गुराँसमा तीन बर्षभित्र विद्युत विस्तार गरिने



टेकराज केसी
रानीमत्ता (दैलेख) १२ जेठ ।
दैलेखको गुराँस गाउँपालिकाले अगाडी बढाएको सामुदायिक ग्रामीण विद्युतिकरण साझेदारी कार्यक्रमलाई नेपाल विद्युत प्राधिकरण काठमाडौंले स्वीकृत गरेको छ । कार्यक्रम स्वीकृतसँगै आगामी तीन बर्षभित्र गाउँपालिकाभरका जनताको घरघरमा विद्युत सेवा पुग्ने भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ देखि संचालन हुने उक्त कार्यक्रमका लागि गाउँपालिकाको २ करोड १७ लाख (१० प्रतिशत) र प्राधिकरणको १९ करोड १६ लाख ७२ हजार ४ सय ५१ (९० प्रतिशत) सहित २१ करोड ३३ लाख ७२ हजार ४ सय ५१ रुपैयाँ बराबरको विद्युत विस्तारका लागि खर्च हुने भएको हो ।
ग्रामीण क्षेत्रमा मागअनुरुप विद्युत सेवाको पहुँच विस्तार गर्ने उद्धेश्यलेले नेपाल सरकारले नेपाल विद्युत प्राधीकरण मार्फत सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।यसकार्यक्रम अन्तर्गत, नेपाल सरकारले कुल विद्युतीकरण लागतमा ९० प्रतिशत योगदान गर्दछ भने सामुदायिक ग्रामीण विद्युतीकरण संस्था वा निकायले बाँकी १० प्रतिशत योगदान गर्दछ ।
अब अध्यारोमा बस्नुपर्दैनः अध्यक्ष ओली
कार्यक्रम स्वीकृत भएसँगै गाउँपालिका अध्यक्ष खेमराज ओलीले यहाँका नागरिकहरु अब अध्यारोमा बस्नुपर्ने बाध्यता हट्ने भन्दै अब झलमल्ल गुराँस हुने बताउनुभएको छ । विद्युत सेवाबाट गाउँपालिका पछाडि रहेको भन्दै गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले यसको समाधानको लागि नेपाल विद्युत प्राधीकरणसँग साझेदारी गरिएको बताउनुभयो । गाउँपालिकाले वडा नम्बर ५ का अध्यक्ष सुरेन्द्र महताराको संयोजकत्वमा विद्युत विस्तार समिति समेत बनाएको छ ।
नागरिकहरु खुसी
कार्यक्रम स्वीकृतपछि स्थानीय खुसी भएका छन् । गाउँपालिकाभर विद्युत विस्तार हुने निश्चित भएपछि स्थानीयले खुसी व्यक्त गरेका हुन् । वडा नम्बर ८ का श्यामसुन्दर खड्काले लामो प्रतिक्षापछि उज्यालोमा बस्न पाइने भन्दै गाउँपालिकालाई धन्यवाद दिएका छन् । गुराँस गाउँपालिका हुँदै जिल्ला सदरमुकामसम्म विद्युतिकरण भएतापनि गाउँपालिकाका ९० प्रतिशत जनताले भने अहिलेसम्म विद्युत उपभोग गर्न पाएका छैनन् ।
प्रतिक्रिया