राउटेलाई अब नागरिकता दिइने

राउटेलाई अब नागरिकता दिइने

ज्वालाा सन्देश, सुर्खेत–जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गुराँस गाउँपालिकाले अघिल्लो वर्ष वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिने निर्णय गरेको हो। सोमबार सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव डा. मानबहादुर विकेले दैलेखको गुराँस गाउँपालिकाले वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिइने बताए।

अघिल्लो वर्ष राउटे समुदायलाई सामाजिक विकास मन्त्रालयको सहकार्यमा गुराँस गाउँपालिकाले परिचयपत्र वितरण गरेको थियो। ‘सामाजिक सुरक्षा भत्ता वितरणका साथै अन्य सरकारी कामकाजमा पनि सहजता हुने भएकाले नागरिकता वितरण गर्ने निर्णय गरिएको हो’ सचिव डा. विकेले भने, ‘राउटेसँग काम गरिरहेका सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा यसलाई अघि बढाउँछौं।’

राउटे समुदायले गुराँस गाउँपालिकाको स्थायी बासिन्दाका रुपमा नागरिकता पाउने छन्। ‘जहाँबाट परिचयपत्र लिएका हुन्, त्यहीँको ठेगाना राखेर नागरिकता दिने प्रक्रिया सुरु गरिएको हो’ दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मी बास्तोलाले भने, ‘प्रक्रिया पु¥याएर बस्तीमै नागरिकता वितरण गर्न जान्छौं।’

गुराँस गाउँपालिका–८ को गर्चाखोला स्थायी ठेगाना राखेर गाउँपालिकाले परिचयपत्र वितरण गरेको थियो। राउटे समुदाय अहिले गुराँस गाउँपालिका–५ को कान्छीबजारमा बसेका छन्। राउटे समुदायसँग काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) का अनुसार राउटे समुदायको जनसंख्या १४६ छ। ती मध्ये ६० वर्षमाथिका २५ जना छन् भने ६४ जना बालबालिका छन्।

राउटे कार्यक्रमको समिक्षाका लागि सरोकारवालको वैठक

राउटे कार्यक्रमको समिक्षाका लागि सरोकारवालको वैठक आज सुर्खेतमा सम्पन्न भएकोछ । सामाजिक विकास मंत्रालय कर्णाली प्रदेशको आयोजनामा गुराँस गाउँपालिका, प्रमुख जिल्ला अधिकारी दैलेख, वन, वतावरण तथा उधोग मन्त्रालय कर्णाली प्रदेश, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, राउटेसंग सरोकार राख्ने अन्य निकायको सहभागितामा समिक्षा कार्यक्रम भएको हो ।


राउटेको कला सस्कृतिलाई जगेर्ना गदैै उनिहरुका नराम्रा अभ्यासलाई कसरी हटाउन सकिन्छ र राउटेलाई मुल धारमा ल्याउने प्रयासहरुको वारेमा छलफल भएको थियो । कार्यक्रममा सामाजिक विकास मंत्रालयका सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले सामाजिक विकास मंत्रालयवाट राउटेको लागि गरिएका कार्यक्रम र प्रयासहरुको प्रस्तुतिकरण गर्नु भएको थियो भने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका अध्यक्ष हीरासिंह थापाले राउटे परियोजना मार्फत गुराँस गाउँपालिका, एईआईएन लक्जेम्वर्ग र सोसेक नेपालकले विगत एक वर्षमा गरेका कार्यक्रमहरुको प्रस्तुतिकरण गरिएको थियो ।


कार्यक्रममा गुराँस गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा कार्यक्रम समिक्षा समितिको गठन गर्ने र चौमासिकरुपमा कार्यक्रमको समिक्षा गर्ने, राउटे कार्यक्रममा एकद्धार प्रणालीवाट कार्यक्रममा संचालन गर्न राउटे वस्तीमा कार्यक्रम गर्ने संघ संस्थाले गुराँस गाउँपालिकाको पुर्व स्वीकृति लिने, जिल्ला प्रशासन कार्यालय दैलेख नागरिकता र राउटे वस्तीमा भईरहेको दुव्र्यशनी रोक्न दुई जना प्रहरी परिचालन गर्ने, वन, वातावरण तथा उधोग मन्त्रालयले राउटे वसेको जंगलमा वृक्षारोपण कार्यक्रमको व्यवस्था गर्ने लगायतका निर्णय भएका थिए ।

राउटे बस्ती हेर्न शुल्क तिर्नुपर्ने

गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ। जथाभावी राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको संस्कार र संस्कृति हराउँदै गएको र विकृति पनि बढ्दै गएकाले शुल्क लिने व्यवस्था गरिएको अध्यक्ष खेमराज वलीले जानकारी दिए। उनले बस्ती प्रवेशका लागि शुल्क लिन थालेदेखि राउटे बस्तीमा जथाभावी प्रवेश गर्नेको संख्या घटेको बताए। गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि १० रुपैयाँ, नेपाली नागरिकका लागि २० रुपैयाँ, विदेशी नागरिकका लागि पाँच सय रुपैयाँ, अडियो, भिडियो र क्यामराका लागि एक हजार रुपैयाँ शुल्क तोकेको छ।

‘राउटे बस्तीमा प्रवेश गर्नेहरुका लागि शुल्कको व्यवस्था गरिएसँगै जथाभावी प्रवेश गर्नेहरुको संख्या घटेको छ’ अध्यक्ष वलीले भने, ‘टिकटबाट उठेको रकम राउटे समुदायको उत्थान र संरक्षणमा लगाउँछौं।’ अहिले राउटे समुदाय बसेको क्षेत्र गुराँस–५ कान्छीबजारको खुला चौरलाई डोरीको सहायताले घेरबार गरिएको छ। नगरपालिकाले बस्ती प्रवेश गर्नेहरुका लागि शुल्क उठाउन दुई जना कर्मचारी खटाएको छ।

प्रतिक्रिया