बालक्लबमा सक्रिय सदस्यकै बालविवाह

बालक्लबमा सक्रिय सदस्यकै बालविवाह

लम्की, जेठ ५ गते । कैलालीको टीकापुर– ८ स्थित लालीगुरास बालक्लबमा सक्रिय एक १४ वर्षीया किशोरीको विवाह भयो । क्लबकै सदस्यले बालविवाह गरेपछि क्लबमा खैलाबैला भयो । बालबालिका र किशोर किशोरीमा आइपर्ने समस्या समाधान र उनीहरुको विकासका लागि गठन भएको क्लबकै सदस्यले बालविवाह गरेपछि क्लबमा निकै तनाव भयो । क्लबका अध्यक्ष महेश साउदले भन्नुभयो, “हामीले उनलाई निकै सम्झायौँ तर उनले अब माइतीघर फर्कन नसक्ने बताइन्”, उहाँले भन्नुभयो, “उनका श्रीमान् पनि किशोर नै भएकाले हामीले सम्झाए पनि उनीहरुले मानेनन् ।”बालविवाह गरेपछि क्लबले उनलाई नत क्लबमा आउने वातावरण बनाउन सक्यो न त उनी विद्यालय नियमित जाने वातावरण बन्यो । “उनलाई क्लबमा बोलाइए अन्य साथीले पनि सिको गर्लान्की भन्ने डर लाग्यो ।”

कैलालीको भजनीस्थित कोपिला बालक्बलमा सक्रिय १७ वर्षीया एक किशोरले गाउँकै १६ वर्षीया किशोरीसँग प्रेम विवाह गरे । क्बलकै सदस्यले विवाह गरेपछि त्यहाँ पनि हल्लाखल्ला भयो । उनीहरुले भागी विवाह गरेपछि क्लबका सचिव सरोज चौधरीले दुवै परिवारका अभिभावकलाई बोलाएर छलफल गरेको बताउनुभयो । “हामीले दुवैका अभिभावक बोलाएर पढाइलाई निरन्तरता दिन र २० वर्ष नपुगी सँगै नबस्न सल्लाह दियौँ”, चौधरीले भन्नुभयो, “हाल दुवैले अध्ययन गरिरहेका छन् । उनीहरु परिपक्क भएर विवाह गर्नेमा सहमत छन् ।”

टीकापुरस्थित बाल सञ्जालका अध्यक्ष रतन टमट्टाका अनुसार समुदायमा बालविवाह त भइरहन्छन् तर क्लबमै सक्रिय सदस्यले विवाह गर्दा नकारात्मक सन्देश जान्छ । उहाँले भन्नुभयो, “बालबालिकालाई अभिभावकको निगरानी आवश्यक छ । उनीहरुलाई मोबाइल, इन्टरनेटजस्ता प्रविधिको गलत प्रयोग गर्नबाट बचाउनुपर्छ ।”कैलालीमा सयौँ बालक्लब छन् । यी क्लबमा ११ वर्षदेखि १८ वर्ष मुनिका बालबालिका छन् । बालक्लबमा उनीहरु आफ्नै बचतले हाजिरीजवाफ, चित्रकला, वक्तृत्वकला, खेलकूद प्रतियोगिताजस्ता कार्य गर्छन् । क्लबमा उनीहरु बालबालिकाका समस्या र किशोरकिशोरीमा देखिने समस्याबारे पनि छलफल गर्छन् ।

स्वयंसेविका देवसरा साउद आफूहरुले पनि बालविवाह न्यूनीकरणका लागि स्वास्थ्य आमा समूहमा छलफल गर्ने गरेको बताउनुभयो । “छाउपडी र बालविवाह रोक्नका लागि छलफल गर्छौं तर हाम्रै एक स्वयंसेविकाकै नातिनीले उमेर नपुगेरै विवाह गरिन् । आफैँ स्वयंसेविका भएर पनि नातिनीलाई घर फर्काउन सकिएन”, उहाँले भन्नुभयो, “यहाँका धेरै किशोरी विवाह गरेर भारत जाने गर्छन्, एक दुई वर्षपछि बच्चा बोकेर फर्कन्छन्, अनि कसरी रोक्नु रु”

सीतापुरस्थित जनजागृति उच्च माविकी शिक्षिका उर्मिला रावल कक्षा ९ र १० मा पढ्ने बालबालिका प्रेम विवाह गर्ने गरेको बताउनुभयो । “हरेक वर्ष पाँच जति किशोरकिशोरीे बालविवाहकै कारण विद्यालय छोडछन् । यसलाई रोक्न निकै कठिन छ ।” उमेर नपुगेरै कति जनाको बालविवाह हुन्छ भन्ने तथ्याङ्क त कसैसँग छैन तर किशोरी आमा बन्नेको तथ्याङ्क हेर्दा अहिले पनि टीकापुर नगरपालिकामा १७ प्रतिशत आमा २० वर्ष मुनिका छन् । नगरपालिकाका स्वास्थ्य संस्थामा चालू वर्षको चैतसम्म ५९६ ले सुत्केरी सेवा लिएकामा ८९ किशोरी आमा छन् । “टीकापुर अस्पतालमा नियमित चार पटक गर्भजाँच गर्ने १५ प्रतिशत २० वर्ष मुनिका आमा छन् भने सुत्केरी हुने १७ प्रतिशत छन् ।” स्वास्थ्य प्रवर्द्धन शाखाका संयोजक बलबहादुर रावलले बताउनुभयो, “यसले बालविवाह अझ बढेको भन्ने देखाउँछ ।”

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, “बालविवाह पनि गलत अभ्यास हो, यसलाई न्यूनीकरण गर्न सबैले साथ दिनुपर्छ तर हामीले मात्र चाहेर पनि बालविवाह रोक्न नसकेकाले कानून कार्यान्वयनका लागि सबैभन्दा पहिले अभिभावक सचेत बन्नुपर्छ।” बालविवाह न्यूनीकरणका लागि किशोरकिशोरीमैक्री स्वास्थ्य कार्यत्रम, विद्यालयमा साथी शिक्षा कार्यक्रम लागू गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया