ। जबसम्म जातभित्रको जातको हितमा मात्र सीमित रहन्छौँ, सामूहिक रुपमा प्रहार गर्नुपर्ने विभेदकारी सत्ता–सोच र ब्राह्मण–व्यवहार बलियो नै भइरहन्छ। हामीसँग भएको शक्ति एकीकृत नभई यसरी विघटित भयो भने कसरी दलित आन्दोलन बलियो हुन सक्छ ? जातीय छुवाछूतको अन्त्य, समानता, मानवता र स्वतन्त्रतापूर्वक आत्मसम्मानसाथ बाँच्न पाउनुपर्छ भनी जति नारा लगाए पनि हाम्रा नाराको घनत्व पानीमा फालेको ‘अगुल्टोको झ्वाइँ’ बराबर नै रहन्छ।  

यति लेख्दा लेख्दै वर्षाैंदेखि पछाडि पारिएका हाम्रा १३ प्रतिशत दलित समुदायलाई सम्झन्छु। जुन समुदाय मानव हुनुको अस्तित्व खोजिरहेको छ, मानव भई स्वतन्त्रपूर्वक आत्मसम्मानसाथ बाँच्न पाउनुपर्‍यो भनी लडि–भिडिरहेको छ। 

विकट गाउँका दलित बस्तीहरू अझै पनि बिहान बेलुकीको छाकमै अल्झिरहनुपरेको छ। बाली प्रथामै आश्रित हुनु परेको छ। आत्मसम्मानसाथ बाँच्न पाउनुपर्छ भनी उठाउन खोजेको आवाज लुगा सिउने मसिनको कटकट आवाजमै दबिएको छ। आरनमा फलाम पिट्ने बालाई सम्झिन्छु, जसका हातले फलाम पिट्दा पिट्दै मुटुलाई पनि फलाम जस्तो कठोर बनाउन बाध्य भएका छन्, सदियौँदेखि यही समाजको विभेद र असमानता सहँदा सहँदै। जुत्ता सिलाउने सियोले मनभित्रका विद्रोह समानताका साथ आत्मसम्मान खोज्न बोल्ने मुख सिलाएर बस्न बाध्य भएका छन्। सहरिया जीवनशैलीमा रुमलिएका, हक–हितका चर्का नारा जप्ने ‘शिक्षित’ पुस्तामा भएको यस्तो मानसिकतालाई हटाउन सकियो भने मात्र साझा उद्देश्य प्राप्त हुनेछ। 

केही वर्षअघि एकजना दाजुले उहाँको भाइसँग विवाह गर्ने प्रस्ताव गर्नुभयो। दाजुलाई मात्र चिनेकी भाइलाई नदेखेकी, आफैँले निणर्य लिनुभन्दा पहिला घरमा सोध्न उचित ठानेँ र आमालाई भनेँ, ‘एक जना दाजुले विवाहका लागि भन्नु भाछ, उहाँको भाइ रे।’ आमाको प्रश्न, ‘केटा के गर्छ, तँलाई मन पर्छ भने हामीलाई कुनै आपत्ति छैन, राम्रोसँग बुझ्।’ मैले आमाको मन चोर्न भनेँ, ‘तर छ नि, केटा दमाई हो।’ मेरो कुरा सक्किन नपाउँदै आमाले भन्नुभयो, ‘के भयो त, मुख्य कुरा इमानदार र समझदार हुनुपर्‍यो, बाँकी त भइहाल्छ नि। अनि तँ पनि जातभात हेर्छेस् ?’ 
म मुस्कुराएँ। नागरिकबाट साभार गरिएकाे ।



Leave a comment

Your email address will not be published.


*