प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधा दिइने

प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधा दिइने

फागुन २३,काठमाण्डौ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने घोषणा गर्नु भएको छ ।मन्त्री पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीहरुलाई थप सुविधा हुने व्यवस्थासहितको संघीय निजामती सेवा ऐन संघीय संसदमा पेश गरिएको पनि स्पष्ट पार्नुभयो । उहाँले अहिले स्थानीय तहमा समायोजन भएर गएका निजामति कर्मचारीहरुलाई बढुवा भएर संघीय सरकार मातहत ल्याउने बाटो खुला रहेको पनि बताउनु भयो ।

बिहीबार ललितपुरमा नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुका लागि आयोजित आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समापन गर्दै मन्त्री पण्डितले कुनै पनि तहका कर्मचारीहरुको वृत्ति विकास नरोकिने पनि दोहोर्याउनु भयो ।उहाँले अहिले समायोजनमार्फत् स्थानीय तहमा गएका निजामती कर्मचारीहरुलाई संघीय सरकार मातहतनै फर्काउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री पण्डितले जनताको पीडालाई सम्बोधन हुनेगरी सेवा प्रवाहको कामलाई अघि बढाउन पनि नवनियुक्त राजपत्रांकित तृतिय श्रेणीका अधिकृतहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया